देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अख्तियारमा नवीन अपेक्षा

देशान्तर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो रिक्तता पछि प्रमुख आयुक्त पाएको छ । पूर्वगृहसचिवका रूपमा लामो प्रशासनिक अनुभव भएका र अख्तियारमै बसेर आयुक्तको जिम्मेवारी निर्वाह गरिसकेका नवीनकुमार घिमिरेले अख्तियारको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । यो उनका लागि प्रभावकारी काम गरेर देखाउने महत्वपूर्ण अवसर हो ।

सार्वजनिक पदमा रहेर गैरकानुनी काम गर्ने उपर उजुरी सुन्ने, सो माथि अनुसन्धान गर्ने र तत्पश्चात् मुद्दा दायर गर्ने सम्पूर्ण अधिकार बोकेको शक्तिशाली निकाय हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।

सामान्यतया राजनीतिक दलका शीर्ष नेता, प्रहरी, कर्मचारी, सार्वजनिक संस्थानलगायतमा काम गर्नेहरूले अख्तियारमा हुने नेतृत्व परिवर्तनलाई सूक्ष्म रुपमा हेरिरहेका छन् । अझ केही भ्रष्टहरू त आफ्नो अनुकूलको नेतृत्व ल्याउन ठूलै चलखेलमा समेत लाग्ने गर्छन् ।

यसपटक पनि त्यस्ता प्रयासहरू नभएका भने होइनन् । तर, त्यो सबै दुष्प्रयासहरूलाई चिर्दै आयोगको नेतृत्व गर्ने अवसर घिमिरेलाई प्राप्त भएको छ । उनीस“ग बढ्दो भ्रष्टाचारले आक्रान्त बनेका आम नेपाली नागरिक र सेवाग्राहीहरूले आशाको नजरले हेरेका छन् ।

परीक्षामा उनी कति खरो उत्रन्छन् ? त्यो हेर्न भने केही समय कुर्नैपर्ने हुन्छ । अपेक्षा गरौं, उनको कार्यकाल अघिल्ला प्रमुख आयुक्त लोकमानसिंह कार्कीको जस्तो अप्रिय नबनोस् ।

अहिले बजारमा चर्चा ‘ठूलो माछा’को हुने गर्छ । अर्थात् ठूला भ्रष्टाचारीहरू जोगिने र साना भरियाहरूमात्र अख्तियारले देख्ने गरेको गुनासो सुनिन्छ । यस्ता आम नागरिक तहमा रहेको अख्तियारप्रतिको घट्दो विश्वासलाई जागृत गर्न सक्नुपर्छ । अर्कोतर्फ भ्रष्टाचारीहरूको मनोबल दिनप्रतिदिन बढ्दो छ ।

उनीहरूको मनमा कारबाहीको त्रास सिर्जना गर्दै भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउन र भ्रष्टाचारी मनोविज्ञान उत्पन्न हुने परिस्थिति बन्न नदिन आयोगका प्रमुख आयुक्तको मुख्य कर्तव्य हो । त्यसतर्फ नया“ नेतृतवस“ग सिंगो नेपाली समाजले ठूलो अपेक्षा गरेको छ ।

देशमा दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकार छ । देशका ‘ठूला माछा’हरू अहिले संरक्षण हुने आसमा त्यतातिर सरेका छन् । कम्युनिस्ट पार्टीका प्रभावशाली नेतामार्फत सरकारलाई प्रभावमा पार्दै अख्तियारको कामकारबाही प्रभावित गर्ने योजनामा उनीहरू सक्रिय छन् ।

बहुचर्चित माओवादी शिविर घोटाला प्रकरणजस्ता कम्युनिस्ट नेताहरू मुछिएका दर्जनौं उजुरीका फाइलहरू अहिले पनि अख्तियारको दराजमा थन्किएका छन् । ती फाइलमा लागेको धुलो टक्टक्याएर छानबिन प्रक्रिया थाल्नु अपरिहार्य छ ।

यसतर्फ प्रमुख आयुक्तको ध्यान पुग्नेछ र भ्रष्टाचार गरेर मोजमस्ती गरिरहेका ठूला माछाहरूको नीदहराम गर्न घिमिरे लाग्नेछन् भन्ने आम अपेक्षा छ ।

एक संवैधानिक आयोगका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग एउटा संरचनामात्रै होइन । स्थिर राजनीतिक व्यवस्था प्राप्त गरिसकेपछि नेपाली समाजले सुशासन खोजेको छ । अख्तियारको क्रियाशीलता नेपाली समाजमा सुशासन स्थापित गराउनका लागि हुनुपर्नेछ ।

अख्तियारको काम गराइले नै समृद्ध नेपालको सम्भाव्यता निर्देश गर्छ । सरकार बलियो र एकमना भएकै बेला शक्ति दुरुपयोगको सम्भावना हुन्छ । यस्तै बेला राजनीतिक आडमा भ्रष्टाचार र कुशासन मौलाउन सक्छ । अख्तियारको नेतृत्वले यसलाई ख्याल नगरेमा सुशासन कागजमा मात्रै सीमित हुनेछ ।

विश्वभर मुख्य समस्याको रूपमा रहेको राजनीतिक भ्रष्टाचार नेपालबाट पनि निर्मूल पार्नुपर्ने हुन्छ । त्यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग खरो उत्रन जरुरी छ ।

राजनीतिक प्रभाव र दबाबबाट मुक्त भएर भ्रष्टलाई सजाय दिलाउ“दै भ्रष्टाचार अन्त्यका लागि घिमिरेको कार्यकाल उपलब्धिमूलक बन्नुपर्ने आवस्यकता पनि देखिएको छ ।