काठमाडौं । पोखरा प्रिमिएर लिग ९पीपीएल० ट्वान्टी –२० क्रिकेट प्रतियोगिताको पहिलो संस्करणका लागि १ सय ७९ खेलाडीले नाम दर्ता गराएका छन् ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले असोज २ गतेबाट नाम दर्ताका लागि अनलाइन आवेदन खुला गरेको थियो । एक साता समयसीमा तोकेको आयोजकले खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा बर्गिकरण गरेको थियो । त्यसमध्ये क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७ र अनक्याप्डमा ९२ खेलाडीले खेल्नका लागि आवेदन दिएका छन् । क्याप्ड सिनियरमा नेपालको सिनियर टोलीबाट खेलिसकेका खेलाडी छन् भने क्याप्ड एज लेभलमा नेपालको विभिन्न उमेर समूहबाट खेलेका खेलाडी छन् । अनक्याप्डमा स्थानीय खेलाडीलाई राखिएको छ ।
खेल्नका लागि आवेदन दिएका खेलाडीको अक्सन आगामी आइतबार हुनेछ । प्रतियोगितामा एउटा टोलीले कम्तिमा १५ र बढीमा १८ खेलाडी अनुबन्ध गर्न पाउनेछन् । जसमा अक्सनबाट कम्तिमा १० खेलाडी अनुबन्ध गर्नुपर्नेछ । अक्सनमा एउटा टिमले अधिकतम १३ लाख रुपैयाँ खर्च गर्न पाउनेछ ।
क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य ५० हजार रुपैयाँ राखिएको छ भने अधिकतम मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको छ । क्याप्ड एज लेभलको न्यूनतम मूल्य पनि ५० हजार रुपैयाँ र अधिकतम मूल्य १ लाख ५० हजार निर्धारण गरिएको छ । अनक्याप्ड खेलाडीको न्यूनतम मूल्य ३० हजार र अधिकतम मूल्य १ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
अक्सनबाट बाहेक एक टिमले एक मार्की खेलाडी, २ जना विदेशी खेलाडी र २ जना स्थानीय आइकन खेलाडीलाई राख्नुपर्नेछ । पोखरामा कात्तिक ९ देखि २० गतेसम्म चल्ने पीपीएलका लागि आयोजकले बिहीबार सहभागी ६ टिमका मार्की प्लेएर र टिम मालिकको नाम सार्वजनिक गरेको थियो ।
चितवन राइनोजले राष्ट्रिय टोलीका कप्तान पारस खड्का मार्की प्लेयर बनाएको छ भने विराटनगर टाइटन्सले युवा लेग स्पिनर सन्दीप लामिछानेलाई मार्की प्लेयर बनाएको छ । राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल हुलास काठमाडौं रोयल्सको मार्की प्लेयर हुन् भने शरद भेषावकर पोखरा पल्टनको मार्की खेलाडी हुन् । यु–१९ टोलीका कप्तान दिपेन्द्रसिंह ऐरी एक्पर्ट धनगढी ब्लुजको मार्की खेलाडी बनेका छन् भने सोमपाल कामीलाई बुटबल ब्लास्टर्सले मार्की प्लेयर बनाएको छ ।
प्रतिक्रिया