महाकवि लक्ष्मीप्रसाद देवकोटा आधुनिक नेपाली महाकाव्यका प्रारम्भकर्ता हुन् । यिनले २००० सालदेखि नै महाकाव्य लेख्ने प्रयास गरेको पाइन्छ । सुलोचना २००० सालमै लेखन प्रारम्भ गरेका भए पनि सो पूरा हुन सकेन । यसपछि २००२ सालमा तीन महिनाको अवधिमा शाकुन्तल महाकाव्य लेखे र त्यो प्रकाशित भयो । देवकोटाले नेपाली महाकाव्य आइसल्यान्डको सर्पजस्तो रहेको अवस्थामा लेखेका र नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशन भएपछि नेपाली महाकाव्यका विकास प्रक्रियामा मौलिक तथा स्वच्छन्दतावादी धारागत आधुनिकताको प्रवर्तन भएको कुरा पूर्वअध्ययनबाट प्राप्त गर्न सकिन्छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा दार्शनिक कवि हुन् । यिनले आफ्ना साहित्यिक कृतिहरूमा दार्शनिक चिन्तन प्रस्तुत गरेका छन् । यिनका महाकाव्यहरूमा पनि यस्ता चिन्तन पाइन्छन् । यिनले शाकुन्तल महाकाव्यमा विभिन्न चिन्तन प्रस्तुत गरेका छन् । जन्मदेखि बाँच्दासम्मको अवधि जीवन हो । हाम्रा पूर्वीय वैदिक दर्शनहरूले आध्यात्मिक जीवनलाई निकै महŒव दिएका छन् ।
जन्म, मरण र पुनर्जन्मको चक्रबाट छुटकारा पाउन मानिसले प्राप्त गरेको जीवनलाई सदुपयोग गर्नुपर्ने विचार यहाँ पाइन्छ । आत्मपरक चिन्तनलाई अध्यात्मचिन्तन भनिन्छ । आफू के हो ? जगत के हो ? यही चिन्तन गरेर समय बिताउने आध्यात्मिक ऋषिमहर्षिको जीवन पनि आध्यात्मिक जीवन हो । साङ्ख्यदर्शनमा भनिएअनुसार प्रकृति र पुरुषको भेद ज्ञान, योग दर्शनको अष्टाङ्ग योगको साधनाबाट मोक्ष प्राप्ति, न्याय दर्शनको अपवर्ग प्राप्ति, वैशेषिकको मोक्ष प्राप्ति, मीमांसाको मोक्ष र वेदान्तको ब्रहमज्ञान प्राप्तिका लागि आध्यात्मिक जीवनको निकै महŒवपूर्ण स्थान छ । साधना, तपस्या, गरेर आफूले आफैलाई चिन्ने काम आत्मानुसन्धान हो । यही आत्मानुसन्धानका लागि आध्यात्मिक जीवन महŒवपूर्ण छ ।
महाकाव्यको सुरुदेखि अन्तिमसम्मको प्रस्तुति र दुष्यन्त र शकुन्तलाको भरतसहित सुखद मिलन पनि आध्यात्मिक, प्राकृत जीवन पद्धतिकै रूपमा मान्न सकिने प्रशस्त आधारहरू फेला पार्न सकिन्छ । महाकवि देवकोटाले शाकुन्तल महाकाव्यमा ऋषिहरूलाई महत्वपूर्ण पात्रका रूपमा प्रस्तुत गरेका छन् । ऋषिहरूको जीवनलाई आध्यात्मिक जीवनको रूपमा लिएर त्यसतर्फ रुचि देखाएका छन् ।
वास्तवमा ऋषिहरू वेदका मन्त्रद्रष्टा (ऋषयो मन्त्रद्रष्टारः) का रूपमा रहेका छन् । सबैभन्दा पहिले वाणीका रूपमा ब्रह्माका मुखबाट वेदमन्त्रहरू आविर्भूत भएकाले वाणी वा सरस्वतीका पिताका रूपमा ब्रह्मालाई मानिन्छ । यी ब्रह्मा पनि ऋषिका रूपमा रहेका छन् । वेदका मन्त्रद्रष्टा ऋषिहरूले समय–समयमा लाखौं ऋचाहरू देखिसकेका छन् । वेदमा तीन काण्ड छन् । ब्रह्मा र अन्य ऋषिले पहिले कर्मकाण्डका ऋचा देखे ।
