गत साता राष्ट्रकवि माधवप्रसाद घिमिरेको १००औँ शुभजन्मोत्सव भव्य रूपमा मनाइयो । राष्ट्रप्रमुख विद्यादेवी भण्डारी स्वयं उपस्थित भएर कविवरको शुभजन्मोत्सवमा शुभकामना दिइन् । अन्य शुभेच्छुकहरू पनि बाक्लो रूपमा उपस्थित भएर उत्साहका साथ कविवरको जन्मोत्सवमा शुभकामना दिए । उपस्थित हुन नसकेकाहरूले आआफ्नै ठाउँबाट, सामाजिक सञ्जालबाट शुभकामना दिए ।
नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील दुई मूर्धन्य स्रष्टा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशी शताब्दी पुरुष बनेका छन् । राष्ट्रकै महत्वपूर्ण सम्पत्ति र गहनाका रूपमा रहेका छन् यी दुई व्यक्तित्व । यसर्थ राष्ट्र र नागरिकका तर्फबाट समेत अत्यन्तै सम्मानित पनि बनेका छन् उनीहरू ।
स्रष्टा, कलाकार भनेका राष्ट्रका गहना हुन्, अमूल्य निधि हुन् । यिनको संरक्षण, सम्मान र प्रोत्साहन राज्यको दायित्व हो– आमनागरिकको समेत । कलाकार र स्रष्टाले सधैँ मुलुकका भाषा, साहित्य र कलाको विकास, विस्तार र संरक्षण गरिरहेका हुन्छन् । उनीहरूकै कारण भाषा, साहित्य र कलाले फस्टाउने, फुल्ने र विस्तारित हुने मौका पाउँछ र मुलुक र जनताले गर्व गर्न पाउँछन् ।
तर हामीकहाँ स्रष्टा, कलाकारलाई हेर्ने फरकफरक आँखा देखिए । हामी जात, वर्ग, लिंग, वर्ण, धर्म, राजनीतिका आँखाबाट कलाकार र स्रष्टालाई हेर्न थाल्यौँ । स्रष्टाको सिर्जना वा कलाकारको कला हाम्रा प्राथमिकतामा पर्न सकेनन् बरु उसका अनुहार, जात, धर्म, लिंग, वर्ग, राजनीतिक आबद्धता आदि उसको क्षमता, प्रतिभा, योगदान मापनका आधार बन्दै गए । यसको परिणति– कलाकार र स्रष्टाले यीमध्ये कुनै न कुनै रङको, कुनै न कुनै जातको, कुनै न कुनै धर्मको, कुनै न कुनै वर्गको, कुनै न कुनै लिंगको, कुनै न कुनै राजनीतिक दलको हुनुपर्ने भयो । होइन भने स्रष्टा वा कलाकार नै नहुने अवस्था आयो ।
सन्दर्भ पुनः राष्ट्रकविकै । नेपाली पद्यसाहित्यका महारथि हुन्– माधवप्रसाद घिमिरे । खण्डकाव्य र गीतिनाटकबाट जनमनमा बसेका घिमिरेले केही अत्यन्तै मार्मिक गीतहरू पनि रचना गरेका छन् । उनको यो एक शताब्दी लामो साहित्यिक यात्रामा अहिले पहिलो महाकाव्य ‘ऋतम्भरा’ लेखिरहेका छन् उनी । ‘गौरी’ शोककाव्य, ‘राष्ट्रनिर्माता’ खण्डकाव्य, ‘मालती–मंगले’ गीतिनाटक, ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’, ‘किन्नर–किन्नरी’ उनका काव्यहरू हुन् ।
