देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलम्पिक छनोट : नेपाल र म्यानमार भिड्दै

देशान्तर

काठमाडौं । ओलम्पिक महिला फुटबलको एसियन छनोटको दोस्रो खेलमा नेपालले आज (आइतबार) घरेलु टोली म्यानमारसंग प्रतिस्पर्धा गर्दैछ । छनोटको पहिलो खेलमा भारतसंग बराबरी खेलेको नेपालले बलियो टोली म्यानमारसंग खेल्न लागेको हो । खेल याङगोनस्थित थुनुवा स्टेडियममा नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ ।

म्यानमारविरुद्ध मैदान उत्रदा नेपाल अंक खोस्ने योजनासहित मैदान उत्रनेछ । किनकी दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपाललाई दोस्रो चरणको यात्रा कायम गर्न म्यानमारसंग अंक खोस्नु पर्नेछ । तर, बलियो घरेलु टोली म्यानमारलाई रोक्नु नेपालको लागि कठिन चुनौती हुनेछ । म्यानमारले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ५-० ले हराएर आफुलाई प्रमाणित गरिसकेको छ । नेपालले भने भारतसंग १-१ गोलको बराबरी खेलेको थियो ।

म्यानमारसंग पराजित भएमा नेपालको छनोटको दोस्रो चरण सम्भावना निकै कठिन हुनेछ । म्यानमारपछि नेपालले अन्तिम खेलमा कार्तिक २७ गते बंगलादेशसँग खेल्नेछ । समूह सी मा रहेको नेपाल १ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । म्यानमार भने ३ अंक जोडेर शीर्ष स्थानमा छ । १ अंक जोडेको भारत तेस्रो र बंगलादेश पुछारमा छ ।

प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।