पछि उपासनाका मन्त्रहरू देखे । त्यसपछि देखेका ज्ञानकाण्डका ऋचाहरू आरण्यक र उपनिषद् ग्रन्थहरूमा रहेका छन् । देवकोटाले आफ्नो महाकाव्यको कथावस्तुमा प्राचीन पूर्वीय जीवनपद्धति र आध्यात्मिक चिन्तनले भरिएको कुरालाई लिएका छन् । यसमा पनि उनको मौलिकता र नयाँपन त छँदै छ तथापि आध्यात्मिक जीवनविना, ऋषि मनविना जीवनको सार्थकता भने उनले देखेका छैनन् ।
देवकोटाले अनन्त विशाल वैभव भएको ऋषिसभ्यतातर्फ पाठकलाई लैजान थालेको सङ्केत प्रथम सर्गका विभिन्न श्लोकहरूमा गरेका छन् । मानव जीवनको लक्ष्य आध्यात्मिक सुखशान्तिलाई मानी वैदिक ऋषिहरूले त्यसमा आफ्नो चिन्तन प्रस्तुत गरेको पाइन्छ ।
उनीहरूले प्राकृतिक स्वाभाविक परिवर्तन र क्रियाप्रतिक्रियालाई देखेर आफ्नै बुद्धिद्वारा त्यसको समाधानको खोजीमा मानव जीवनजगत्का सूक्ष्म रहस्यहरू समेत पत्ता लगाएको पाइन्छ । यस्तै तपोमय जीवनयापन गर्ने ऋषिमहर्षिहरूको जीवनलाई देवकोटाले महŒव दिएका छन् । विश्वामित्र शाकुन्तल महाकाव्यमा ऋषि पात्र हुन् । देवकोटाले यी ऋषिलाई धेरै ठाउँमा धेरै प्रकारबाट प्रस्तुत नगरे पनि मूलतः यी ऋषिकै तपस्या भङ्ग भएका कारण शकुन्तलाको जन्म भएको पाइन्छ ।
विश्वामित्र क्षत्रीय राजवंशमा जन्मेका पिता गाधिर र माता पौरुकुत्सीका पुत्र हुन् । यिनी महर्षि हुन् । यिनको ऋग्वेदमा उच्च स्थान रहेको पाइन्छ । पृथ्वीतलका एक महान् तपस्वी ऋषि विश्वामित्रको भौतिक सुखसम्पत्तिप्रतिको विमुखता र तपस्या वा आध्यात्मिक शक्तिस्रोतपश्चात्को उन्मुखतामा कविको आफ्नै अन्तर्मुखी जीवनचेतना प्रकटिएको पाइन्छ भने निज ऋषिको तपो–महिमामा जनस्तरीय (हाम्रा) उदयको छाया प्रतिबिम्बित भेटिन्छ भन्ने मान्यता पाइए तापनि वास्तवमा यहाँ आत्मिक, आध्यात्मिक, त्यागपरक आनन्दको महिमालाई उजागर गर्न खोजिएको छ ।
यी कुराहरू आजका शासकप्रशासक, भौतिक, विलासीहरूले समेत मनन गर्नुपर्ने देखिन्छ । भौतिक सुखभोगमा चुर्लुम्म डुबेर जीवनको वास्तविकता नबुझ्नेहरूका निम्ति विश्वामित्र ऋषिको यहाँसम्मको चत्रिरलाई अनुकरणीय र अनुसरणीय मान्न सकिन्छ । यद्यपि यस महाकाव्यमा इन्द्रको छलका कारण उनको तपस्या भङ्ग भएको छ र उनी पहिलेको विश्वामित्र रहन सकेनन् ।
देवकोटाले महाभारत र अभिज्ञानशाकुन्तलम्को कथावस्तुलाई स्रोत बनाए पनि आपूmले प्रशस्त फरकपन दिएका छन् । यतिसम्म कि कालिदासको नाटकमा गौतमी कण्वकी धर्म बहिनीकी रूपमा छन् भने देवकोटाले गौतमीलाई कण्वकी पत्नी बनाइदिएका छन् । यस्तै अन्य ठाउँमा फरक प्रसङ्ग ल्याउने देवकोटाले चाहेका भए विश्वामित्रलाई पनि तपस्याभङ्ग भएपछि गृहस्थी बनाउन सक्थे ।
