काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर प्रशासनका कर्मचारीलाई निष्ठापूर्वक काम गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री खतिवडाले कर असुलीमा कसैले औंला ठड्याउन नपर्ने गरी काम गर्न कर प्रशासनका कर्मचारीहरुलाई सचेत गराएका हुन् ।
सोमबार काठमाडौंको बबरमहलमा स्थापना गरिएको मध्यम स्तरीय करदाता कार्यालय उद्घाटन गर्दै उनले करदातालाई कर तिर्न जाउँजाउँ लाग्ने वातावरण बनाउन पनि करदाता कार्यालयहरुलाई आग्रह गरे । अर्थमन्त्री खतिवडाले कर प्रणालीलाई लगानीमैत्री बनाएर करको दायरा बढाउन सरकार सजग र सचेत रहेको पनि स्पष्ट पारे ।
अर्थमन्त्री खतिवडाले सबै व्यावसायिक संघ, संस्थाहरुलाई करको दायरामा ल्याउन कर कार्यालयहरुको स्थापनामा सरकारले जोड दिएको पनि स्पष्ट पारे । मन्त्रीपरिषदको गत असार २० गतेको निर्णय अनुसार सरकारले मध्यम स्तरीय करदाता कार्यालय स्थापना गर्न सुरु गरेको हो । २५ देखि ८० करोडसम्म कारोबार गर्ने व्यवसायीहरुको कर असुली गर्ने अधिकार मध्यमस्तरीय करदाता कार्यालयलाई दिइएको छ ।
प्रतिक्रिया