जयप्रसाद पौडेलसँग २०४७ फागुन १२ गतेका दिन स्याङ्जाको पुतलीबजारस्थित गोपालमान श्रेष्ठको घरमा भेट भयो । २०३६ पछि उनीसँग भेट भएको थिएन । नेपाली कांग्रेसद्वारा सञ्चालित प्रशिक्षण कार्यक्रमका सन्दर्भमा काठमाडौंबाट प्रशिक्षकको रूपमा म त्यहाँ पुगेको थिए ।
स्याङ्जा तरुणहरूको राम्रो संगठन भएको ठाउँ हो पहिलेदेखि नै । २०२५–०२६ देखि नै सक्रिय युवाहरू थिए— स्याङ्जामा । विश्वप्रेम अधिकारी, शिव अधिकारी, तारानाथ सुवेदी, सूर्य सुवेदी, श्रीप्रसाद जीटी, स्थानेश्वर, खगेन्द्र रेग्मी, जयप्रसाद पौडेल आदि थिए ।
यहाँ जयप्रसादको मात्र चर्चा गर्दैछु । त्यस दिनको भेटमा उनले एउटा सानो पुस्तिका— “छोराले क क खोज्दा न न कविता संग्रह “श्रद्धेय डा. तुलसी भट्टराईमा सादर समर्पण” लेखेर उपहार दिएका थिए । त्यतिबेला त्यस पुस्तिकालाई आफ्नो झोलामा थन्क्याएको थिएँ ।
केही दिनअघि मात्र त्यो पुस्तक फेला पर्यो । डेढ दर्जन जति कविता समेटिएको यस पुस्तिकाको निकै महत्व छ । पञ्चायतकालीन प्रतिबन्धित कालको एउटा बिम्बका रूपमा यो कविता संग्रह आएको हो । यी कविता २०२५–२०४० का बीच रचिएको भए पनि प्रकाशन हुन २०४७ सम्म कुर्नु परेको थियो ।
२०२५–२०३० तिर बनारसमा जयजी र मेरो निकै राम्रो सम्पर्क भएको हो । बीपी कोइरालाको बनारस बसाइका क्रममा बीपीकै आदर्श र चिन्तनबाट प्रभावित जय माझिएका युवाका रूपमा चिनिएका थिए । तरुण पत्रिका प्रकाशन हुन थालेपछि जयले गण्डकी अञ्चलमा वितरण गर्ने जिम्मा लिएका थिए । त्यसकारण उनीसँग मेरो भेट भइरह्न्थ्यो ।
“यो मेरो छोरो— तरुण हो । नेवि संघमा सक्रिय छन् ।” जयले १८–१९ जतिका ती व्यक्तिलाई देखाउँदै भनेका थिए । उनले अरू केही जानकारी र प्रसंग थप्तै भने—
“भट्टराईजी यो छोराको ‘तरुण’ नाम रहनुमा एउटा रोचक प्रसंग जोडिएको छ । २०२९ मा म बनारसबाट तरुण पत्रिका र केही पर्चा पम्लेट लिएर भैरहवाबाट पाल्पा हुँदै आउँदै गर्दा बाटैमा पक्राउ परें । अनि म पाल्पा जेलमा भएका बेला घरमा छोरो जन्मिएको खबर पाएँ ।
आफू जेलमा भएकाले छोराको मुख हेर्न पाउने कुरा थिएन । खुसी र विस्मात दुवै झेल्नु परेको हुँदा अन्योलमा थिएँ । त्यस्तैबेला मलाई भेट्न आएका साथीहरूसँग घरमा खबर पठाएँ— छोराको जन्मलग्न नक्षत्र जे भए पनि उसको नाम चाहिँ तरुण राखिदिनु । किनभने म प्रजातन्त्रको शंखघोष गर्ने तरुण पत्रिका बोकेर आउँदा पक्राउ परेर जेल जीवन बिताउँदैछु । यसैबेला मेरो छोरो जन्मिएको छ ।
छोराको नाम तरुण राख्न पाउँदा मलाई यो कुरा पछिसम्म सम्झना भइरहनेछ । प्रजातान्त्रिक विचार र चिन्तनको संवाहक ‘तरुण’ पत्रिकाको महत्व अविस्मरणीय छ । छोराको नाम— तरुणको माध्यमबाट मैले त्यो तरुण गुण, विश्वास र आस्था बोकिरहन चाहन्थेँ । मेरा बुबा आमा र पत्नी ललितादेवीले जेलपासी मेरो आग्रह स्वीकार गरेर त्यतिबेलाको तरुण छोराको नामका माध्यमबाट प्रतिबिम्बित गराइदिए ।
