देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाह्र वर्षको प्रयोगले हिन्दुराज्य र राजसंस्था अपरिहार्य देखियो

देशान्तर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रबक्ता मोहन श्रेष्ठले विगत १२ वर्षको प्रयोगले नेपालमा हिन्दुराज्य र राजसंस्था अपरिहार्य देखिएको बताएका छन । उनले नेपालको राजनितिक र भौगोलिक वनावटको अवस्थालाई हेर्दापनि राजनितिक दलभन्दा माथि एउटा संवैधानिक स्वतन्त्र निकायको आवस्यकता देखिएको र त्यो एकमात्र राजसंस्था भएको बताएका छन ।

देशान्तर रेडियोको दैनिक कार्यक्रम देशान्तर संवादमा कुरा गर्दै प्रबक्ता श्रेष्ठले नेपालमा धर्मनिरपेक्षताले सामाजिक सहिष्णुतामा खलल पुर्याएको दावी गर्दै धर्मका हिसावले देशलाई विभाजन गर्न नसकिने र यसलाई सवै दलले पुर्नविचारगर्दै संविधान संशोधनमार्फत पुरानै अवस्थामा हिन्दुराज्य बनाउनुको विकल्प नभएको दावी गरे ।

उनले राष्ट्रिय प्रजातान्त्री पार्टीले देशको राजनितिक, आर्थिक र भौगोलिक विविधतालाई मध्य नजर गररै संवैधानिक राजसंस्था सहितको हिन्दु राज्यलाई पार्टीको मुख्य वटमलाइन बनाइएको बताए । राजसंस्थाका विषयमा र धर्मका विषयमा राप्रपा नेपालले कहिलै पनि कसैसंग सम्झौता गर्न नसक्ने भन्दै हिन्दुधर्म नेपालीहरुको पहिचान, अस्थित्व र सामाजिक स्थायीत्वको अवधारणा भएको बताए ।

प्रबक्ता श्रेष्ठले राप्रपामा रहेको नयाँ पूस्ता पञ्चायतको स्कुलिङबाट नआएको दावी गर्दै पञ्चायतको स्कुलिङबाट आएकाहरुले अहिलेको परिस्थितिलाई बुझ्न नसकेकाले राप्रपा पटक पटक विभाजनमा गएको बताए ।

उनले पञ्चायती व्यवस्थाको स्कुलिङबाट आएका नेताहरुमा अरुको नेतृत्व स्वीकार नगर्ने देखि सामुहिक र सहमतिका आधारमा पार्टीलाई परिस्थिति अनुसार लानुपर्छ भन्ने सोचको विकास हुन नसकेकाले पार्टी अनेकौ पटक विभाजनमा गएको र विभाजित पार्टीलाई एक बनाउने प्रयास पनि अहिले असफल जस्तै भइरहेको बताए ।

कमल थापा नेतृत्वको राप्रपाले देशमा राष्ट्रवादी शक्तिको आवस्यकता रहेकाले फुटेर गएका पार्टिहरुलाई एक हुन आह्वान गरेको तर, फुटेर गएका पशुपति शम्शेर राणा र डा प्रकाशचन्द्र लोहनीले सामान्य विषयलाई पहाड बनाएर एकिकरणमा असहयोग गरेको बताए । श्रेष्ठका अनुसार राप्रपा नेपालले पार्टी एकिकरण पछि तीनै जना अध्यक्ष मण्डल बनाउने प्रस्ताव गरेको थियो ।

अहिलेलाई तीन जना अध्यक्ष रहेको अन्तरिम अध्यक्ष मण्डल बनाउने र पार्टीको अर्को महाधिवेशन सम्म अन्तरिम विधान बनाएर जाने विषयमा सहमति भएको थियो । तर, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले पार्टीमा थप छलफल गर्ने भन्दै समय मागपछि अहिले सम्म थप छलफल हुन सकेको छैन । राणाले यसअघि भएको छलफलमा कमल थापाले राखेको संवैधानिक राजसंस्थाको ठाँउमा पुरानो शक्तिलाई कायम राख्ने भन्ने शब्द समेत परिवर्तन गर्न समेत लगाएका थिए ।

प्रबक्ता श्रेष्ठले अहिले पनि पुराना पञ्चायतको स्कुलिङबाट आएकाहरुले पार्टीमा असन्तुष्टि राखिरहेको भन्दै उनिहरुलाई राप्रपा एकिकरणको अभियानमा लाग्न आग्रह समेत गरेका छन । केहिदिन देखि कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालका केहि पुराना नेताहरुले पार्टी फुटाउन आन्तरिक र गोप्य छलफल गरिरहेको समाचार बाहिर आइरहेका छन भने उनले यी भनाइलाई आधारमान्दै राप्रपाको फुट्ने भन्दा पनि जुट्ने समय भएको बताए ।

