देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सञ्चय कोषको ११ लाखसम्मको स्वास्थ्य बिमा

देशान्तर

काठमाडौं । कर्मचारी सञ्चय कोषले ६ लाखभन्दा बढी सञ्चयकर्तालाई ११ लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । यसका लागि कोषले प्रतिव्यक्ति चार सय २० रुपैयाँका दरले बिमा कम्पनीलाई प्रिमियम शुल्क बुझाउने छ ।

कोषले सबै सञ्चयकर्ताबाट वार्षिक २५ करोड २० लाख रुपैयाँ प्रिमियम तिर्नेछ । यो रकम मूल्य अभिवृद्धि कर बाहेकको हो । यसमा सबै सञ्चयकर्ताले सुविधा पाउने कोषले जनाएको छ ।

पहिलोपटक व्यवसायिक कम्पनीले वार्षिक चार सय २० रुपैयाँ प्रिमियम शुल्क लिएर ११ लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा सुविधा दिन लागेको हो । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा प्रतिव्यक्ति चार सय २५ रुपैयाँ लिएर ५० हजारसम्मको सुविधा दिने व्यवस्था छ ।

उक्त व्यवस्थामा परिवारका पाँच सदस्यले सेवा पाउने छन् । सरकारी बिमा कार्यक्रममा सहभागी हुन पाँच सदस्य भएको परिवारले वार्षिक दुई हजार पाँच सय रुपैयाँ प्रिमियम शुल्क बुझाउनु पर्नेछ।सञ्चयकोषले भने बिना प्रिमियम ११ लाखसम्मको निःशुल्क बिमा सुविधा दिने भएको हो ।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत कार्यान्वयनमा ल्याइएको यस योजनाबाट सरकारले पहिचान गरेका क्यान्सर, मिर्गौला फेल, हृदयघात, प्यारालाइसिसलगायतका नौ वटा घातक रोग लागेमा १० लाख र सामान्य रोगका लागि एक लाख रुपैयाँको बिमा सुविधा पाइने कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए ।

कोषले आम्दानी गरेको मुनाफाबाट प्रति सञ्चयकर्ता चार सय २० रुपैयाँका दरले वार्षिक प्रिमियम शुल्क बुझाएर सञ्चयकर्तालाई यो सुविधा दिन लागिएको हो उनले बताए ।

प्रत्येक वर्ष बिमा लेखा नवीकरण हुनेछ । बिमा लेखा नवीकरण गर्दा अघिल्ला वर्षमा दाबी भुक्तानी भएको रकम र सञ्चयकर्ताको थपघट तथ्यांकलाई आधार मानिने कोषले जनाएको छ ।

यो सुविधा लिन कोषमा नियमित रूपमा ६ महिना पहिले सञ्चयकोष बापतको रकम जम्मा भएको हुनुपर्नेछ । सरकारबाट स्वीकृत प्राप्त जुनसुकै अस्पताल र सम्बन्धित डाक्टरको सिफारिसमा विदेशमा गराएको उपचारको समेत बिमा सुविधामा समेटिने छ । क्लिनिकमा गराइएको उपचारमा भने सो सुविधा समावेश हुँदैन ।

यो योजनामा कोषमा नियमित रूपमा कोष कट्टी गर्ने सञ्चयकर्ताका साथै सेवा निवृत्त भएपछि आफै प्रिमियम तिरेर पनि समावेश हुन सकिने व्यवस्था छ । सेवा निवृत्त भएका तर कोषबाट रकम भुक्तान नलिएका सञ्चयकर्ताले ६ वर्षसम्म यो सुविधा प्राप्त गर्न सक्ने छन् ।

कोषले बुधबार आफ्नो पनि २५ प्रतिशत सेयर स्वामित्व रहेको राष्ट्रिय बिमा कम्पनीसँग बिमा गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ।समझदारीपत्रमा कोषका प्रशासक गौतम र बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले हस्ताक्षर गरेका छन् । यो योजना आउँदो १ मंसिरदेखि लागू हुने छ।सम्झौतापश्चात बिमा कम्पनीमा एकैपटक ठूलो मात्रामा प्रिमियम थपिएको छ ।