यसरी एकादेशको कथा सुनेझैं जयप्रसादको यो तरुण प्रसंग सुनेको थिएँ । कति ठूलो आस्था थियो— प्रजातन्त्रप्रति जयप्रसादको जयप्रसाद जस्तै हजारौं व्यक्तिको आस्था, विश्वास, त्याग र बलिदानको साकार रूप हो— आजको यो लोकतान्त्रिक गणतन्त्र ।
“बा…. क… क गर्छु ”
पर्ख छोरा मैले एउटा क… क को
किताब बनाउँदै छु ।
मैले त कपटी ‘क’ पढें
निहुरमुन्टी न पढें
कुकुरपुच्छे ढ पढें
गोरुसिङे य पढें
चाकरी च पढें
गुलामी ग पढें…. ।
पर्ख बाबु… तिमीले स्वतन्त्र स पढौला
अस्तित्वको ‘अ’ पढौला
भ्रातृत्वको ‘भ’ पढौला
प्रेमको ‘प’ पढौला
इमानदारिताको ‘इ’ पढौला ।”
उनको यस कविता संग्रहमा यस्तै यस्ता कविताहरू संकलित छन् । २०२५ देखि कविताहरू पत्रपत्रिका प्रकाशन गर्न थालेका श्री पौडेलको पहिलो कृति २०४७ मा प्रकाशित “कक नन खोज्दा” हो ।
दुःखका दिनहरू— कथासंग्रह, धरहरा— लघुकाव्य, धादिङबेसी— उपन्यास चाहिँ २०५० मा प्रकाशित हो । नानीको साथी बालगीत, दुःखका दिनहरू (कथा) एवं अन्य दर्जनौं फुटकर रचनाहरू तयार पारेका जयप्रसाद पौडेल नेपालको प्रजातान्त्रिक आन्दोलनका सक्रिय र इमानदार योद्धा हुन् ।
विचार र चिन्तनसँगै संगठनात्मक कार्यमा सक्रिय जयप्रसादको साहित्य क्षेत्रमा पनि राम्रो परिचय बनेको हो । उनी असमयमा नै दिवंगत भए । उनका थुप्रै लेखनहरू अझ पनि अप्रकाशित छन् । उनले सोचेजस्तो प्रजातन्त्र पनि पूर्ण रूपमा स्थापित हुन सकेको छैन ।
प्रजातन्त्रका निम्ति धेरै पटक जेलनेल र यातना भोगेका जयप्रसादले राष्ट्रपुकार, कल्याणी, युगभाषा, थाक्रो, रजस्थल, तरुण आदि आधा दर्जनभन्दा बढी पत्रिकाका प्रतिनिधि— संवाददाता र सहयोगीका रूपमा अर्थात् पत्रकारका रूपमा पनि आफूलाई चिनाएका थिए ।
स्याङ्जा पुतलीबजारको छाउनी डाँडामा २००५ चैत १० गते जन्मिएका जयप्रसादका पिता नारायणदत्त र माता विष्णुकुमारी हुन् । जयप्रसादले एमए (अंग्रेजी)सम्मको अध्ययन गरेर दुई दशक जति शिक्षण क्षेत्रमा योगदान दिएका थिए । उनीले माध्यमिक विद्यालयका प्रधानअध्यापकका रूपमा आफ्नो बौद्धिक र प्रशासनिक क्षमता देखाएका हुन् । नम्र र सरल स्वभावाक श्री पौडेलको रहनसहन सादा थियो तर विचारमा चाहिँ उच्च थिए ।
प्रजातन्त्र लोकतन्त्रका निम्ति आन्दोलन चलिरहेका बेला २०६१ साउन २० गते उनको देहावसान भयो । उनको प्रमुख उद्देश्य प्रजातन्त्र प्राप्तिको संघर्ष र प्रजातन्त्रपछिको संस्थागत विकास थियो । प्रजातन्त्रकै निम्ति उनले जीवन अर्पण गरेका थिए । आईए पढ्दादेखि नै राजनीतिमा सक्रिय श्री पौडेल स्याङ्जा जिल्ला सदस्य एवं महाधिवेशन प्रतिनिधिसमेत भएका थिए । उनीले ५५ वर्षकै उमेरमा पार्थिव शरीर त्यागे । असंख्य इच्छा आकांक्षाहरू अधुरै छोडेर उनी गए पनि सदासर्वदा प्रेरक व्यक्तिका रूपमा चिनिने छन् ।
प्रतिक्रिया