प्रबक्ता श्रेष्ठले बुद्धिमान तामाङ र टंक ढकाल लगयताका नेताहरुको नाम नतोके पनि पार्टीलाई विभाजनमा लाने भन्दा पनि राष्ट्रवादी शक्तिलाई कसरी एकठाउमा ल्याएर पार्टीलाई बलियो बनाउने भन्ने तर्फ केन्द्रित हुन आग्रह गरेका छन । उनले पञ्चायतको स्कुलिङ भएपनि उनीहरु पार्टीको पुरानो नेता भएकाले पुराना नेताले नयाँ पुस्तालाई केहि सिकाएर र दिएर जानुपर्ने धारण राखेका छन । २०४७ सालको जेठ १५ गते एकैदिन राप्रपा शुर्यबाहादुर थापा र राप्रपा लोकेन्द्र बाहादुर चन्दको नाममा दुइपार्टी दर्ता भएका थिए ।

अहिले राप्रपाको नेतृत्व गरिरहेका कमल थापाले पार्टी एक हुनका लागि फुटेर गएका समूहले हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थाको पुनःस्थापना र स्थानीय स्वायत्त शासन प्रणालीमा सहमत हुनपर्ने अडान राखेका छन् । उनको यो विचारसँग राप्रपाका शक्तिशाली नेता बुद्धिमान तामाङ, टंक ढकाललगायतका नेताले असहमति जनाइरहेका छन ।

पहिलो संविधानसभाको निर्वाचनमा केही अस्तित्व लिएर आएको राप्रपा दोस्रो संविधानसभाको निर्वाचनपछि विभाजन भएको थियो । पञ्चायतकालका नवउदारवादी तर, निरंकुश प्रम सूर्यबहादुर थापाले २०४६ को परिवर्तनपछि पूर्व पञ्चलाई संगठित गरी राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरेका थिए । थापाले गठन गरेको राप्रपाले विभाजनमा अहिले नेपालका कम्युनिष्टलाई पनि पछि पारेको छ ।

यतिबेला राप्रपाका असन्तुष्ट समूहले कमल थापा नेतृत्वको रापपा, पशुपतिसमशेर राणानेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीलाई फुटाएर नयाँ राप्रपा गठनको तयारी गरिरहेका छन् । राप्रपाका ठूलो समूहका पार्टी अध्यक्ष थापासँग असन्तुष्ट बनेको समूहले नयाँ राप्रपा गठनको तयारी गरेको हो ।

अहिले पनि दिनहुँजसो असन्तुष्ट समूहको बैठक बसिरहेको छ । उनीहरुले तीनवटै दललाई विभाजन गराएर नयाँ राप्रपा गठनका लागि निरन्तर भेला र बैठक गर्दै आएका छन् । राप्रपाका असन्तुष्ट नेताहरूले आफूहरुको दिनहुँजसो छलफल चलिरहेको जानकारी गराएका छन् । अधिकांश छलफलमा सहभागी नेताहरुको भनाइअनुसार राष्ट्रवादी वैकल्पिक शक्ति बनाउने उद्देश्यले छलफल सुरु गरिएको हो ।

तर, प्रबक्ता श्रेष्ठले भने अहिले नेताहरु फुटेर जाने समय नभएको बताए । हिजो पार्टीको महत्वपूर्ण पदमा बसेका नेताहरुले पुनः पार्टी विभाजन गर्न खोज्नु भनेको आफ्नो राजनितिक भविश्य संगसंगै हामी पछिल्लो पुस्ताको राजनितिलाई समाप्त पार्ने काम मात्र हुने बताए । उनले अहिले राप्रपामा विभाजनको माग नभएर एकताको माग भएको बताएका छन ।

उनले वर्तमान सरकार इतिहासको सवैभन्दा शक्तिशाली भएपनि काममा इतिहासकै कम्जोर सरकार भएको टिप्पणी गरेका छन । हिन्दु राष्ट्र घोषण हुनुपर्ने माग बोकेर हिडिरहेको राप्रपाले हालै काठमाडौमा सम्पन्न एसिया प्यासिफिक्स समिटमा सहभागि भएर सरकारले नेपाल र नेपालीको अस्थित्वमाथि नै प्रश्न उठाएको प्रबक्ता श्रेष्ठको भनाइ छ ।