देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिसोका कारण निर्मलाका बुवाआमा बिरामी

देशान्तर

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तलाई न्यायको माग गर्दै गएको आइतबारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका बाबु र आमा बिरामी परेका छन् ।

परिवारका अन्य सदस्यले बाह्रखरीलाई जानकारी गराएअनुसार चिसोका कारण दुवै जनाको स्वास्थ्य अवस्था बिग्रिएको छ भने बाबु निकै नै अस्वस्थ भएका छन् । उनीहरु धर्नामा बसेको शुक्रबार छैठौं दिन हो ।

चिसोका कारण निर्मलाका बाबु यज्ञराजलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ । आमा दुर्गादेवीको पनि स्वास्थ्य अवस्था कमजोर भएको परिवारका सदस्यहरुले बताएका छन् ।

पीडित परिवारलाई चिसोको समश्या देखिएपछि बिहीबार स्वास्थ्यकर्मीको टोली धर्नास्थलमा पुगेर स्वास्थ्य परीक्षण गरेको थियो । आमा दुर्गादेवीले बाह्रखरीसँगको कुराकानीमा छोरीको न्यायको लागि आफूहरु धर्नामा बस्दा पनि राज्यले सुनुवाई नगरेको गुनासो गरिन् ।

धर्नाको पाँचौं दिन सम्मपनि सरकारका कुनैपनि व्यक्ति आएर आफूहरुको माग बारेमा नसोधेको जनाइन् । निर्मलाका पिता यज्ञराजको रक्तचाप घटेर ६७ पुगेको चिकित्सकको भनाई छ ।

कमजोरी र समयमै खाना नखाएका कारण निर्मलाका बाबुको स्वास्थ्य अवस्था एकदमै बिग्रिएको महाकाली अञ्चल अस्पतालका डा. किशोर बोहराले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

निर्मलाको स्वास्थ्य अवस्था बिग्रेपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र जिल्ला प्रहरी प्रमुख कुबेर कडायतले विहीबार धर्ना स्थलमा पुगेर पीडित परिवारको स्वास्थ्य अवस्था बुझेका थिए ।

यसैबीच, प्रहरीले निर्मलाको हत्याको घटनामा शंकाको घेरामा रहेका चार जना व्यक्तिको डीएनए रिपोर्ट आज शुक्रबार सार्वजनिक गर्ने जनाइएको छ । विधि विज्ञान प्रयोगशालाबाट सो रिपोर्ट बिहीबार साँझ कञ्चनपुर पुगेकाले आज शुक्रबार सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।