खासगरी पछिल्लो संसदीय निर्वाचनमा नराम्ररी हारेपछि कांग्रेसका बारे व्यापक बहस सुरु भयो पार्टी सुधारका सन्दर्भमा । त्यो क्रम अहिलेसम्म नै चलिरहेको छ । यो बहस कांग्रेसको केन्द्रीय समितिमा मात्र होइन, संगठनको धेरै तल्ला तहसम्म र यसका शुभचिन्तकमा पनि उत्तिकै कायम रह्यो । निर्वाचन सम्पन्न भएको वर्षदिनको समयमा यसको महासमिति बैठक सम्पन्न हुँदैछ निकटमा नै ।
त्यहाँ पनि उठ्ने कुरा यही हो कांग्रेसलाई कसरी सुधार गर्ने र आगामी दिनमा यो दललाई अरूभन्दा ठूलो कसरी बनाउने । यो एक वर्षमा धेरै औपचारिक अनौपचारिक बहस भएका छन् । धेरै शुभचिन्तक विद्वानहरू जो लोकतन्त्रवादी हुनुहुन्छ उहाँहरूका गहकिला सुझाव पनि धेरै आए । नेतृत्वले त्यसलाई कति आत्मसात् ग¥यो वा गरेन भन्ने आफ्नो ठाउँमा छ तर बाध्यता नै भएको छ यसलाई आत्मसात् गरेर मात्र संगठनलाई सुधार गर्न सकिन्छ भन्ने ।
खासगरी कांग्रेसका पक्षमा यस्तो परिणाम आएपछि उठेको सुधारको यस्तो स्वर विद्वानहरूबाट नै बढी मुखरित भएका छन् । कांग्रेसका लागि यो एउटा सुखद पक्ष पनि हो । यसका शुभचिन्तकहरूको संख्या धेरै नै ठूलो रहेछ । कांग्रेस नेतृत्वको सबैभन्दा पहिलो काम हुनुपर्छ यस्तो पुँजीको संरक्षण गर्नु र त्यसलाई यसको वा उसको पक्षमा नभनी पार्टीको पक्षमा ठानेर स्वकार्नु तथा त्यसअनुसार कार्यान्वयनमा लानु ।
पहिलो कुरा कांग्रेसमा कुनै सुधारका प्रस्ताव हुँदा सर्वप्रथम यसभित्र आप्mनो ठाउँ खोजिने एउटा रोग जस्तै भएको छ । यसले संगठनलाई मद्दत गर्दैन । सम्भवतः यसै भएर होला कांग्रेसमा कुनै सुझावले काम गर्दैन भन्ने मान्यता बढ्दै गएको छ । यो भनेको नैराश्यताको चरम अवस्था हो जसले भविष्यको गन्तव्यलाई संकुचन गराउँछ र हतपत पुरण हुनै नसक्ने गरी हानी पु¥याउछ । अव चाहिँ अठोट नैगर्नु पर्छ तीतामीठाजस्ता हुन् ती कांग्रेसका लागि हुन भन्ने उदार मनबाट । नेतृत्वले आफ्नो मनलाई फराकिलो र सघन बनाएर मात्र भोलिको बाटो ठम्याउन सजिलो हुनेछ ।
गर्व गर्नु पर्ने कुरा
राणाकाल अन्त्य र प्रजातन्त्र स्थापना, ३० वर्षे पञ्चायतविरूद्ध संघर्ष र त्यसको अन्त्य, ज्ञानेन्द्रको शासनविरूद्ध प्रतिरोध, माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन निर्णायक पहलकदमी, गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान जारी, सो संविधानअनुसार तीन तहको निर्वाचन ऐतिहासिक नै हुने गरी निर्विघ्नतापूर्वक सम्पन्न कांग्रेसका ऐतिहासिक पुँजी हुन् । यो कांग्रेसले मात्र भनेका कुरा होइनन् ।
