काठमाडौँ । अविरल वर्षसंग कोशीको बहाव बढेपछि आसपासका क्षेत्र डुबानमा परेका छन । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका हटिया नजिकको बस्तीमा कोशीको पानी पसेपछि करिव ३ सय ५० घर डुबानमा परेका छन् ।
कोशी बाँध भन्दा तल रहेको नगरपालिका कार्यालय पूर्व, पश्चिम र दक्षिणमा रहेका बस्तीका ३ सय भन्दा बढी घर डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक चन्द्रसागर केरुङले जानकारी दिए ।
बाढीले हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय र अगाडि रहेको लिलजा ठाकुर प्राथमिक विद्यालय समेत डुबानमा परेको छ । साँझ अचानक बाढी आउँदा बस्तीका अधिकांश परिवारले राति खान खान समेत पाएनन् ।
सप्तकोशी ब्यारेज भएर पानीको बहाव सोमबार साँझ १ लाख ७० हजारदेखि १ लाख ८० हजार क्यूसेक प्रति सेकेन्डका दरले मात्रै भइरहेकाले उक्त बस्तीहरुमा कोशीको पानी पसेको हो । यस अघि यो भन्दा बढी बहाव भएपनि यो बस्तीमा अहिलेसम्म पानी पसेको थिएन ।
भारत सरकारको कोशी योजनाले यसवर्ष ब्यारेज भन्दा तल कोशीको मुलधारलाई पाइलट च्यानलका माध्यमबाट पश्चिमतर्फ फर्काएपछि हनुमाननगरका ३ सय ५० भन्दा बढी घरमा पानी पसेको छ ।
यसवर्ष भारतीय कोशी योजनाका अधिकारीहरु र भारतीय ठेकेदारहरुले आफुखुशी बहावलाई च्यानल खनेर पश्चिमतर्फ फर्काएपछि अहिले कोसीको बहाव पश्चिमी तटबन्धतिर मोडिँदा बस्तीहरु जोखिममा परेका हुन ।
योजनाका अधिकारीहरुले ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनेर बहावलाई पश्चिमतर्फ मोडेका छन् ।
प्रतिक्रिया