काठमाडौँ । कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेपछि डेढसय नेपाली अलपत्र परेका छन । सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनी डुबेपछि भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका हुन् ।
उनी कम्पनीका मुख्य सञ्चालक हुन् । कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा छैनन् । कतारको श्रम कानुनअनुसार कम्पनी टाट पल्टे कामदारको बक्यौता भुक्तानी गरी स्वदेश फर्काउनुपर्छ ।
सञ्चालक फरार भएकाले कामदारले खानासमेत पाएका छैनन् । भारतीय दूतावास, कतार च्यारिटी संस्था, लुलु हाइपरमार्केट, गोरखा सेवा समाज, लमजुङ सेवा समाजलगायतले उनीहरूलाई खानाको प्रबन्ध मिलाएका छन् । ९ सय जनाका लागि एउटै मेस छ । खाद्यान्न सहयोग मिलिरहेको छ । उनिहरुले चामल कम भएका बेला खिचडी बनाएर खाने गरेका छन ।
कामदारले गत मे महिनादेखि तलब पाएका छैनन् । कम्पनीमा १६ महिनादेखि ११ वर्षसम्म कार्यरत नेपाली छन् । हम्टानले एक वर्षदेखि कामदारलाई नियमित तलब दिन सकिरहेको थिएन । पहिला ६ सयभन्दा बढी नेपाली थिए तर कम्पनीले तलब दिन नसक्दा धेरैले छाडेर गएका थिए ।
उनीहरू बस्ने क्याम्प साहनियास्थित मरुभूमिमा छ । मुख्य सडकबाट ७ किमिभित्र कम्पनीको क्याम्प छ । सरकारी सुविधाको पानी र बिजुली छैन । जेनेरेटर चलाएर बिजुली बाल्दै आएका छन् ।
पीडितका तर्फबाट ३६ नेपाली कामदार मंगलबार नेपाली दूतावास पुगेका थिए । दूतावासले कतारमै रहने र नेपाल फर्कन चाहनेको सूची तयार भइरहेको जनाएको छ । दुतावासले अर्को कम्पनी जान चाहने रोजगारदाता परिवर्तन गरिदिन सहजीकरण गरेको छ ।
कामदारले टिकट दूतावासबाटै मिलाउन आग्रह गरेका छन । उनीहरूले वैदेशिक रोजगार कल्याणकारी कोषबाट हवाई टिकट व्यवस्था गरिनुपर्ने बताए । नेपाल सरकारले टिकट दिन नसक्ने दूतावासले जनाएको छ । समस्या समाधान गर्न कतारी निकायसँग समन्वय भइरहेको पनि दूतावासको भनाइ छ ।
विवाद समाधान समितिले २१ दिनभित्र फैसला सुनाइसक्ने सूचना दिएको पीडितले बताएका छन् । उनीहरूका अनुसार समितिले कम्पनीका मालिकलाई बोलाए पनि उपस्थित भएका छैनन ।
हम्टानले कतारमा निर्माणाधीन अल एनडालुस स्कुल, कतार आर्मी फोर्स, एविकेको २ सय १४ भिल्ला, अलगरफास्थित ३३ वटा भिल्ला र अलरायनस्थित ३० भिल्ला बनाउन कामदार पठाएको थियो ।
प्रतिक्रिया