काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले विसं २०७२ देखि सार्वजनिक यातायातको भाडा समायोजन नगरिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहमति लिएर १० प्रतिशत भाडा बढाइएको बताएका छन ।
सार्वजनिक यातायातमा ९९ प्रतिशत निजी लगानी भएकाले व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । विभागका निर्देशक प्रेम सिंहले विसं २०६५ देखि लागू गरिएको वैज्ञानिक भाडादरमा १४ सूचकका आधारमा भाडा समायोजन गर्ने व्यवस्था गरिएको बताए ।
पेट्रोलियम पदार्थको मात्र हिसाब गर्दा पनि अहिले ११ देखि १६ प्रतिशतसम्म भाडा बढाउनुपर्ने भएपनि हाल १० प्रतिशत मात्र वृद्धि गरिएको सिंहले बताए ।
केन्द्रीय संसद्को विकास तथा प्रविधि समितिले चाडबाडमा सहज, सुलभ र सुरक्षित रुपमा सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको बैठकपछि मन्त्रालयलाई निर्देशन दिँदै सभापति कल्याणीकुमारी खड्काले अग्रिम टिकट बुकिङ लाई पारदर्शी बनाउन, महङ्गो र ‘ब्ल्याक’ मा टिकट बेची क्षमताभन्दा बढी यात्रु नराख्न निर्देशन दिइन् ।
चाडबाडमा बढी दुर्घटना हुने गरेकाले सडक सुरक्षामा ध्यान दिन, सडकमै सवारीको ‘फिटनेस’ जाँचको व्यवस्था मिलाउन, ‘टाइम कार्ड’ लागू गर्न र नागरिकको सुरक्षित रुपमा यात्रा गर्न पाउने अधिकारको प्रत्याभूति दिलाउन सरोकारवाला निकायलाई निर्देशन दिएको खड्काले बताइन् ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नवीकरण नगरिएका समितिको बैंक खाता नखोल्ने बताए । कानून अनुसार समिति खारेज भएपछि खातामा रहेको पैसा सरकारको हुन्छ ।
यसलाई के गर्ने भन्ने विषयमा सरकारले निर्णय गर्छ र सरकारले निर्णय गरे यो पैसाबाट यातायात क्षेत्रकै सुधारको काम गर्न सकिन्छभन्दै महासेठले समितिका बैंक खाता रोक्का रहेको र कम्पनीमा पनि गइनसकेकाले यसबीचमा भएका दुर्घटनाको उपचार खर्च दिन प्रमुख जिल्ला अधिकारीले छानविन गरी सरकारले सिधै पीडितलाई दिने गरी निर्णय गरेको जानकारी दिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले वडादशैँमा २० देखि २५ लाख यात्रु उपत्यका बाहिरिने गरेकाले सहजरुपमा यात्रा गराउनु चुनौतीपूर्ण हुने गरेको बताए ।
प्रतिक्रिया