देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भलिबलमा नेपालको ऐतिहासिक सफलता, एसियन गेम्समा पहिलो जित

देशान्तर

काठमाडौँ । नेपालको पुरुष भलिबल टिमले एसियन गेम्समा ऐतिहासिक जित हासिल गरेको छ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत् मंगलबार भएको खेलमा नेपालले मंगोलियालाई ३–१ को सेटमा हराएको हो ।

मंगोलियाविरुद्धको पहिलो सेट २६–२८ ले गुमाएको नेपालले दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो । प्रतिस्पर्धात्मक तेस्रो सेट ३०–२८ ले जितेको नेपालले चौथो सेट २५–१९ ले जित्दै जित सुनिश्चित गरेको हो ।

एसियन गेम्समा पुरुष भलिबलतर्फ नेपालको यो पहिलो जित हो । भलिबलको समूह चरणबाटै बाहिरिइसकेको नेपालले वरीयता निर्धारणका लागि खेल्दैछ । नेपालले अब १३औं स्थानका लागि ‘प्ले अफ’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले एसियन गेम्समा भलिबलतर्फ ३२ वर्षपछि सहभागिता जनाएको हो । सन् १९७८ मा थाइल्यान्डको बैंककमा भएको आठौं एसियाडमा पहिलोपटक सहभागिता जनाएको नेपालले त्यसपछिका दुई संस्करणमा पनि सहभागिता जनायो ।

तर, सन् १९८२ को दिल्ली एसियाड तथा १९८६ को सिओल एसियाडमा पनि नेपालले पुरुष भलिबलतर्फ एउटा सेट पनि जित्न सकेको थिएन । मंगोलियाविरुद्ध मंगलबार हासिल गरेको जितले नेपाली भलिबल टोलीलाई थप ऊर्जा प्रदान गरेको भलिबल टोलीका सहायक प्रशिक्षक जगदीश भट्टले बताए ।