देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युनिका : यौवन, समय र समाज

देशान्तर

एउटा परिपक्व उमेरको युवक र यौवना युवती । अचानक भेटिन्छन्, नजिक हुन्छन् र विस्तारै ‘निकै नजिक’ पनि । र, यसरी लामो समयको निकटतासँगै हुर्किएको प्रेम अथवा भनूँ प्रेमाकर्षण । उमेरजन्य कुत्कुतीहरू । प्रेमिल घुर्की र असन्तुष्टिहरू । आशा, अपेक्षा र खुसीहरू । यस्तै यस्तै अनेक क्रीडा र खेलहरू, जो उमेरका युवा–युवतीले खेल्छन् अर्थात् अर्को शब्दमा ‘प्रेम’ गर्छन् ।

हो, तरुनी र तन्नेरी उमेरका युवक–युवतीका यस्तैयस्तै खेलहरूलाई आख्यानीकरण गरिएको पुस्तक हो– युनिका । कविता र गजललेखनमा स्थापित सर्जक घनश्याम पथिकको उपन्यास कृति हो– युनिका । दुई सय बढी पृष्ठमा सानो आकारमा प्रकाशित यस कृतिमा वर्तमान समयका युवक र युवतीबीचको प्रेम–प्रणयलाई मूल विषय बनाइएको छ । सन्दर्भका क्रममा सामाजिक, आर्थिक, राजनीतिक, पर्यावरणीय, साहित्यिक अनेक विषय सन्दर्भ पुस्तकमा आए पनि यसको मूल कथा दुई पात्र युनिका र समिकको वरिपरि घुमेको छ । समिक र युनिकाबीचको प्रेमको प्रसंगलाई अनेक सन्दर्भ, पात्र र परिवेश जोडेर कथानक बुनिएको छ ।

पुस्तकको विषय युवालक्षित भए पनि यो पुस्तक पढ्दा हरेक पाठकले आफ्नो युवावय र त्यस बेला आफूमा उत्पन्न आवेग, संवेग, प्रणयभाव र आफ्ना त्यस समयका कार्यहरूको स्मरण गर्छ । प्रेमको वियोगान्त पक्ष उद्घाटन गरिएको युनिकाका पात्रहरू जीवन्त लाग्छन् । उनीहरूका संवाद स्वाभाविक लाग्छन् भने परिवेश चिरपरिचित र उपयुक्त लाग्छन् । कतिपय सन्दर्भमा कथानक बढाउनका लागि लेखक शब्दको भार थप्न विवश छन् भने धेरै ठाउँमा लामो भए पनि सन्दर्भ टुटेको पाइँदैन ।

उपन्यासमा विशेषतः यौवना उमेरका युवायुवतीका प्रेम–प्रणयभाव अभिव्यक्त छन् । एउटा उमेरको युवक र युवतीबीच हुने स्वाभाविक क्रीडा एउटा खेलका रूपमा प्रस्तुत भएका पाइन्छ यस उपन्यासमा । त्यो खेल अन्ततः दुखान्त बनेको छ । तर खेल दुखान्त किन भयो भन्नेबारे उपन्यासमा केही पाउन सकिन्नँ । सामाजिक, आर्थिक, बौद्धिक, सांस्कृतिक, पारिवारिक वा अन्य के कारणले युनिका र समिकबीचको प्रेम प्रणयको चरममा नपुगी अन्त्य भयो भन्ने कुरा उपन्यासले बोल्दैन ।

युनिका पढिरहँदा पाठकले हाम्रो निश्छल ग्रामीण समाज, स्वार्थी र अव्यवस्थित सहर, सहरी परिवेश, समाजका विभिन्न प्रवृत्तिका मानिसहरूका चरित्र र व्यवहार बुझ्ने मौका पनि पाउँछन् । यो उपन्यास विषयका हिसाबले हेर्दा टिन एजका युवा–युवतीलाई लक्षित गरेर लेखिएको भन्ने प्रस्ट हुन्छ ।

उपन्यासमा समिक वा पुरुष पात्रलाई प्रमुख पात्रका रूपमा प्रस्तुत गरिएको छ । समिकको पीडा भनौँ वा कुण्ठा अथवा असन्तुष्टि उपन्यासको विषय हो । अनेक विषय, सन्दर्भद्वारा उपन्यासको कथानक बढाइएको भए पनि अन्ततः समिकको वियोगान्त प्रेमको कथा हो– युनिका ।

कवि, गजलकारको रूपमा स्थापित भइसकेका पथिकको आख्यानमोह प्रचुर रहेको यस उपन्यासले देखाउँछ । सरल भाषा शैली, शिष्ट र स्वाभाविक प्रस्तुति पथिकको युनिकाका विशेषता हुन् । ‘कमन’ विषयमा लेखिए पनि पात्र, परिवेश, कथानक, सन्दर्भहरूका कारण उपन्यास रोचक बनेको छ । आगामी आख्यान अझ परिपक्व र स्तरीय आउनेछ पथिकबाट भन्ने आशा गर्न सकिन्छ ।