काठमाडौँ । पोखरा प्रिमियर लिग क्रिकेट आजदेखि पोखरामा सुरु हुँदैछ । तीन महिना लगाएर स्तरोन्नति गरिएको पोखरा रंगशालाको नयाँ पीचमा अाज बिहान ११ बजेदेखि घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्स आमने सामने हुँदैछन् ।
दुवै टोलीका कप्तान तथा प्रशिक्षकले पीचको कण्डिसनअनुसार प्रदर्शन निर्भर रहने बताइसकेका छन् । रातो माटोको पीच नेपालमा अन्त छैन । नयाँ पीचको कण्डिसनलाई बुझेर संयमित भएर खेल्ने दुवै टोलीका मार्की खेलाडीको भनाइ छ । विराटनगरबाट सन्दिप लामिछाने र पोखराबाट शरद भेषावकर मार्की खेलाडी छन् ।
कात्तिक २० गतेसम्म चल्ने प्रतियोगितामा पोखरा र विराटनगरका अलावा काठमाडौं रोयल्स, चितवन राहिनोज, बुटबल ब्लास्टर्स र धनगढी ब्लुज छन् । सबै टिम र खेलाडी पोखरा पगिसकेका छन् भने सबैले तयारी सकाइसकेका छन् ।
प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । जुन घरेलु क्रिकेटको सर्बाधिक पुरस्कार राशी हो । त्यस्तै उपविजेताले १० लाख पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ नगद पाउनेछन् भने हरेक खेलको विजेताले १५ हजार पाँच सय बोनसस्वरुप पाउनेछन् ।
प्रतिक्रिया