काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा चितवन राइनोजले दोस्रो जित निकालेको छ। लगातार दुर्इ खेल गुमाएकाे चितवनले पछिल्ला दुर्इ खेलमा जित निकाल्दै प्ले अपकाे सम्भावना जीवितै बनाएकाे छ।
पोखरा रंगशालामा १५० रनको लक्ष्य पछ्याएको काठमाडौैं रोयल्सले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएपछि चितवनले १३ रनको जित निकालेको हो। काठमाडौंका लागि गौरभ तोमारले ३९, कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए।
यसैगरी, पवन सराफले २८ रन बनाउँदा जयकृष्ण कोसावलले १८ रन जाेडे। मध्यम सुरुवात गरेको काठमाडौंका पछिल्लो क्रममा ब्याट्सम्यान चल्न सकेनन्। १०२ रन बनाउँदा चार विकेट गुमाएको काठमाडौंले थप २३ रन जोड्दा अरु तीन विकेट गुमाएको थियो।
चितवनका पारस खड्का र करण केसीले २–२ विकेट लिए। शन्नी पटेल, स्मित पटेल र भुवन कार्कीले एक-एक विकेट लिएका थिए।
यसअघि पहिले व्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। चितवनका लागि हरिशंकर साहले ६० रन जोडेका थिए।
हरिशंकरले अनिल साहसँग ५४ रनको साझेदारी गर्दै बलियो सुरुआत गराएकोमा अनिल २७ रन बनाएर आउट भए। स्मित पटेलले ३१ रन जोड्दा कप्तान पारसले १४ तथा सन्नी पटेलले १३ रन बनाए।
चितवनका बसन्त रेग्मीले २ तथा पवन शराफ र नन्दन यादवले एक-एक विकेट लिए।
प्रतिक्रिया