काठमाडौँ । सरकारले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको छ । तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्ने सरकारले जनाएको छ ।
चाडबाडको मुखमा व्यवसायीले चिनीमा मनलाग्दी पैसा असुल्न थालेपछि सरकारले मूल्य तोकेर बढीमा बिक्री गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहितको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० भन्दा बढ्न नदिने निर्णय गरेको हो । अधिकतम खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँभन्दा नबढ्ने गरी बिक्री वितरणको व्यवस्था मिलाउने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवराज ढकालले बताएका छन ।
उनले सोहीअनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएको बताउदै उक्त निर्देशनअनुसार विभागले बजार अनुगमन तीव्र पारेको दाबी गरे । सरकारले आयातमा परिमाणात्मक बन्देज लगाएपछि हाल बजारमा चिनीको मूल्य अकासिएको छ । व्यापारीले एक किलो चिनीको ८५ रुपैयाँसम्म लिन थालेका छन ।
मन्त्रिपरिषद्ले वार्षिक करिब एक लाख टन मात्रै आयात गर्न पाउने निर्णय गर्नुअघि एक किलो चिनीको औसत मूल्य ६५ रुपैयाँ थियो । अहिले मूल्य बढेर ठाउँअनुसार किलोमा १५ देखि २० रुपैयाँ महँगो भइसकेको छ ।
सरकारले तत्काल कदम नचाले मूल्य बढेर प्रतिकिलो ९० देखि १०० रुपैयाँसम्म पुग्ने जानकारहरू बताउँछन । चाडबाडकै अवसरमा चलखेल बढी हुने र परिमाणात्मक बन्देजले कालोबजारीलाई थप प्रोत्साहन मिल्ने गरेको छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजारभाउ नियन्त्रण गर्न तत्काल आयात फुकुवा अथवा मूल्य नबढ्ने प्रतिबद्धता हुनुपर्ने बताए । उद्योगीहरूले मूल्य नबढाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
सोहीअनुसार मूल्य सार्वजनिकसमेत गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले दैनिक दुईरतीन टोली अनुगमन खटाएको बताए । बढी मूल्य लिने व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको उनले बताए ।
अनुगमनको क्रममा ठाउँअनुसार ७० देखि ८० रुपैयाँसम्म लिने गरेको भेटिएको छ । बढी मूल्य लिनेलाई २४ घण्टाभित्र स्ष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । ौं ।’ बिलबीजक जारी नगरी कारोबार गर्ने मंगलबजारस्थित गणेश स्टोरमा सिलबन्दी गरिएको छ ।
सरकारले चाडबाडकै लागि सुपथ मूल्य पसलमा बढी मूल्य निर्धारण गरेको गुनासो थियो । त्यसलगत्तै विभागले अर्को व्यवस्था नहुन्जेलका लागि उक्त पसलबाट चिनी बिक्री बन्द गराएको थियो । हाल साल्टले पनि ७० रुपैयाँमा बिक्री गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
डिर्पाटमेन्ट स्टोरले ५९ देखि ७२ रुपैयाँमा बिक्री गर्दा साल्टबाट भने महँगोमा बिक्री भएको थियो । वर्षौंदेखि चिनी बिक्री गर्दै आएको साल्ट ट्रेडिङको डिलर मूल्य ७३ रुपैयाँ निर्धारण गरिएको छ । तर, हाल प्रतिकिलो ७० रुपैयाँमै बिक्री गर्ने निर्णय भएको ट्रेडिङका विभागिक प्रबन्धक ब्रजेश झाले बताए । उनले यसअघि पनि ७० रुपैयमै बिक्री गरेको दाबी गरे ।
यस्तै, विभागले बिगमार्टलाई पनि ७० रुपैयाँभन्दा कम मूल्यमा बिक्री गर्न निर्देशन दिएको छ । भाटभटेनीले ५९ रुपैयाँमै उपलब्ध गराए पनि मार्टलाई पनि मूल्य घटाउन निर्देशन दिएको महानिर्देशक गौचनले बताए । यस्तै मन्त्रालयले उखु किसानको बक्यौता तत्काल भुक्तानी गर्न उद्योगीहरूलाई पत्र पठाउने निर्णय गरेको छ । १३ चिनी उद्योगमध्ये ७ उद्योगले भुक्तानी गर्न बाँकी छ । ती उद्योगहरूले २ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उखु उत्पादक महासंघले जनाएको छ । उद्योगीसँगै सरकारले पनि १ अर्ब २८ करोड बक्यौता भुक्तानी गर्न बाँकी रहेको महासंघको दाबी छ ।
प्रतिक्रिया