काठमाडौँ । आगामी दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि प्रतिव्यक्ति २१ हजार रुपैयाँसम्मका दरले नयाँ नोट सटही सुविधा दिने तयारी भएको राष्ट्र बैंकले जनाएको छ ।
सर्वसाधारणले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मी प्रपन्न निरौलालले जानकारी दिएका छन ।
राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट साटिदिने तयारी गरेको निरौलालले बताए । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ गतेदेखि (बिहीबार) देखि नयाँ नोट वितरण गर्दै छ ।
बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि २१ गतेदेखि मात्र सर्वसाधारणलाई वितरण सुरु गर्नेछन् । यो वर्ष पनि नयाँ नोटका लागि राष्ट्र बैंकमै आउनुपर्ने बाध्यता नरहेको निरौलाले बताए ।
नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणले नयाँ नोट साट्न सक्ने उनको दाबी छ ।
ती बैंकहरूलाई पनि प्रतिव्यक्ति २७ हजारका दरले नोट साट्न निर्देशन दिएको उनले बताए । बैंकहरूले राष्ट्रबैंकबाट लिएको पैसा सर्वसाधारणलाई वितरण गरेर गरेनन् भन्ने बारे हरेक दिन सबै शाखाहरूमा गएर नियमन तथा सुपरिवेक्षण हुने भएको छ ।
यसबाट यो वर्ष विगतमा जस्तो अन्य बैंकहरूबाट नयाँ नोट पाइएन भन्ने गुनासो नआउने दाबी राष्ट्रबैंकको छ । एउटै व्यक्तिले पटकपटक नलिउन र अन्यथा आफूलाई पायक पर्ने सरकारी र निजी बैंकको शाखाहरूबाट सजिलै नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएको राष्ट्रबैंकले जनाएको छ ।
असोज २१ देखि २९ गतेसम्म ५, १०, २० र ५० का दुईरदुई र १ सय दरका एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजारका दरले सटही सुविधा उपलब्ध गराइने भएकाले आफूलाई पायक पर्ने नजिकको बैंकबाट सटही गर्नु हुन अनुरोध गरिन्छ राष्ट्र बैंकको सूचनामा पनि भनिएको छ ।
राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको थियो । सोही अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थालाई ५० अर्ब रुपैयाँ बराबरको नयाँ र सुकिला नोट वितरण गरेको थियो ।
नोट सटही गर्दा सर्वसाधारण वा संस्थबाट पुराना नोट लिएर नयाँ नोट दिइन्छ । यसको अर्थ नोट सटही गर्दा बजारमा मुद्राको आपूर्ति बढदैन । तर, विभिन्न संघसंस्थालाई भुक्तानी दिँदा ती संस्थाहरूको खातामा रहेको रकम बाहिर जाने हो ।
यस्तो भुक्तानीमा बजारमा मुद्रा आपूर्ति बढछ । ‘यो वर्ष गत वर्ष वितरण गरेकै रकममा हालको मुद्रास्फीति दर बराबरको बढाउने योजना छ । अनावश्यक रूपमा बजारमा नोट नजाओस् भन्ने राष्ट्र बैंकको उद्देश्य रहेको छ ।
काठमाडौं उपत्यकाभित्र नेपाल बैंकको न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सर्वसाधारणले नयाँ नोट सटही गर्न सक्नेछन् ।
यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिहदरबार, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्सान, कलंकी र बालाजु शाखाबाट र कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखाबाट नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी उपत्यका बाहिरका उपभोक्ताले पनि असोज २१ देखि नै नयाँ नोट सटही सुविधा पाउनेछन् । मोफसलमा राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय कार्यालयहरूबाट तथा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको हो । ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजत गरौं’ भन्दै राष्ट्र बैंकले उक्त आग्रह गरेको हो ।
सरकारले गरेको पछिल्लो व्यवस्थाअनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन । यसो गरेको भेटिएमा प्रहरीले सिधै पक्राउ गरी तीन महिनासम्म जेल हाल्न र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्ने छुट कानुनमा छ ।
प्रतिक्रिया