मेनकालाई विश्वामित्रसँगै पृथ्वीमै घर बनाएर गृहस्थी जीवन बिताउने नारीका रूपमा चित्रण गर्न सक्थे । जस्तो कि कथाकार विश्वेश्वरप्रसाद कोइरालाले ‘कथा’ कथामा ऋषिलाई गृहस्थी बनाएका छन् । देवकोटाको उद्देश्य त ऋषिकेन्द्री आध्यात्मिक जीवनलाई नै सर्वोपरि ठानेर अगाडि बढ्नु देखिन्छ ।
देवकोटाले कण्व ऋषिको आध्यात्मिक तपोमय जीवनलाई विभिन्न सन्दर्भबाट पुष्टि गरेका छन्ः कण्व पशुपंक्षीमा समभाव राख्ने ज्ञानी हुन् – “सदैव चाट्छ प्रेमले सुवृद्ध कण्वका कर” (सर्ग ११ श्लो. १६) । यहाँ दुष्यन्तले ऋषिको आश्रममा मृगलाई मार्न वाण ताकेका वेला ऋषिका शिष्यहरूले तपोवनको आध्यात्मिक शान्ति र ऋषिको जीवनलाई प्रस्तुत गरेका छन् ।
प्रस्तुत महाकाव्यका उल्लेखनीय सहायक पात्र शकुन्तलाका धर्मपिता कण्वका माध्यमबाट कविले तपोवन– सभ्यता र ऋषि सभ्यताका आदर्शहरू प्रस्तुत गरेको कुरा माथिको कवितांशबाट पनि पुष्टि हुन्छ । वास्तवमा कण्व धर्मपितामात्र हुन् ।
शकुन्तलाका आफ्नै पिता नभए पनि उनले आफ्नै छोरीलाई जस्तै गरेर हुर्काएका मात्र छैनन् उनको भविष्यका निम्तिसमेत तीर्थ गरेर आशीर्वाद प्रदान गरेका छन् । पछि दुष्यन्तको दरबारमा पठाउँदा समेत असल गृहस्थीले झैँ गरी आफ्नै छोरीलाई विदाइ गरेझैँ देखिन्छ ः “सुखसित गए प्रेमका साथ सम्झे” (सर्ग १९, श्लो. ४९) । यसरी अनेक उपदेश दिँदै कण्वले शकुन्तलालाई विदाइ गरेबाट उनको असल पिताको भूमिका पनि उल्लेखनीय रहेको पाइन्छ ।
शाकुन्तल महाकाव्यमा दुर्वासा ऋषिको छोटो प्रसङ्ग आउँछ तर यसले काव्यभरि नै वा शकुन्तला र दुष्यन्तको जीवनमै ठूलो उथलपुथल ल्याएको पाइन्छ । कसलाई को मार्फत कसरी कर्मको फल दिने भन्ने पूर्वीय दर्शनको मान्यताअनुसार दुर्वासा यहाँ माध्यम बनेका छन् । दुर्वासा क्रोधी र श्राप दिन नामी ऋषि हुन् । यिनी रिसाएका बेला आफूले लगाएका कपडा पनि च्यात्छन् । यिनको अभिज्ञानशाकुन्तलम् नाटकमा पनि निकै चर्चा पाइन्छ ।
यिनी विष्णुको श्रापबाट पीडित मानिन्छन् । महाकाव्यमा दुर्वासाका कारण स्थितिविपर्ययको नयाँ मोड आउँछ । यिनकै श्रापका कारण दुष्यन्तले आफ्नी गर्भवती पत्नीलाई समेत भुलेका छन् । हुन त दुर्वासाले औँठीको चिनोले शापमुक्ति हुने उपाय भने बताएका छन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्यमा कश्यप ऋषिको आध्यात्मिक जीवनलाई विशेष महŒवका साथ प्रस्तुत गरेका छन् । कश्यप ऋषिका बारेमा विभिन्न धारणा पाइन्छन् । प्रजापति ऋषिका नाममा कश्यप ऋषि धेरै प्रकारका छन् । कश्यप गोत्र पनि मानिन्छ । यिनले दक्षका दिती, अदिती, दनु आदि एघार कन्या विवाह गरे । अदितीबाट देवता जन्मे । दितीबाट दैत्य जन्मे ।
दनुबाट दानव जन्मे । कश्यपका एका छोरा दानवको नाम मुर थियो । तिनलाई मारेका कारण कृष्ण भगवान्को नाम मुरारी रह्यो भन्ने मान्यता पाइन्छ । गोत्र फेला नपरे कश्यप गोत्र राख्न सकिने धारणा रहेको छ ।