यिनले आम तहमा नै सर्वमान्य आकार पाइसकेका स्वर्ण अक्षरका अभिलेख हुन् । इतिहासले पार्टीहरूलाई लामो दूरी तय गर्ने धैर्य र ऊर्जा दिन्छ । तर, भविष्य सिञ्चित गर्ने र मार्गदर्शन गर्ने हदसम्म मात्र इतिहास सम्झना गर्नुपर्छ । त्यसका कारण छन् । गएको निर्वाचनमा यी सबै कुरा विद्यमान रहँदारहँदै पनि कांग्रेसले निर्वाचन हारेको कटुसत्य सामुन्ने नै छ ।
शुभचिन्तकहरूले बारम्बार सम्झाइरहेका छन्– ७० वर्षअघि कांग्रेससँग आफ्नो इतिहासका कुरा थिएनन् । भविष्यका कुरा गर्ने प्रचुर कल्पनाशक्ति भने यो पार्टीसँग थियो । त्यही कल्पना शक्तिले कांग्रेसलाई धेरै ऐतिहासिक जिम्मेवारी पनि दियो । समय लाग्यो होला तर समग्र मुलुक कांग्रेसले सात दशकअघि आप्mनो प्रारम्भकालमै प्रस्ताव गरेका बहुवादमा आधारित संसदीय पद्धति देशको सर्वमान्य शासकीयस्वरूप भएको छ ।
२००४ सालमा स्थापित नेपाली कांग्रेसको प्रजातन्त्र स्थापनाको अभिभारा भर्खर पूरा भएको छ । दुईपटक प्रजातन्त्र खोसेको राजतन्त्र आफैं फालिएको छ । संसदीय व्यवस्था फालेर एकदलीय जनगणतन्त्र ल्याउन हतियार उठाएको पार्टी संसदीय राजनीतिको मूलधारमा आएको छ । मुलुकमा गणतान्त्रिक संविधान जारी भएको छ ।
संघीयता र स्थानीय शासन कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेका छन् । आवधिक निर्वाचनका विरुद्ध कसैले बोल्न सकने अवस्था छैन । संविधानसभा बहिष्कार गरेकाहरू पछिल्लो संसदीय निर्वाचनमा सहभागी हुनु पनि त्यसको उदाहरण हो । तर यस्तो निर्वाचनमा कांग्रेस चाहिँ हारेको छ । निश्चय नै यो हार पद्धतिगत दोष होइन । दोष कांग्रेसको अन्तर संगठनमा जान्छ जुन भविष्यको गन्तव्य निर्धारणको विन्दु यहीबाट सुरु हुन्छ ।
हनुमान शक्ति
शुभचिन्तकहरूले कांग्रेसको हनुमान शक्तिलाई यसरी सम्झाउँदै आएका छन्– सत्तरी वर्षअघि दुई पार्टी मिलेर नेपाली कांग्रेस बन्दा पनि आकारमा सानो पार्टी थियो । त्यसको संगठन, स्रोत र जनसमर्थनको घेरा साँघुरो थियो । महत्वाकांक्षा ठूलो थियो । उद्देश्य ठूलो थियो– एक सय चारवर्षे राणाशासन फाल्ने र जनताको शासन स्थापना गर्ने ।
आँखामा सपना र पेटमा आगो बोकेको कांग्रेस थियो त्यो । त्यही सपना र ऊर्जाले कांग्रेसलाई अघि बढायो । आज कांग्रेस आकारमा ठूलो छ । संगठन छ । कार्यकर्ताको ठूलो पंक्ति छ । खुम्चिँदो, तर अझै विशाल जनसमर्थन छ । यति हुँदाहुँदै पनि कांग्रेस आज कमजोर छ । किन ? कांग्रेसले यतिबेला यो प्रश्नको उत्तर खाज्नै पर्छ । त्यो पृय वा अपृय जस्तो होस ।
