देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विधेयक पारित नभए अनशन बस्छुः डा.केसी

देशान्तर

काठमाडौँ । डा.गोविन्द केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक संसदको चालू अधिवेशनबाटै पारित नभए १६ औं अनशन बस्ने चेतावनी दिएका छन् ।

संसदको चालू अधिवेशनबाट विधेयक पारित नहुने संसदको स्वास्थ्य तथा शिक्षासम्बन्धी समितिका सभापतिको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै केसीले पुनःअनशन बस्ने चेतावनी दिएका हुन् ।

उनले अब हुने सत्याग्रह चिकित्सा शिक्षा र सेवा मात्र नभइ कुशासन गर्ने सबैविरुद्घको लडाइँ हुने बताए । चालु अधिवेशन लम्ब्याएर वा जसरी होस् चिकित्सा शिक्षा विधेयक पारित भएन भने म १६ औं अनशन गर्न बाध्य हुने केसीले बताएका छन ।

उनले आज (बिहीबार) संसद् अधिवेशन अन्त्य गर्ने खेल हुँदैछ । चिकित्सा विधेयक पारित नगर्ने षडयन्त्र भयो भने आफु अनसनमा बस्ने बताए ।

उनले आफूसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार उदासीन रहेको आरोपसमेत लगाए । आफ्नो स्वार्थ पूरा नहुने भएपछि विधेयक तुहाउने र अलमल्याइराख्ने षडयन्त्र संसदमा सुरु भएको उनले दाबी गरे ।

संसदबाट समितिमा र समितिबाट उपसमितिमा पठाएर यतिका दिनसम्म विधेयकबारे गम्भीर छलफल नहुनुले षडयन्त्रलाई थप पुष्टि गरेको उनको भनाइ छ ।

१५ औं सत्याग्रहमा प्रधानमन्त्री केपी ओलीको निर्देशन तथा नेकपाका उपनेता सुवास नेम्वाङ र महासचिव विष्णु पौडेलको उपस्थितिमा आफ्ना सबै सुझाव समेटेर विधेयक पारित गर्ने सम्झौता भएको डा.केसीले बताए ।

मुलुकमा शिक्षा र स्वास्थ्य क्षेत्रमा दशकौंसम्म व्यापारिक स्वार्थ बोकेका नेता र माफियाको मिलेमतोमा अनियन्त्रित व्यापारीकरण भएको र नियामक निकायमा दलीय भागबन्डा र भाँडभैलोले गर्दा दुवै क्षेत्रको गुणस्तर खस्किएको उनले जनाए । कान्तिपुरमा खबर छ ।