देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्युत खरिदका लागि प्राधिकरण र कुन्बाङ खोला जलविद्युत आयोजनाबीच सम्झौता

देशान्तर

काठमाडौं । कुनबान खोला जलविद्युत आयोजनाको विजुली खरिद गर्न विद्युत प्राधिकरणसँग सम्झौता (पिपिए) भएको छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले हिउँदमा (पुसदेखि चैतसम्म) ८ रुपैयाँ ४० पैसा र बर्षात (बैशाखदेखि मंसिरसम्म) ४ रुपैयाँ ८० पैसा प्रतियुनिटका दरले खरिद गर्ने छ ।  आयोजना सुस्मित इनर्जीले निर्माण गर्न लागेको हो ।

सम्झौतामा आयोजना प्रबर्धक इनर्जीका अध्यक्ष सुशिल पोखरेल र प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले हस्ताक्षर गरेकाछन् । म्याग्दीको मुडी गाउँपालिकामा निर्माण हुने आयोजनाको क्षमता २० मेगावाट हुने कम्पनीले जनाएको छ। खरिद सम्झौतापछि निर्माण कार्य तीब्र रुपमा अगाडि बढ्ने आयोजना प्रबर्धक शुसिल पोखरेलले बताए।

‘हामी दशैंलगत्तै आयोजना स्थलसम्मको पहुँच मार्ग निर्माण सुरु गर्ने छौं,’ उनले भने ।  आयोजनासम्म पुग्न म्याग्दीको खारादेखि २२ किलोमिटर सडक निर्माण गर्नुपर्छ । कुनबान खोलामा बहने पानीबाट विजुली निकालिने उक्त आयोजनाको बाँध म्याग्दीको मुदी गाउँपालिकाको दोभानमा निर्माण हुने पोखरेलले जानकारी दिए।

आयोजनाले बार्षिक १ सय १५.५१ गिगावाट विद्युत उत्पादन गर्ने छ । यसले बर्षतमा १७.५५ गिगावाट र हिउँदमा ९७.९६ गिगावाट उत्पादन गर्ने कम्पनीको भनाइ छ। उत्पादित विजुली २० किलोमिटर लामो प्रशारण लाईनहुँदै डाँडाखेतस्थित प्राधिकरणको प्रस्तावित १ सय ३२ केभिए सवस्टेशनमा ल्याएर जोडिने छ।

आयोजनाको कुल लागत ३ अर्ब ८० करोड रुपैयाँ हुने प्रबर्धक कम्पनीको अनुमान छ । आयोजनामा विभिन्न बैंकबाट ७० प्रतिशत ऋण र विकासकर्ता कम्पनीबाट ३० प्रतिशत स्वपुँजी लगानी जुटाइने छ।

‘हामी यसै बर्ष्भित्र लगानी जुटाइसक्ने छौं,’ सुस्मित इनर्जीका अध्यक्ष पोखरेलले भने, ‘अर्को बर्षदेखि निर्माणको काम सुरु हुने छ ।’आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर छुट्याएको छ । यस्तै सर्बसाधारण लगानीकर्तालाई १५ प्रतिशत सेयर वितरण गरिने निर्माणकर्ता कम्पनीका अध्यक्ष पोखरेलले जानकारी दिए ।