नेपाल प्रज्ञाप्रतिष्ठान (तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान) मा लामो समय सदस्यदेखि कुलपतिसम्म रहेर नेतृत्व गरेका घिमिरेका बारेमा विगतदेखि नै विभिन्न सन्दर्भहरू उठ्दै आएका छन् । उनका प्रशंसक र आलोचक दुवै सतहमा देखिँदै आएका छन् । प्रशंसकहरू उनका सिर्जना पढेर/सुनेर एउटा कुशल र जनमनका स्रष्टाका रूपमा सम्मान गर्दै आएका छन् भने आलोचकहरूले मूलतः दुई किसिमले उनको आलोचना गर्दै आएका पाइन्छ । एक पक्ष कविताको ‘आधुनिक धार’, जो पद्यकविता बुझ्दैन, पद्यकविताको रस लिन जान्दैन/सक्दैन, त्यो धारले उनको तीव्र आलोचना गर्दै आएको छ । अर्कातर्फ राजनीतिक कवि/साहित्यकारहरू, जो स्रष्टा कम र पार्टी कार्यकर्ता बढी रहँदै आएका छन् । कविता भनेको नारा, उत्तेजना वा आक्रामक शब्दको जञ्जाल हो भन्ने मानसिकता भएकाहरू यस कोटिमा पर्छन् ।
पद्य कविताका आलोचक विशेषगरी गद्यकवितामा रमाइरहेकाहरू हुन् र उनीहरू माधव घिमिरेका कविता/काव्यलाई पुरातन साहित्यको संज्ञा दिन्छन् । तर दुर्भाग्य, माधव घिमिरेका हरेकजसो काव्य/गीत जनजिब्रोमा झुन्डिइरहँदा उनका आलोचकका दुई पंक्ति पनि जनजिब्रोमा टाँसिन सकेका छैनन् । तर आलोचनाका निम्ति उनै अगाडि छन् । उखु भन्ने चिज हुन्छ, जसमा धारिलो बोक्रा हुन्छ, त्यसलाई दाँतले ताछेर भित्रको भाग चपाएर मात्र गुलियो रस लिन सकिन्छ । जसका दाँत छैनन् वा जसले उखुको बोक्रा ताछेर भित्रको भाग चपाउने सामथ्र्य राख्दैन, त्यसले उखुको स्वाद थाहै पाउँदैन । अनि उसले भन्ने भनेको ‘उखुको कुनै स्वाद हुँदैन/छैन’ नै हो । पद्यसाहित्य पनि उखु जस्तै हो, जसलाई राम्ररी भिजेर गहन रूपले पढेर मात्र महसुस गर्न सकिन्छ । पद्यको लालित्य बुझ्न सजिलो पनि छैन, यसका लागि पाठक स्वयं कवि पनि बन्नुपर्ने हुन्छ । विभिन्न छन्दको ज्ञान/छन्दका लयको ज्ञान भएमा मात्र पद्यसाहित्य छिचोल्न र रस लिन सकिन्छ । तब अहिले कोरा नारा र उत्तेजनालाई उत्तम कविता मान्ने जमातमा माधव घिमिरेहरू आलोचित बन्नु कुनै अनौठो विषय भने होइन ।
यसरी नै उनका आलोचकको अर्को समूह छ– राजनीतिक कार्यकर्ताहरूको, जो कुनै न कुनै राजनीतिक दलका सक्रिय सदस्य छन् । उनीहरूले घिमिरेलाई आलोचना गर्ने शब्द हो– मण्डले वा राजावादी । पञ्चायतकालमा आफ्नो सक्रिय जीवन बिताएका कविवर घिमिरे सरकारी निकायमा पटकपटक नियुक्त भए । राजा महेन्द्रका निकट रहे । वीरेन्द्रका पनि निकट नै रहे । समग्रमा तत्कालीन दरबारका निकट रहे, यो यथार्थ हो । र, त्यस समयमा राजनीति गर्न/व्यवस्था परिवर्तन गर्न/फरक राजनीतिक सत्ता स्थापना गर्न भनेर कफन बाँधेर हिँडेका केही औँलामा गन्न सकिनेहरूबाहेक कसले राजाको विरोध गर्यो ? कसले ‘गणतन्त्र’को वकालत गर्यो वा राजको गद्दीमाथि धावा बोल्यो ? अनि माधव घिमिरे मात्र राजावादी/मण्डले ? वा त्य स समयमा राज्यको (अझ भनुँ राजाको) नुन खानेहरू सबै नै राजावादी नै हुन् न मण्डले नै हुन् ।
अब छिरौँ प्रसंगमा । किन माधवप्रसाद घिमिरे राजावादी/मण्डलेको आरोप खेपिरहन बाध्य भए ?
केही समयअघि राष्ट्रकवि घिमिरेसँग यस विषयमा निकै बेर कुरा भयो पंक्तिकारको । कुरै कुरामा प्रसंग निकालियो– राजावादी वा मण्डलेको आरोप कहिलेसम्म लागिरहला ?