उत्तर निरुत्तरित रह्यो भने सुधारका सम्भावनाहरू मेटिन्छन कांग्रेस नाममामात्र सीमित हुनुपर्ने अवस्थापनि आउन सक्तछ । जस्तो अहिले छ । यो सबैभन्दा ठूलो विपक्षपनि हो । आवधिक निर्वाचनमा कोही पक्ष र विपक्ष भैरहन्छन भन्ने सैद्धान्तिक मान्यता काँग्रेसकै हो । तर कांग्रेस त्यस्तो विपक्ष छैन जो सत्ताको मनपरीलाई खवरदारी गर्न सकोस । कारण हो यो एक्लै एकचौथाइको पनि छैन ।
कांग्रेस सुधारका सन्दर्भमा औपचारिक अनौपचारिक जहाँहुन वहस हुँदा यो कुरालाई सामान्य रूपले लिन हँुदैन । लिइयो भने त्यो एक प्रकारले आत्मरति नै हुने छ । यथास्थितिमा नै रमाइयो भने सम्भावनाका सबै ढोका त्यहीँ बन्द हुन्छन् ।
नयाँ ढंगको खोजी
अहिलेको कांग्रेसको सबैभन्दा ठूलो चुनौती भनेको पचास प्रतिशत लोकप्रिय मत बोकेको र यतिखेर भीमकाय मानिएको एकीकृत वाम पार्टीलाई अर्को चुनावमा हराउन सक्ने क्षमताको खोजी हुनु हो । यो कुरा चानचुने हिसाबबाट र अर्को चुनावमा कांग्रेस सबैभन्दा ठूलो हुन्छ भनेर बताइएकै भरमा हुने कुरा होइन । यसले नीति, कार्यक्रम र नेतृत्व खोज्छ ।
कतै नेतृत्वको कुरा उठ्यो भने आफैंलाई भनिएको हो कि भन्ने कांग्रेसमा रोगजस्तै बनेको छ । तर यो सन्दर्भ चाहिँ अलग हो । निर्वाचनबाट स्थापित कुनै पार्टीलाई निर्वाचनबाटै विस्थापन गर्न पहिलो सर्त हुन्छ त्योभन्दा यो नेतृत्व के कति कारणले भरपर्दो र मतदाताको मन जित्ने खालको छ भन्ने फरक हुनै पर्छ । अबको निर्वाचन भनेको वर्तमानको खोजी हो । इतिहास भएरमात्रै पुग्दो रहेनछ भन्ने त देखिइनै सकिएको छ । नेतृत्व यो वा त्यो भन्ने होइन ।
भनिन्छ, संसारमा गर्ने वा बोल्ने कुनै नयाँ कुरा बाँकी छैनन् । काम उही हो केवल त्यसलाई कसरी गरिन्छ, कस्तो शैलीमा गरिन्छ भन्नेमात्रै नयाँ हुन्छ । नीति ठीक छ, कार्यक्रम ठीक छन् भने अभाव हो ढंगको । अब पनि नयाँ ढंगले काम गरिएन भने कुरा त त्यही हुन्छ जो पहिले भएको थियो र परिणाम पनि त्यस्तै आउँछ जो पहिले आएको थियो । जस्तो २०५६ सालको आमनिर्वाचनमा नयाँ केही नयाँ ढंगले प्रस्तुत भइँदा हार्ने संकेतहरू धेरै रहेकै अवस्थामा निर्वाचन जितियो । यो कुरा इतिहासमा नै लेखिएको छ ।
मतको मूल्यांकन
कांग्रेसका शुभचिन्तकले विगतदेखि नै मतको मूल्यांकन यसरी गरेका छन् –२०४८ सालमा कांग्रेसले ११० सिट जित्दा एमालेले ६९ सिट जितेको थियो । जनमोर्चाले ९ सिट । केही साना वाम पार्टीले अरू ५ सिट जितेका थिए । कांग्रेसको लोकप्रिय मत सबै कम्युनिस्ट पार्टीको जोड्दाभन्दा धेरै थियो त्यो बेला । २०५१ को मध्यावधि निर्वाचनमा एमालेले कांग्रेसभन्दा चार सिट धेरै ल्यायो, तर लोकप्रिय मत कांग्रेसकै धेरै थियो ।
