काठमाडौँ । सर्वाधिक पुरस्कार राशीको घरेलु प्रतियोगिता पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि पोखरा पल्टनले उचालेको छ । पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज शरद भेषावकर कप्तानीमा रहेको पोखरासँग तीन विकेटले पराजित भएको हो । पोखराका लागि रवीइन्द्रर सिंहले ५८ बलमा सर्वाधिक ९० रन बनाए ।
१६१ रनको लक्ष्य पछ्याएको पोखराले चार बल बाँकी तीन विकेटको जित दर्ता गरेको हो । रोमाञ्चक खेलमा विनोद भण्डारीको चौकाले पोखरालाई उपाधि दिलाएको हो । पारसले अन्तिम ओभरमा दुई विकेट लिए । उनले सर्वा्धिक रन बनाएका सिंह र रोहित पौडेलको विकेट लिए ।
रवीइन्द्रपछि पोखराका लागि मोहम्मद नाभिद २५, कप्तान शरद २२, आशिफ सेखले १२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । कुशल भुर्तेल चार रनमा आउट भए भने रोहित पौडेल शून्य रनमै आउट भए ।
पछिल्ला दुई वर्षमा घरेलु फ्रेन्चाइज क्रिकेट लिगका तीनमध्ये दुई फाइनल खेलमा खड्का र शरद भिडेका थिए । दुवै भेटमा पारसले आफूलाई अब्बल सावित गर्दै टोलीलाई उपाधि चुमाएका थिए । यस पटक भने शरदको टिमले उपाधि उचालेको हो।
सन् २०१७ को अप्रिलमा भएको धनगढी प्रिमियर लिग (डीपीएल)को फाइनल खेलमा पारसको कप्तानी रहेको धनगढी टिम चौराहाले शरदको नेतृत्वमा रहेको विराटनगर किङ्सलाई ६२ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
सोही वर्षको डिसेम्बरमा काठमाडौंमा भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल)को फाइनलमा पनि उनै पारसको नेतृत्वमा रहेको विराटनगर किङ्सले फेरि शरदकै नेतृत्वको भैरहवा ग्लाडिएटर्सलाई एक रनले पराजित गर्दै उपाधि चुमेको थियो। दुई वर्षको अन्तरालमा शरदले उपाधि चुमेका हुन् ।
यसअघि पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १६० रनको स्कोर खडा गरेको थियो । दोस्रो ओभर ९ रन बनाउँदा हरिशंकर साहको विकेट गुमाएको चितवनका लागि दोस्रो विकेटका लागि पारस खड्का र अनीलकुमार साहले ७६ रनको साझेदारी गरी टोलीलाई बलियो स्थितिमा र्पुयाएका थिए ।
यसअघिका खेलमा राम्रो प्रदर्शन गर्न नसकेका पारसले फाइलन खेलमा अर्धशतक प्रहार गर्न सफल भए । ३७ बलको सामना गरेका पासरले ९ चौकसहित ५१ रन बनाए ।
पारस बाहेक पोखराका लागि भारतीय खेलाडी सन्नी पटेलले ४३, अनीकुमार साहले ३७, आरिफ शेखले १४ रन र हरिशंकर साहले ८ रन बनाए ।
बलिङमा पोखराका खेलाडीले चितवनमाथि खासै दबाब सिर्जना गर्न सकेनन् । पोखराका लागि मोहमद नाभिद र ललित राजवंशीले १–१ विकेट लिए । कृष्ण कार्कीले २ विकेट लिए ।
प्रतिक्रिया