काठमाडाैँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को वरिष्ठ अधिकारी (सचिवस्तरीय) को १९औं बैठक आज काठमाडौंमा बस्दैछ ।
बिमस्टेक शिखर सम्मेलनअघि सचिव र मन्त्रीस्तरीय छुट्टाछुट्टै बैठक बस्ने प्रावधानअनुसार आज बैठक बस्न लागेको हो । कहीबेरपछि होटल सोल्टीमा सुरु हुने आजको बैठकमा विभिन्न आठ ओटा अजेण्डाको विषयमा छलफल हुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा सहभागी हुन भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका विदेशसचिवहरु हिजो नै काठमाडौं आइपुगिसक्नुभएको छ ।
बैठकमा अध्यक्षता परराष्ट्र सचिव शंकर दास वैरागीले गर्नुहुनेछ । बिमस्टेकका महासचिव शहिदुल इस्लामले बैठकमा विशेष सम्बोधन गर्नुहुनेछ । त्यसपछि बैठकमा अजेन्डामाथि केन्द्रित भएर छलफल गरिनेछ । बैठकमा व्यापार तथा लगानी, यातायात तथा सञ्चार, प्रविधि, अन्तरदेशीय अपराध तथा प्रतिआतंकवाद, कृषि, गरिबी निवारण, जनस्वास्थ्यलगायतका मुद्दालाई प्रमुख अजेन्डा बनाइएको छ ।
बैठकमा भन्सारसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ । यस्तै बिमस्टेक यातायात कनेक्टिभिटी कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुनेछ । बिमस्टेक मोटर भेइकल एग्रिमेन्ट र बिमस्टेक कोस्टल सिपिङ एग्रिमेन्टमा पनि छलफल हुने जनाइएको छ ।
म्यानमारका राष्ट्रपति आज आउँदै
बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट आज नेपाल आउँदै हुनुहुन्छ । नेपाल आएकै दिन नेपाल र म्यानमारबीच द्विपक्षीय बैठक हुनेछ । बैठकमा दुवै देशका प्रधानमन्त्री सहभागी हुनुहुनेछ ।
शिखर सम्मेलनमा सहभागी हुन भोली श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, भुटानको काम चलाउ सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत काठमाडौं आइपुग्नुहुनेछ ।
यस्तै भदौ १४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आउँनुहुनेछ ।
त्यसैगरी बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरु आज काठमाडौं आउँदैहुनुहुन्छ । बिमस्टेक शिखर सम्मेलनअघि हुने विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सदस्य राष्ट्रका विदेशमन्त्री तथा विदेश राज्यमन्त्री आज काठमाडौं आउन लाग्नुभएको हो ।
भोली काठमाडौंमा बिमस्टेकका विदेशमन्त्रीहरुको १६औं बैठक बस्दैछ । बैठकले हस्ताक्षरका लागि तयार पारिएका समझदारी तथा सम्झौतापत्र र काठमाडौं घोषणापत्रलाई अन्तिम रुप दिनेछ ।
१७ हजार सुरक्षाकर्मी परिचालन
बिमस्टेक सम्मेलनको सुरक्षा कमान्ड नेपाली सेनाले गर्ने भएको छ । सरकारले सेनाको कमान्डमा सम्मेलन सुरक्षाका लागि सम्पूर्ण सुरक्षा संयन्त्र प्रयोग गर्ने योजना बनाएको हो ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा एकीकृत सुरक्षा योजना बनाएको सरकारले सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई परिचालन गर्नेछ ।
सेनाकै सुरक्षा योजनाअनुसार अन्य सुरक्षा एजेन्सी परिचालित हुनेछन् । सबै सुरक्षा निकायका करिब १७ हजार सुरक्षाकर्मी खटिनेछन् । संयोजक सुवेदीले सुरक्षा योजना पारित भएर लागू पनि भइसकेको बताउनुभयो ।
गृहका अनुसार बिमस्टेक सम्मेलनमा तीन सुरक्षा घेरा हुनेछ । सबैभन्दा भित्री घेरामा नेपाली सेना खटिनेछ । दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरीको सुरक्षा हुनेछ । राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर सिभिलमा तीनवटै घेरामा छरिएर रहन्छन् ।
सेना, प्रहरी र सशस्त्रका ‘इन्टेलिजेन्स’ टोली पनि सादा पोसाकमा खटिनेछन् । यसबाहेक भिभिआइपीले आफूसँगै ल्याउने सुरक्षाकर्मी पनि खटिनेछन् । उनीहरू हतियारसहित हुनेछन् । तर, नेपाली सुरक्षाकर्मीकै योजनाअनुसार परिचालित हुन्छन् ।
सेनाको हवाई गस्ती
सम्मेलन अवधिभर सम्मेलनस्थल तथा भिभिआइपी आवागमन क्षेत्रमा सेनाले हवाई गस्ती गर्नेछ । सैनिक प्रवक्ता गोकुल भण्डारीका अनुसार ‘बिमस्टेक सम्मेलन अवधिभर हवाई प्याट्रोलिङ हुनेछ । विशेषगरी सम्मेलनस्थल तथा भिभिआइपी आवागमन गर्ने क्षेत्रमा हवाई गस्ती हुने उहाले बताउनुभयो ।
आजदेखि शनिबारसम्म हवाई उडान प्रभावित
बिमस्टेकको चौथो सम्मेलनका लागि आजबाटै अतिविशिष्ट पाहुना नेपाल आउनेक्रम सुरु भएको छ । जसले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आजदेखि शनिबारसम्म प्रभावित हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हरेक राष्ट्रप्रमुख या सरकारप्रमुखको आवागमनका समयमा कम्तीमा आधा घन्टा विमानस्थल बन्द हुनेछ ।
खुलामञ्चमा चारदिन पार्किङ निषेध
खुलामञ्चमा चारदिनसम्म गाडी पार्किङ गर्न नपाइने भएको छ । खुलामञ्चमा रहेको बसपार्क मर्मत गर्नका लागि चारदिन पार्किङ गर्न रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
खुलामञ्चमा पार्किङ गरेर छुट्ने सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत जिल्लाका गाडीलाई अब नयाँ बसपार्कबाट छुट्ने व्यवस्था मिलाइएको छ । यस्तै खुलामञ्चबाट छुट्ने काठमाडौं उपत्यकाका गाडीलाई भने पार्किङ नगरी गाडी घुमाएर यात्रु चढाउने र झार्ने व्यवास्था मिलाइएको छ ।
प्रतिक्रिया