२०६४ मा माओवादीले कांग्रेसलाई आठ लाख हाराहारी लोकप्रिय मतले पछाडि पा¥यो । कुनै कम्युनिस्ट पार्टीले कांग्रेसभन्दा धेरै लोकप्रिय मत ल्याएको त्यो पहिलो इतिहास थियो । यसपालि एमालेले पहिलोपटक कांग्रेसभन्दा धेरै लोकप्रिय मत ल्यायो । २०७० मा कांग्रेसले एमालेभन्दा एक लाख ७८ हजार मत धेरै ल्याएको थियो । यसपालि एमालेले कांग्रेसभन्दा ४५ हजार मत धेरै ल्यायो । अर्थात् पाँच वर्ष अवधिमा दुई लाखभन्दा धेरै मत कांग्रेसको तुलनामा एमालेतिर गयो ।
लामो समय कांग्रेस लोकप्रिय मतमा पहिलो पार्टी थियो, अब लामो समय एमालेले कांग्रेसलाई दोस्रोमा धकेल्ने संकेत देखा परेको छ । यस्तो कसरी भयो भन्ने बृहत् र गुणात्मक अनुसन्धानमार्फत् कांग्रेसले उत्तर खोज्न जरुरी छ । युवा मतदाताको अनाकर्षण कांग्रेस निरन्तर खुम्चनुको प्रमुख कारण हो । २०४८ पछि जति पनि नयाँ बालिग मतदाता थपिए, त्यसमा कांग्रेसको भाग थोरै छ । नयाँ थपिने मत आफूतिर आकर्षित भएन भने परिणाम कसैले चाहेरमात्रै उल्टो हुने हुँदैन ।
युवाको आकर्षण
विश्लेषकहरूको ठम्याइ छ –१८ देखि ४० वर्ष भनेको बहुसंख्यक मतदाता हो । शिक्षित मतदाता त्यही हो । आजको र भोलिको नेपाल त्यही हो । कांग्रेस त्यहाँ कमजोर छ भने अवश्य मुलुकभर कमजोर हुन्छ । आज कमजोर छ भने आउँदा वर्ष झनै कमजोर हुनेछ । जनमत खुम्चिनुको मूल कारण नयाँ मतदाताका रूपमा बर्सेनि थपिने लाखौं युवा कांग्रेसभन्दा अरू पार्टीतिर आकर्षित हुनु हो ।
कांग्रेसबाट विमुख हुनु हो । नेपालमा १८ देखि ४० वर्ष उमेरसमूहको मतदाता संख्या सबैभन्दा ठूलो छ । सक्रियता र चेतनाका हिसाबले पनि यो समूहका मतदाता सबैभन्दा अगाडि छन् । युवाहरूले क्रियाशीलता खोज्छन् भने उमेर ढल्दै गएकाहरूले सम्मान । उनीहरूमा अनुभव हुन्छ भने युवामा जांगर र जोस । सम्मान र क्रियाशीलताको उचित संयोजन गरियो वा भयो भनेमात्र संगठनले बल पाउँछ ।
१८ देखि ४० वर्षका मतदातामाझ कांग्रेसको जनाधार लगातार घट्दै जानु भनेको पार्टी बूढो हुँदै जानु हो । नेता बूढा भएर पार्टी बूढो हुँदैन जब कुनै पार्टीलाई मत दिने मतदाता बूढा हुँदै जान्छन् त्यसपछि भने पार्टी पक्कै बूढो हुन्छ । बूढा मतदाता धेरैजसो हिजोको इतिहासले तानिन्छन् भने युवा मतदाता भने आजको आकांक्षा र भोलिको सपनाले तानिन्छन् ।
यहाँ सबाल उठछ त्यस्तो सपना दिन सकिन्छ कि सकिँदैन । सपना कुनै उमेर विशेषले दिने होइन । यो उमेरले पनि बाँधिने होइन । जसले पनि दिन सक्छन् तर आवश्यकता हो त्यो कति भरपर्दो छ । हामीकैमा उदाहरण कायम भएका छन् बाँडिएको सपना आफैंतिर व्यंग्य भएर फर्किएका ।
प्रतिक्रिया