कश्यप ऋषिको व्यक्तित्व विविध प्रकारको देखिन्छ भन्ने निचोड निकाल्न सकिन्छ । यिनै विविध रूपका कश्यप ऋषिलाई देवकोटाले शाकुन्तल महाकाव्यको बाइसौँ सर्गको अन्तिम (छपन्नौँ) श्लोकबाट चर्चा गरेका छन् । यहाँ राजा दुष्यन्तले औंठी देखेपछि सबै कुरा सम्झेर शकुन्तलाको खोजी गरेका वेला शकुन्तला कश्यप ऋषिका आश्रममा पुगेर आश्रम लिएकी छन् ।
शकुन्तसँगिनी अर्थात् चराहरूकी साथी शकुन्तला कश्यप ऋषिका आश्रममा प्रकृतिका काखमा जीवन बिताएको प्रसङ्ग यहाँ आएको छ । त्यो आश्रममा पर्वतबाट झरेका निर्भmर झरना र वेद पाठ गर्दा निस्कने ध्वनिमय, पवित्र छ भन्ने देखाएबाट कश्यप ऋषिको अध्यात्मकेन्द्री जीवनको परिवेश यहाँ पाइन्छ ।
हाम्रा पूर्वीय वैदिक दर्शनहरूले प्रकृतिलाई अनेक दृष्टिले हेरेका छन् । साङ्ख्य दर्शनले प्रकृतिलाई सृष्टिको मूल कारण मानेको छ । योग दर्शनमा पनि प्रकृतिलाई फरक ढङ्गबाट सृष्टिकै कारण मानिन्छ । वेदान्त दर्शनले यही प्रकृतिलाई मायाको नजिक पु¥याएको छ ऋग्वेदको उषासूक्तमा त प्रकृतिको महिमा गाउँदै त्यसलाई महŒवपूर्ण शक्ति मानिएको छ । प्रकृतिलाई देवताको रूप मानिएको छ । प्रकृतिको मानवीकरण गरिएको छ ।
ऋषिहरूले उषालाई सुनको रथमा चढेर आएकी दिप्तिपूर्ण शक्तिशाली देवीको रूप मानेका छन् । उषालाई मानवीय व्यवहारको पथप्रदर्शक मानेर कुशल गृहिणी, उज्यालोतर्फ लैजाने शक्ति भएकी, दिव्य प्रकृतिदेवी मानिएको छ । महाकवि देवकोटाले पनि शाकुन्तलमा यिनै उषाको यिनै प्रकृतिको भव्यरूपको चित्रण गरेका छन् ।
सङ्ग्रह नगर्नु, लोभी नहुनु वा नाङ्गो हुनु नै सुखको मूल हो । फूल नाङ्गा भए पनि उज्याला र सौन्दर्ययुक्त हुन्छन् । त्यसैले देवकोटा प्रकृतिका माध्यमबाट सुखी जीवन वा वास्तविक लक्ष्य प्राप्तिको आध्यात्मिक जीवनतर्फ सङ्केत गर्दछन्– “ती फूल नाङ्गाहरू हुन् उज्याला” (सर्ग १९, श्लो.२५) ।
जसरी सर्ग तेह्रमा दुष्यन्तले प्रकृतिमा धन, रत्न, पन्ना, जुहार देखेका थिए त्यसैगरी सर्ग उन्नाइसमा शकुन्तलाले प्रकृतिबाट टाढा गएमा सुख नहुने विचार व्यक्तै गर्दै प्रकृतिमै स्वर्ग, सुखको दौलत, पन्नाको जगत्, सुखको रत्न, हीराको सुगन्ध देखेकी छन् (सर्ग १९, श्लो. ७१–७२) । यदि यस्तो प्राकृतिक वैभवबाट टाढिनुप¥यो भने दुःख हुने कुरासमेत शकुन्तलाले प्रकट गरेको पाइन्छ ।
महाकवि देवकोटाले ‘शाकुन्तल’ महाकाव्यमा सत्यलाई सर्वोपरि मानेका छन् । सत्यको उद्घोष गरेर सत्यवादी जीवनचिन्तनतर्फ आकृष्ट भई आध्यात्मिक शान्तितर्फ उनी अभिमुख भएको पाइन्छ । हाम्रा पूर्वीय वैदिक षड्दर्शनमध्ये योग दर्शनमा सत्यको विशेष चिन्तन गरिएको छ ।