उनले एउटा रोचक घटना सुनाए, जुन धेरैलाई थाहा नहुन सक्छ । उनको ‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली/जयजय जयजय हे नेपाल, सुन्दर शान्त विशाल’ कविता निकै लोकप्रिय थियो । धेरैका मुखमा यो कविता झुन्डिएको थियो । यही कविता राजा महेन्द्रको जन्मोत्सवको अवसरमा रेडियो नेपालबाट गाइने भयो तर ‘जयजय जयजय हे नेपाल’को ठाउँमा ‘जयजय जयजय हे महेन्द्र’ राखेर । यस कुराको सूचना कविवर घिमिरेलाई दिइयो । उनले यो कुरा स्वीकार गरेनन् र भने– ‘यो कविता कसैको भक्तिगानका निम्ति लेखिएको होइन, मेरो कविताको मर्म नबिगारियोस् ।’
यसपछि कुरा पुग्यो– तत्कालीन गृहमन्त्री विश्वबन्धु थापाकहाँ । मन्त्री थापा त्रिपुरेश्वर बस्थे । त्यहीँ बोलाइयो घिमिरेलाई । र, विश्वबन्धुले एकान्त कोठामा राखेर ‘धम्कीपूर्ण सल्लाह’ दिए । उक्त कविता ‘जयजय जयजय हे महेन्द्र’ भनेरै गाइने बताए । त्यसपछि कविवरले उही कुरा दोहोर्याए– ‘मैले मेरा कुनै पनि सिर्जना कुनै शासक वा कोही कसैको भक्तिगानका निम्ति लेखेको होइन, मेरो यस कुरामा सहमति छैन ।’ यति भनेर कविवर मन्त्री निवासबाट बाहिरिए । तर उनको कविता बिगारियो, राजा महेन्द्रको भक्तिगानमा उक्त कविता कविवरकै शब्दमा ‘दुरुपयोग’ गरियो । यसपछि विश्वबन्धु थापासँग कविवरको सम्बन्ध राम्रो हुन सकेन ।
तर यो प्रसंग उनले भन्दै हिँडेनन् कतै । प्रष्टीकरणको आवश्यकता पनि ठानेनन् । अब सय वर्षको उमेरमा उनलाई कसले के भन्छ र के गर्छसँग खासै सरोकार हुने कुरा पनि भएन । यद्यपि, उनी अझै पनि त्यही समयको धङधङीको ट्याग ‘मण्डले’/‘राजावादी’ बोकिरहन बाध्य छन् ।
अर्काथरी पनि छन् घिमिरेका आलोचक, जो उनलाई ‘खुराफाती’ ठान्छन् । उनीहरूका अनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटासँगै तत्कालीन सोभियत संघको तासकन्दमा भएको साहित्य सम्मेलनमा देवकोटाले गरेको भाषणलाई लिएर घिमिरेले राजा महेन्द्रलाई ‘देवकोटा त कम्युनिस्ट भएछन्’ भनेर सुनाएका थिए रे ! र, त्यही कारण देवकोटालाई ‘माइनस’ गरेर घिमिरे राजा महेन्द्रसँग नजिक भएर ‘महाकवि’को ठाउँ लिन चाहन्थे रे ! यो हो भने पनि दुई समकालीन प्रतिस्पर्धीबीच सामान्य कुरा हो । यसकै आधारमा उनका सिर्जना वा सिर्जनशीलतामाथि प्रश्न उठाइनु बेवकुफी मात्र हो । त्यो व्यक्तित्व र अवसरको टकराव थियो, नकि सिर्जना वा सिर्जनशीलताको । अनि यस्ता टकराव जहिल्यै र जुनसुकै अवस्थामा समकालीनबीच भइरहेकै छन् । अझ आज त यस्तो झनै बढी देखिन्छ ।
अनि अर्को रमाइलो कुरा– जो जसले माधव घिमिरे, जो नेपाली पद्यसाहित्यका महान् व्यक्तित्व हुन्, उनलाई मण्डले र राजावादी भनिरहेका छन्, उनीहरू स्वयं भने राजा ज्ञानेन्द्रको महत्वाकांक्षी निरंकुश शासनको विरुद्ध भइरहेको २०६२/०६३ को जनआन्दोलनमा ‘गोरु गाडा चढेर अमेरिका पुगिँदैन’ भनेर राजतन्त्र अन्त्य वा गणतन्त्रको ‘सपना’ नदेख्न भन्दै भाषण गर्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘महान् राष्ट्रवादी’ र ‘महान् गणतन्त्रवादी’ भन्दै भक्तिभजनमा लिप्त छन् ।
अन्त्यमा,
स्रष्टा सिर्जनाले बाँच्छ, कलाकार कलाले । स्रष्टा स्रष्टा नै हो, कलाकार कलाकार नै हो, चाहे जुनसुकै जात, धर्म, वर्ग, लिंग, वर्ण, समुदाय वा राजनीतिक आस्थाको होस् । हरेक मान्छेका पेटभित्र फोहोर छ, हरेक मान्छेको रूप रङ र स्वभाव फरक छ । विचार र दर्शन फरक छ । देखाइ र भोगाइ फरक छ । बुझाइ र हेराइ फरक छ । हरेक स्रष्टा र कलाकारको पनि यी कुराहरूमा फरक छ । यसर्थ, हामीले स्रष्टाको सिर्जना, कलाकारको कला हो हेर्ने, बाँकी कुरा तपसिलका हुन् । र, ती कुरालाई उचालेर एउटा सय वर्ष उमेर पुगेका स्रष्टाको अपमान गर्नु कुनै पनि हालतमा उचित ठहर्दैन ।
प्रतिक्रिया