काठमाडौं । नेपाल–चीन सहयोग कार्यक्रम तथा परियोजनाको कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले गठित संयन्त्रको पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । परराष्ट्र मन्त्रालयमा सम्पन्न उक्त बैठकमा चिनियाँ सहयोगमा सञ्चालित विकास परियोजनाहरुको समीक्षा भएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार संयन्त्रको बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गरेका थिए भने चीनको नेतृत्व नेपालका लागि चिनियाँ राजदूत यु होङले गरेकी थिइन् । बैठकमा नेपालको तर्फबाट नेपाल–चीन कार्यक्रम तथा परियोजनासँग सम्बन्धित विभिन्न मन्त्रालयका उच्च अधिकारी पनि सहभागी थिए ।
बैठकमा पुनर्निर्माण, पूर्वाधार, ऊर्जा, विमानस्थललगायतका चिनियाँ सहयोगमा सञ्चालित कार्यक्रम तथा परियोजनामा भएको कार्य प्रगतिको बृहत् समीक्षा भयो, परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संयुक्त प्रयासमा नेपाल–चीन कार्यक्रम तथा परियोजनाहरु निरन्तर अघि बढेकोमा बैठकमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए ।
प्रतिक्रिया