काठमाडौँ । नेकपा अध्यक्ष पुपकमल दाहाल प्राकृतिक उपचार खोज्दै म्याग्दीको बेनी पुगेका छन । लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा थाइराइड उपचार गराउँदै आएकी पत्नी सीताको अवस्था थप जटिल बन्दै गएपछि अध्यक्ष दाहालले प्राकृतिक उपचारको विकल्प रोजेका छन् ।
यसका लागि दाहाल सोमबार परिवारसहित म्याग्दीको बेनी ४ स्थित सिंगा तातोपानी पुगेर उपचार सुरु गरेका छन । उनका साथमा छोरी गंगा तथा निजी चिकित्सक पनि रहेका छन । त्यहाँको तातोपानी ग्यास्ट्रिक, हाडजोर्नी, मुटुको रक्तचाप र छाला उपचारमा प्राकृतिक अस्पताल मानिन्छ ।
दाहाल दम्पतीसँगै संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, श्रीमती नैनकला थापा, बहिनी रेनु मगर र ज्वाइँ प्रेम आले पनि तातोपानी कुण्डमा नुहाउन पुगेका छन । सिंगा तातोपानीमा डुबेर उपचार गर्न स्थानीय मात्र होइन, देशका विभिन्न ठाउँबाट सयौं संख्यामा बिरामी म्याग्दी पग्ने गरेका छन ।
दाहालको सचिवालयका अनुसार उनीहरूको टोली थप दुई दिन तातोपानीमा बस्ने कार्यक्रम छ । दाहालनिकटस्थ योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले सीता दाहाललाई तातोपानीमा डुब्दा कस्तो हुन्छ, प्रतिक्रिया हेरी बसाइ तय हुने बताए ।
तातोपानी कुण्डमा पुरुष र महिला २ घण्टाको पालो लगाएर पानीमा जिउ डुबाउने गर्छन् । २ घण्टापछि बाहिर निस्केर कम्बलभित्र गुम्सिएर खलखली पसिना निकाल्नुपर्छ । तातोपानीमा डुबिसकेपछि नजिकै रहेको तातोपानीको धाराले जिउ पखाल्नुपर्छ । तातोपानीका पोखरीमा सधैं भीडभाड हुन्छ ।
व्यवस्थापन समितिले दाहाल र थापा दम्पती आएपछि सोमबार मध्यान्ह १२ बजेदेखि ३ बजेसम्मका लागि अन्य मानिसलाई प्रवेशमा रोक लगाएको थियो । खाली गराइएको कुण्डमा दाहाल नेतृत्वको विशिष्ट पाहुना टोली पसेको थियो ।
सोमबार बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उनीहरू पारिवारिक भ्रमण भन्दै यहाँ आएका हुन् । बेनीदेखि ४ किमि माथि अथुंगे डाँडास्थित सेनाको श्रीबक्स गुल्ममा हेलिकप्टरबाट ओर्लेपछि बेनीको याक होटलमा पुगेर उनीहरूले खाना खाएका थिए । एक घण्टा कार्यकर्तासँग भेटघाटपछि १२ किमि पश्चिम म्याग्दी खोला किनारमा रहेको सिंगा तातोपानी पुगेका हुन् ।
पारिवारिक भ्रमण भनिए पनि गृहमन्त्री थापाले भने जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको जिल्ला दैवीप्रकोप न्यूनीकरण युनिटको उद्घाटन पनि गरेका छन ।
प्रतिक्रिया