काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस र न्यायपालिकामाथि नियन्त्रण गरेर शासन चलाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिएको छ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिका बिना हुकुमी शासन चलाउने कल्पना नगर्न सरकारलाई सचेत गराएका हुन्। कानुनको शासनबाट मुलुक चलाउनका लागि स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायापालिका हुनु जरुरी रहेको भन्दै उहाँले हुकर्मी शैलीमा मुलुकको शासन प्रणाली संचालन हुन नसक्ने चेतावनी दिए।
उनले ७ सय ६१ वटा सरकारलाई हुकुमी शासनको शैली र तजबीचको आधारमा चलाउन खोजिए संघीयता नै असफल हुने दाबी गरे। कानुनको सही पालना गरी कानुनका आधारमा अघि बढ्न पनि अधिकारीले सरकारलाई सचेत गराए।
हालै सामाजिक संञ्जालमा प्रधानमन्त्रीको अनुहारलाई विरुप बनाएर केही टांसेर छापिएको र त्यसलाई शेयर गरेका कारणले केही व्यक्ति साइबर क्राईममा पक्राउ गर्ने काम भएको भन्दै अपराध र सामान्य व्यङग्यलाई छुट्याउन सरकारको ध्यानाकर्षण गराए। उनले सार्वजनिक पदाधिकारीहरुको व्यङग्य हुने भन्दै कुन स्थान सम्म व्यङग्य र कुन स्थान सम्म अपराध भन्ने कुराको ठहर गरिनुपर्ने बताए। प्रेसले हाम्रा विरुद्धमा धेरै कानुन कसिकसाउ भएर आउँदै छन् भनिरहेका बेला भएको यस्तो कामले प्रेस आत्तिएको भन्दै उनले प्रेसलाई संकुचन र न्यायलयलाई नियन्त्रणमा राखेर शासन चल्न नसक्ने दाबी गरे।
प्रधानमन्त्रीले सम्पादकहरुलाई बोलाएर निरासाका कुरा नलेख्दिन गरेको आग्रहप्रति उनको तिखो टिप्पणी थियो। भने, “पत्रकारले निरासाको स्थिति श्रृजना गराएको हो? ६ महिनामा यति त प्रधानमन्त्री ज्युलाई रियलाईज भएछ। कि निरासा देशमा बढ्दै छ। निरासालाई आशामा बदल्ने काम प्रधानमन्त्रीको हो कि प्रेसको हो?”
उनले विप्लब समुहका खड्ग बहादुर विश्वकर्मालाई पटकपटक नियन्त्रणमा लिनु, अयोग्य लडाकुलाई बाहिर जानबाट रोक्नु तथा कंचनपुरको हालैको घटनाले मुलुकको मानवअधिकारको स्थिति उजागर गरेको र त्यसले जनतामा निराशा बढाईरहेको दाबी गरे।
प्रतिक्रिया