देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन तस्कर बेनु श्रेष्ठलाई नेपाल ल्याइयो

देशान्तर

काठमाडौं । ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले युएईबाट पक्रेर नेपाल ल्याएको छ । श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको हो । अन्तर्राष्ट्रय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो ।

श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइने केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताए । उनीविरुद्ध गत वैशाखमा फरार अभियुक्तका रूपमा मुद्दा दायर गरिएको थियो । श्रेष्ठ युएईको दुबई सहरमा बसेर सुन तथा हुन्डीको कारोबारमा संलग्न व्यक्ति हुन । दुबईबाट उनले नेपालमा सुन पठाउने काम गरेको प्रहरीको भनाइछ ।

इन्टरपोलले रेड नोटिस जारी गरेपछि युएईको प्रहरीले उनलाई पक्राउ गरी तारेखमा छाडेको थियो । आइतबार नेपाल निष्कासन गरेकोमा विमानस्थलमा प्रहरीले उनलाई पक्राउ गरेको हो । दुई देशबीच सुपुर्दगी सन्धि नभएकाले निष्कासन प्रक्रियामार्फत युएईले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो ।

पक्राउ परेका श्रेष्ठका व्यावसायिक साझेदार तथा सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई पनि नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । उप्रेती पनि दुबईमा पक्राउ परिसकेका छन ।

निष्कासनका लागि त्यहाँको मन्त्रालयबाट निर्णय भइसकेको छैन । उनी तीन महिनाअघि नै पक्राउ परेका थिए । सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन टोलीको अनुसन्धानमा उप्रेती र श्रेष्ठ लामो समयदेखि दुबईमा बसेर सुन, हुन्डी र डलरको अवैध कारोबार गर्ने गरेको खुलेको थियो ।

उक्त सुन तस्करी प्रकरणमै फरार रहेका व्यवसायी ठाकुर ढुंगानाले भने अदालतमा आत्मसमर्पण गरेका छन । उनलाई मोरङ जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । ढुंगाना ग्रिनलाइन होलिडे ट्राभलका सञ्चालक हुन ।

सुन तस्करीमा उनको पनि लगानी रहेको र हुन्डी कारोबारमा समेत संलग्नता खुलेपछि पूरक अभियोगका रूपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो । अनुसन्धान सुरु गरेलगत्तै उनी भागेका थिए । अनुसन्धान टोलीले उनको कम्पनीमा सिल गरेको छ । उनका साझेदार बालकृष्ण खड्का भने फरार छन ।

गत १८ फागुनमा तस्करीको सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको तस्कर समूहले हत्या गरेको थियो । हत्या गर्ने समूहबाटै सूचना पाएपछि महानगरीय अपराध महाशाखाको टोलीले गाडीमा शव बरामद गरेको थियो । प्रहरीले मुख्य अभियुक्तलाई जोगाउने गरी अनुसन्धान गरेको उजुरी परेपछि प्रधान कार्यालयले तत्कालीन डिआइजी पुष्कलराज रेग्मीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रारम्भिक अनुसन्धानमै हराएको साढे ३३ किलो सुन विमानस्थलबाट तस्करी भएको र यसमा ठूलो समूह संलग्न रहेको देखिएपछि सरकारले संगठित अपराध ऐनअनुसार १८ चैतमा सहसचिव ईश्वरराज पौडेलको नेतृत्व ‘विशेष अनुसन्धान टोली’ गठन गरेको थियो । अनुसन्धानका क्रममा विमानस्थलका कर्मचारी र प्रहरीकै मिलेमतोमा ५ वर्षदेखि ठूलो मात्रामा सुन तस्करी भइरहेको तथ्य खुलेको थियो ।

सुन तस्करी र हत्या घटनामा मुख्य अभियुक्तलाई सघाएको खुलेपछि नौ प्रहरीलाई पक्राउ गरी मुद्दा दायर भएको थियो । जसमध्ये चारजना उच्च अदालतबाट साधारण तारेखमा छुटेका छन् । पूर्व्डिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसी साधारण तारेखमा छुटेका छन् ।

निलम्बित एसएसपी श्याम खत्री, डिएसपी सञ्जय राउत र सइ बालकृष्ण सञ्जेल पुर्पक्षका लागि कारागारमा छन । त्यस्तै, प्रहरी जवान विष्णुबहादुर खड्का र हवल्दार अम्बरबहादुर थापामगरलाई उच्च अदालत विराटनगरले पुर्पक्षमा राख्न आदेश दिएको छ । नयाँ पत्रिकालमा खबर छ ।