योगका अष्टाङ्ग मार्गहरू यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिमध्ये यम (आन्तरिक एवं बाह्य इन्द्रियहरूको संयम प्रक्रिया) का भेदभित्र अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह पर्दछन् । यिनै मध्ये सत्य एकमात्र त्यस्तो योगको भेद हो जुनविना मानिसलाई संसारमा आध्यात्मिक शान्ति तथा समाधि वा आफ्नो वास्तविक स्वरूपको ज्ञानसम्भव हुँदैन ।
यही सत्यबाट प्रेरित प्रभावित देवकोटा ‘शाकुन्तल’ का तेइसौं र चौबीसौं सर्गमा सत्यवादी जीवन चिन्तनतर्फ लागेका देखिन्छन् । देवता र दैत्यको युद्धका प्रसङ्गमा सत्यको नै विजय हुने धारणा यहाँ पाइन्छ ।
सत्यमा चल्ने मान्छेमा अनन्त प्रबलता (असीम बलियोपन) हुन्छ । आदि अन्त्य नभएको शक्तिशाली आत्मा पनि सत्यको पछि लाग्छ । सत्य नै ईश्वरको रूप हो जुन सत्यजस्तै जान्नबुझ्न नसकिने छ । विश्वका ईश्वरको रूप पनि सत्य नै छ । सत्यको पछि लागेमा आत्मा पनि उज्यालोतिर लाग्छ वा ज्योतिस्वरूप प्राप्त हुन्छ । सत्यको आदि अन्त्य छैन ।
सत्य आशातीत भएकाले चिताउनै सकिँदैन । यो अगम्य अर्थात् अज्ञेय छ । शक्ति प्राप्त गर्न सत्यकै भर चाहिन्छ । सत्यको घेरो फराकिलो पारेमा वास्तविक तŒव फेला पार्न सकिन्छ । भक्ति र श्रद्धा (श्रीपेच) भन्दा पनि सत्य ठूलो भएकाले यसकै खोजीमा लाग्नु मनुष्य जीवनको सार्थकता देखिन्छ ।
मानव जीवनको लक्ष्य आध्यात्मिक सुखलाई मान्ने पूर्वीय वैदिक दर्शनहरूले भौतिक जीवनलाई दुःखदायी मानेका छन् । साङ्ख्य दर्शनले संसारलाई आध्यात्मिक, आधिभौतिक र आधिदैविक दुःखले युक्त मानेको छ । योग दर्शनले पनि साङ्ख्य दर्शनले जस्तै मान्दछ । न्याय र वैशेषिक दर्शनले पनि संसार दुःखले भरिएको ठान्छन् ।
वेदान्त दर्शनले भौतिक जीवनलाई क्षणिक, दुःखदायी मान्दछ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘शाकुन्तल’ महाकाव्यमा भौतिक÷आधुनिक जीवनलाई दुःखपूर्ण मानेका छन् । उनले महाकाव्यको प्रथम सर्गमै भौतिक÷आधुनिक जीवन कोलाहलपूर्ण, मरेतुल्य, अत्यासलाग्दो भनेका छन् ।
देवकोटा वस्तुतः धरा (पृथ्वी) मा सम्पूर्ण वैभव देख्ने कवि हुन् । पृथ्वीलाई जीवनदायिनी शक्ति पनि मानेका छन् । यही शाकुन्तल महाकाव्यमा पनि उनी प्रकृतिभित्रै अध्यात्म ज्ञानको भण्डार देख्छन् । उक्त श्लोकमा देवकोटाले धरा भनेर भौतिकताले चुर्लुम्म भएको संसारलाई बताएका हुन् । यस्तो संसारमा अभावै अभाव हुने नै भयो । अशान्ति, दुःख, विभिन्न पीडादायी अवस्था त यसका स्वभाव नै हुन् । असन्तुष्टि र जलनले भरिएको वेदान्त दर्शनकाअनुसार मायिक संसार, मिथ्या संसारमा अभाव नभए के होला ? यहाँका वस्तुहरू हेर्दा आकर्षक भए पनि नाशवान् भएकाले दुःख दिने छन् ।
वेदान्त दर्शनको पारमार्थिक दृष्टिले हेर्दा त सबै आफ्ना भनिएकाले पनि दुःखको बन्धनमा पर्छन् । त्यस्तै फूल सौन्दर्ययुक्त आनन्द दिने भए पनि त्यसमा काँढा हुन्छ । यो जहाँ आनन्द छ त्यहाँ दुःख पनि हुन्छ भन्ने प्राचीय न्याय दर्शनको मतअनुसार मेल खाने देखिन्छ । हरेक प्राणी शोकाकुल छ । आँसुमय जीवनलाई देवकोटाले आधुनिक, भौतिक, कृत्रिम, आडम्बरी मानेको कुरा यहाँ पाइन्छ ।
