काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री ओलीको मंगलबार बिहान गरिएको रगत परीक्षण तथा छातिको एक्स—रे लगायतको रिपोर्ट सकारात्मक रहेको सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री ओलीको छातिको संक्रमण कम हुँदै गएको छ भने ज्वरो पनि कम हुँदै गएको छ । उनलाई अझै दुई दिन अस्पतालमै राखेर चिकित्सकको निगरानीमा राखिने छ । संस्थानले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन मंगलबार बिहान १० बजे प्रेस विज्ञप्ति जारी गरेको छ ।
उनको उपचारमा संलग्न प्रा डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार बिहान सजिलैसँग खाजा खाएका थिए भने स्वास्थ्य अवस्थाबारे जानकारी लिन आएका शुभेच्छुकसँग सजिलैसँग दोहोरो कुराकानी गरेका थिए ।
प्रम ओलीको प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । यसैबीचसभामुख कृष्णबहादुर महराले शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी स्वास्थ्य लाभको कामना गरेका छन् ।
अस्पताल भर्ना भएपछि सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई भेटेर उनको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।
यसैगरी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्रीलाई सोमबारै भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । उनलाई छातीमा सङ्क्रमण देखिएपछि सोमबार बिहान ४ बजेर ३० मिनेटमा अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया