देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ : डा. जयराज आचार्य

देशान्तर

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष, प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा बीपी विचारका अध्येता, पूर्वराजदूत, प्राध्यापक डा.जयराज आचार्यसँग गरिएको विशेष कुराकानी–

बीपी कोइरालालाई कसरी स्मरण गर्नुहुन्छ ?
राजनीतिमा पनि कूटनीतिमा पनि एउटा सिद्धान्त छ यथार्थवादी र अर्को उदारवादी आदर्शवादी । बीपी कोइरालाचै उदारवादी आदर्शवादी राजनीतिज्ञ हुनुहुन्थ्यो । उदारवादी आदर्शवादी राजनीतिज्ञले वर्तमानको यथार्थलाई परिवर्तन गरेर भविष्यमा एउटा जुन आदर्श आफूले देखेको हुन्छ त्यो आदर्शबमोजिम परिवर्तन गर्न चाहन्छ । त्यही प्रयास गर्ने उदारवादी आदर्शवादी नेताका रूपमा म बीपी कोइरालालाई स्मरण गर्छु ।

बीपीलाई राजनीतिज्ञले राजनीतिक दृष्टिले, साहित्यकारले साहित्यिक दृष्टिले बीपीको व्याख्या गरेको पाइन्छ । बीपीको निधनको यत्तिका वर्षपछि आज सर्वसाधारण नेपालीले सम्झन चाहे भने बीपीलाई कुन रूपमा सम्झने ?

भारतीय पत्रकार त्रिशंकर मुखर्जीले कलकत्ताको अमृता बजार पत्रिकाका लागि बीपी कोइरालाको अन्तर्वार्ता लिनुभएको थियो । बीपीको निधनपछि छापिएको अन्तवार्तामा पत्रकार मुखर्जीले तपाईंलाई भावी पुस्ताले कसरी सम्झियोस् भन्ने चाहनुहुन्छ भनेर सोध्नुभएको छ । जवाफमा बीपीले अन्कनाएर भन्नुभएको छ, ‘खै कसरी सम्झने, सम्झनैपर्ने मैले के गरेको छु ? सम्झने नै भए असल मान्छेका रूपमा सम्झिए हुन्छ ।’ डेढ पेज लामो अन्तवार्तामा बीपीले ‘रिमेम्बर मि एज गुड म्यान’ भन्नु भएकोले साधारणले मान्छेले स्मरण गर्दा उहाँलाई असल व्यक्तिकै रूपमा हेर्नुपर्छ होला । बीपी बहुआयमिक व्यक्तित्व हुनुहुन्थ्यो । राजनीतिक व्यक्तित्वसँगै उहाँको साहित्यिक व्यक्तित्व पनि थियो । राजनीतिक, साहित्यक र दार्शनिक व्यक्तित्व बीपी कोइरालाको रहेको छ । यी सबै कोणबाट बीपीलाई स्मरण गर्नुपर्छ ।

क्रान्तिको नेतृत्व गर्ने बीपी कोइराला, नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रूपमा बीपी कोइराला र महेन्द्रको कदमपछि प्रजातन्त्र पुनस्र्थापनाका लागि संघर्ष गर्दा गर्दैको बीपी कोइराला । समग्रमा उहाँ सफल हुनु भयो कि असफल ?

यो प्रश्न पनि भोला चटर्जीले सोध्नुभएको थियो । भोला चटर्जीको अन्तवार्ता ‘दि टेलिग्राफ’ भन्ने कलकत्ताको पत्रिकामा छापिएको थियो । बीपीले भन्नुभयो, सफलता केलाई भन्ने ? कस्तोलाई सफलता भन्ने ? यदि मैले प्रजातन्त्र प्राप्तिका निम्ति संघर्ष गर्दा कुनै कुरा बाजी लगाउन बाँकी रहेको भए वा मैले कुनै कुरा बाजी राख्न नसकेर प्रजातन्त्र स्थापना नभएको भए म असफल हुन्थेँ होला । म दुःखी पनि हुन्थेँ होला । तर प्रजातन्त्र प्राप्तिको लडाइँ जित्न मैले मसँग भएका सबै कुरा बाजी राखें । मेरो जीवन बाजी राखें । कैयौं पटक म मृत्युको नजिक पुगें । जेल गएँ, निर्वासनमा गएँ र मृत्युदण्डको मुद्दाको सामना पनि गरें । यो सबै प्रक्रियामा मैले बाजी लगाउन बाँकी चिज केही थियो भने म असफल हुन्थेँ होला । त्यसैले मेरो कर्तव्यमा म चुकिनँ र मैले सकेको प्रयास गरेँ । त्यस कारणले मलाई सन्तोष छ । म सफल भएकै ठान्छु भनेर बीपीले भन्नुभयो । बीपीको निधनपछि दक्षिण भारतबाट छापिने ‘डेक्कन हेराल्ड’ भन्ने पत्रिकाको सम्पादकीयमा भनिएको छ, ‘अरू राजनीतिज्ञको सफलताभन्दा बीपी कोइरालाको असफलता धेरै उच्च कोटीको थियो । यसैबाट बुझ्न सकिन्छ कि बीपी कत्ति सफल हुनुभयो भन्ने कुरा ।

आज समाजवाद संविधानमा लेखिएको छ । सत्ता र प्रतिपक्ष दुवैतिर समाजवाद चर्चाको केन्द्रमा छ । यो त्यही समाजवाद त्यही हो जुन बीपीले भन्नुभएको थियो ?

अब अहिलेका नेताहरूले समाजवादलाई कसरी बुझेका छन् त्यो मलाई थाहा छैन । तर बीपी कोइरालाले २०१५ सालको चुनाव अगाडि नै समाजवादी अभियान थाल्नु भएको थियो । नेपालको सन्दर्भमा भूमिसुधार भयो, राजारजौटा प्रथा अन्त्य भयो, बिर्ता उन्मूलन भयो, गुठी जग्गा रैकर गर्ने कुरा भयो यो सबै कुरा बीपीले त्यो समयमा ल्याएको समाजवादी कार्यक्रम नै हो । अब अहिले राजा रजौटा छैनन् भूमिसुधार त्यसै अलपत्र अवस्थामा रह्यो । अब त भूमिसुधारको कुरा गर्दा के भुल्नुहुन्न भने युवाहरू खाडीमा गएका कारणले हाम्रा गाउँघरमा जग्गा बाँझो छ । अहिलेको सन्दर्भमा समाजवाद भनेको बिदेसिएका युवालाई गाउँ फर्काएर बाँझो जमिनलाई हराभरा बनाउनु नै हो । जोसुकै प्रधानमन्त्री भए पनि दैनिक १२–१५ सय नेपाली युवा बिदेसिएका छन् । अब गाउँको विकासलाई नै समाजवाद भन्नुपर्छ र जो गाउँको सर्वाङ्गीण विकासका लागि खटिन्छ उही समाजवादी हो भनेर बीपीले भन्नुभएको थियो । तर अहिले विडम्बना गाउँ उपेक्षित छ । कसैको ध्यान गाउँमा गएको छैन, सहर पनि अव्यवस्थित छ । त्यसैले गाउँको विकास नै समाजवाद हो भन्ने धारणालाई स्वीकारेर अहिले पनि त्यसैका लागि लागि पर्नुपर्ने आवश्यकता देखिन्छ ।

अहिले राष्ट्रियता विश्वव्यापी बहस र लहरको विषय बनेको छ । नेपालमा पनि बीपीभन्दा को राष्ट्रवादी भन्ने चर्चा अहिले पनि चलिरहन्छ । राष्ट्रियताको दृष्टिले बीपीलाई कसरी बुझ्ने ?

बीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ । राष्ट्रवादले राष्ट्रिय विकासको निम्ति सहयोग गर्न सक्नुपर्छ । अब अहिलेको राष्ट्रवादले राष्ट्रिय विकासमा के सहयोग गरेको छ ? यही प्रश्नको जवाफ खोज्नुपर्छ । उहाँको राष्ट्रियताको नारा यथार्थपरक थियो । जस्तो भनौं न बीपी प्रधानमन्त्री हुनुअघिसम्म १० राष्ट्रसँगमात्रै नेपालको कूटनीतिक सम्बन्ध स्थापित थियो । आफ्नो १८ महिने प्रधानमन्त्रीकालमा बीपीले नयाँ १६ राष्ट्रसँग नेपालको कूटनीति सम्बन्ध स्थापना गरेर २६ पुर्याउनु भयो । नेपालको परिचय विश्वजगत्मा बढाउनु भयो । यो एउटा सार्थक प्रयास थियो नेपालको राष्ट्रिय छविलाई अन्तर्राष्ट्रिय परिवेशमा स्थापित गराउने । अब अहिले एक सय ४० हाराहारी देशसँगै हाम्रो औपचारिक कूटनीतिक सम्बन्ध रहेको छ । तर अहिले यो कूटनीतिक सम्बन्धले नेपाललाई फाइदा भयो कि भएन ? यो प्रश्न टड्कारो छ । हाम्रो भारत र चीनसँगको सम्बन्ध कत्तिको सन्तुलित र फलदायी छ भन्ने कुराको विश्लेषण गरे नै अहिलेको राष्ट्रवादको मूल्यांकन गर्न सकिन्छ ।

समयक्रममा भारतको विरोध गर्नु नै राष्ट्रवाद जस्तो भइसकेको हो ?

यो भनईमा सत्यता छ । विगतमा पनि र अहिले पनि एक प्रकारले भारतको विरोध गर्नु नै राष्ट्रियताको पर्यायवाची जस्तो भएको छ । विगतमा राजाको विरोध गर्नु प्रजातन्त्रको पर्यायवाची हुन्थ्यो । भारतको विरोधले मात्रै राष्ट्रियता र राष्ट्रको विकास हुन सक्छ कि सक्दैन छुट्याउनुपर्ने बेला भएको छ । भारतको विरोध गरेर केही समय काम लाग्ला तर भारतमाथिको परनिर्भरता उत्तिकै बढेको छ । नेपालको ११ सय अर्बको नेपालको व्यापार घाटामध्ये सात सय ६४ अर्ब व्यापार घाटा त भारतसित मात्रै छ । निर्भरताको कुरा गर्ने हो भने बिमस्टेकपछि भारतको पहलमा संयुक्त सैनिक अभ्यासको तयारी भइरहेको छ । यसको विरोध पनि भइरहेको छ । सत्तारूढ दलभित्रै पनि विवाद बढेको छ । यो विषयलाई प्रधानमन्त्री र अन्य नेताहरूले कसरी प्रष्ट पार्नुहुन्छ सरोकारको विषय बनेको छ ।

तपाईंले आफ्नो एउटा लेखमा बीपी देशको आन्तरिक स्थिति, देशबाहिरको शीतयुद्ध र भारत–चीन तनावका कारण राजा महेन्द्रको सिकार भए भनेर लेख्नुभएको छ । यसलाई प्रष्ट पारिदिनुहोस् न ? 

हो । मैले हेर्दाखेरि प्रजातन्त्रको मामिलामा बीपी राजा महेन्द्रको सिकार हुनुभयो र राष्ट्रियताको सन्दर्भमा बीपी भारतको सिकार हुनुभयो । किनभने २०१७ साल पुस १ गतेको काण्डमा भारतको पनि मौन समर्थन रहेको देखियो । बीपीप्रति तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू असन्तुष्ट रहनुका धेरै कारणहरू देखिए । त्यसैको परिणामस्वरूप २०१७ साल पुस १ गतेको काण्ड भयो । मेरो अध्ययनमा यही देखिन्छ ।

कतिपयले एउटै जंगमा दुइटा सिंह भएजस्तै, महेन्द्र र बीपीको व्यक्तित्वको टकरावका कारण राजनीति सुध्रिएन भन्छन् । के महेन्द्र र बीपीको व्यक्तित्व तुलना हुन सक्छ ?

त्यतिखेर जान्नेबुझ्ने भइसकेको भए, युवा व्यक्तित्व भएको र उहाँहरूको व्यवहार देख्न जान्न पाएको भए भन्न सकिन्थ्यो । तर अध्ययनको अनुभवका आधारमा उहाँहरूबीच मुख्य कारक नै व्यक्तित्वको टकराव भएको जस्तो लाग्दैन । यद्यपि परम्परागत राज्य शक्तिको प्रतीक राजा महेन्द्र थिए । अर्कोतिर आधुनिक प्रजातान्त्रिक प्रणालीबाट उत्पन्न भएको राष्ट्रिय नेतृत्वलाई प्रतिनिधित्व गर्ने शक्ति बीपी हुनुहुन्थ्यो । त्यसैले थोरबहुत व्यक्तित्वको टकराव थियो पनि होला । यो कुरा मैले बीपीकै समकालीन नेताहरूलाई पनि सोधेँ । मेरो अध्ययनबाट बीपी र महेन्द्रको व्यक्तित्वभन्दा पनि बीपी र महेन्द्रसँग भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको व्यक्तित्व टकरावले चै धेरै असर पारेको हुन सक्छ ।

अहिले बीपी कोइरालापछिको सबैभन्दा शक्तिशाली सरकार देशमा रहेको छ । दुई तिहाइको यो सरकारसँग के अवसर, के चुनौती छ ?

अवसर त्यही हो दुई तिहाइ बहुमत छ । चुनौती चै के हो भने बीपीको जस्तो व्यक्तित्व, स्पष्ट भिजन र अन्तर्राष्ट्रिय छवि अहिले छैन । बीपीको समयमा देशका धेरै राजमार्गहरू बनेका थिएनन्, काठमाडौंभित्र पनि विकासको गति कम थियो । अहिले त हामी ६ दशक अगाडि बढिसक्यौं । अहिले त हामी सुविधासम्पन्न भइसक्नुप¥थ्यो । हिजोभन्दा खराब बाटो आज काठमाडौंमा छ । यी कारणहरूले गर्दा बीपीले नेतृत्व गरेको सरकार र अहिलेको सरकारको तुलना हुनै सक्दैन ।

‘राजासँग घाँटी जोडिएको’ भन्ने बीपीको भनाइलाई सबैले आफू अनुकूल व्याख्या गरेका छन् । यो राजतन्त्रप्रतिको बीपीको मोह हो वा रणनीतिक उद्धरण मात्रै हो ?

त्यो बीपीले राजासँग मेरो घाँटी जोडिएको छ भन्ने कुरा साहित्यिक अलंकारिक रूपमा भन्नुभएको हो । यथार्थमा प्रजातन्त्र र राजसंस्थाको भविष्य एउटै हो भन्नुभएको हो । आखिरमा यो पुष्टि पनि भयो । राजसंस्था कहिले समाप्त भयो त भन्दा जब राजाले प्रजातन्त्रको घाँटी निमोठे । राजाले प्रजातन्त्रको घाँटी निमोठ्दा राजसंस्था नै सकिन्छ भनेर दिएको चेतावनी दिनुभएको हो बीपीले । यो त ५ कक्षाको विद्यार्थीले पनि बुझ्न सक्छ । यसलाई बंग्याएर आफू अनुकूल व्याख्या गर्नु त गलत काम हो ।

बीपीका अनुयायी हौं भन्नेहरूको व्यवहार कस्तो लाग्छ ?

बीपीका अनुयायी हौं भन्नेहरूले सायद बीपीलाई बुझेका थिएनन् । त्यसैले बीपीका अनुयायी हौं भन्नेबाहेक उनीहरूले कुनै दृष्टिकोण र बीपी व्यक्तित्वको छाप बोकेर हिँडेको देखिँदैन । बीपीको सबैभन्दा नजिकका हौं भन्नेले पनि बीपीको व्यक्तित्व, विचार, दर्शन, सिद्धान्तबाट टाढा भएर अँध्यारोमा बसेको देखिन्छ । बीपीका विरोधीले पनि बीपीलाई समर्थन गर्दै बीपीको विचार आफूले पालना गरेको दाबी गर्नुको कारण पनि के हो भने उनीहरूले पनि आफ्नो उचाइ र औचित्य सावित गर्नका लागि पनि बीपीकै दुहाइ दिनु परेको छ ।

साँच्चै बीपीले भनेजस्तो राष्ट्र निर्माणको चुनौती के छ ? कस्ले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?

आर्थिक, सामाजिक र राजनीति क्षेत्रमा व्यापक विकृतिहरू देखिएका छन् । प्रशासन र न्यायप्रणालीमा पनि यस्तै विकृति बढेको छ । यसबाट देशलाई छुटकारा दिने भनेको युवा पुस्ताले हो । युवा पुस्ताले आफ्नो नैतिक चरित्र र व्यक्तित्वलाई सुरुदेखि नै परिमार्जन गरेर समाजसेवामा लगाउन एउटा त्याग र बलिदानको अध्याय फेरि सुरु गर्नुपर्छ जस्तो लाग्छ । चुनौती यही हो । यो गर्न अहिलेका पुस्ताले सक्छन् कि सक्दैनन् । फेरि बीपीलाई नै उद्धरण गर्छु । प्रजातन्त्र आएपछि सुकिला मुकिलाहरू हावी हुने र उनीहरूकै आधिपत्य बढ्ने क्रम आउँछ र त्यसका विरुद्ध सच्चा युवा कार्यकर्ताले संघर्ष गर्नुपर्छ भनेर बीपीले भन्नुभएको थियो । अहिले त्यही संघर्ष गर्ने बेला आएको छ । यो दायित्व युवाहरूले पूरा गर्न सक्छन् कि सक्दैनन्, बाँचुञ्जेल हेर्ने हो ।