हाम्रा इन्द्रियहरू इमानदार छैनन् । यिनले नगर भनेको कुरा गर्न खोज्छन् । हामीलाई भौतिक संसारमा चुर्लुम्म डुबाउन खोज्छन् । हाम्रा कानले नराम्रो र नचाहिँदो सुन्न खोज्ने, हाम्रा आँखाले त्यस्तै हेर्न खोज्ने, जीब्राले मीठोमीठो स्वाद खोज्ने, नाकले त्यस्तै गर्ने लगायत पाँच कर्मेन्द्रिय र पाँच ज्ञानेन्द्रियहरू हाम्रा नियन्त्रणभन्दा बाहिर गए भने यिनीबाट हाम्रो हानी हुन्छ । यिनैले दुःखका वेला अझै दुःख थपिदिन्छन् । तसर्थ देवकोटा त्यसबाट सचेत रहने÷रहनुपर्ने विचार व्यक्त गर्छन् ।
पूर्वीय आस्तिक दर्शनहरूले जीवनजगत्लाई आआफ्नै ढङ्गबाट हेरेका छन् । साङ्ख्य दर्शनले प्रकृतिलाई सृष्टिको कारण मान्दछ । यसले यो जीवनजगत् प्रकृतिको परिवर्तित रूप मानेको छ । यसले संसारमा मानवजीवनलाई तापत्रयबाट मुक्त हुन प्रकृति र पुरुषको भेदज्ञान हुनुपर्छ भन्ने मान्यता राख्दछ । योग दर्शनमा जड सक्रिय प्रकृति र चेतन निष्क्रिय पुरुषको अस्तित्व स्वीकार गरिएको छ । यसले चित्तको वृत्ति नियन्त्रण गरेर जीवनलाई तापत्रयबाट मुक्त पार्न सकिने मानेको छ ।
न्याय दर्शनले निष्क्रिय र गतिहीन परमाणुमा ईश्वरको इच्छा भएपछि क्रिया उत्पन्न भई गति पैदा भएर सृष्टि प्रक्रिया हुने धारणा राखेको छ । वैशेषिक दर्शनमा पनि न्याय दर्शनमा जस्तै सृष्टि प्रक्रिया मानिएको छ । मीमांसा दर्शनमा मनुष्यको कर्मबाट उत्पन्न अपूर्वद्वारा परमाणु सञ्चालित भई सृष्टि हुने विचार पाइन्छ । वेदान्त दर्शनले जीवनजगत्लाई माया वा भ्रमका रूपमा मानेको छ । सबै ब्रह्म मानेको छ । यसले आत्मतŒवमा जोड दिएको छ ।
यस आधारमा हेर्दा र देवकोटाको शाकुन्तलबाहेक अन्य केही कृतिहरूमा हेर्दा उनले जीवनजगत्लाई खाडीसँग तुलना गरी दुःखमय मानेका छन् । उनका सुरुका कविताकृतिमा पनि यस्तो चिन्तन पाइन्छ । उनले क्षणिक, भौतिक जीवनभन्दा आध्यात्मिक, आत्मिक शाश्वत जीवनलाई महŒव दिएका छन् । उनी मानवतावादी, प्रकृतिकेन्द्री जीवन चिन्तकका रूपमा देखिएका छन् ।
उनले ईश्वर, आत्मा, स्वर्ग, नरक र धर्मसम्बन्धी चिन्तन गरेर जीवनका लागि यी पाँच कुराको महŒव देखाएका छन् । उनले प्राचीन सभ्यता र संस्कृतिप्रति रुचि देखाएका छन् । सत्यवादी भएर बाँच्नुपर्ने देवकोटाको अर्को उल्लेख्य पक्ष शाकुन्तलमा आएको छ । भौतिकताप्रतिको आसक्तिले मानिसलाई सुख नहुने उनको चिन्तन महाकाव्यमा प्रशस्त पाइन्छ । देवकोटाको जीवनचिन्तनको मूल आशय पूर्वीय अध्यात्मवादी जीवन नै भएको निष्कर्ष यहाँ रहेको छ । (लेखक ज्ञवाली त्रि.वि. पद्मकन्या कलेजका उपप्राध्यापक हुनुहुन्छ ।)
प्रतिक्रिया