काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुका आफन्तलाई विमानस्थल प्रवेशका लागि रोक लगाएको छ । बिमस्टेक सम्मेलनलाई लक्षित गर्दै विमानस्थल कार्यालयले हवाई यात्रुबाहेकलाई विमानस्थल प्रवेश नगर्न आग्रह गरेको छ ।
सहयोगीबिना यात्रु विमानस्थलसम्म जान नसक्ने अवस्थाका बिरामी अथवा अशक्त रहेको खण्डमा भने एकजना आफन्तलाई जान दिइने विमानस्थल महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । तर, त्यस्ता आफन्त यात्रु डिपार्चर भएको १५ मिनेटभित्र गोल्डेन गेट (विमानस्थल प्रेवशद्वार) बाट बाहिर निस्किसक्नु पर्नेछ ।
यात्रु तथा पर्यटक लिन जाने आफन्त तथा सवारी चालक पनि ५–१० मिनेट अगाडिमात्रै विमानस्थल प्रवेश गर्नुपर्नेछ भने सोही समायावधिमा बाहिर निस्किनु पर्नेछ । यात्रु लिन गएका सवारीसाधन तथा ट्याक्सीलाई पार्किङमा नजान र सिधै बाहिर निस्किन पनि आग्रह गरिएको छ ।
विमानस्थलभित्र सवारीसाधन रोक्न निषेध गरिएको ठाउँमा रोकेको पाइएमा ट्राफिक प्रहरीले तत्काल कारबाही गर्नेसमेत विमानस्थल कार्यालले जानकारी दिएको छ । यो सबै नियम गएको १० भदौदेखि १६ भदौसम्म लागु हुने बताइएको छ ।
बिमस्टेक सम्मेलनमा आउने भीभीआईपीको सुरक्षालाई मध्यनजर गरेर यस्तो व्यवस्था गरिएको विमानस्थल कार्यालयले जनाएको छ । यही भदौ १४ र १५ गते बिमस्टेक सम्मेलन काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया