काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान कम्युनिष्ट पार्टीको सरकारले स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गर्न र संघीयतालाई खारेज गर्न लागेको गम्भीर आरोप लगाएका छन् ।
केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग सोमबार गरेको अन्तरसम्वादमा वरिष्ठ नेता पौडेलले संविधानको मर्म विपरित केन्द्र सरकारले स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गर्न लागेको आरोप लगाएका हुन् ।
‘वर्तमान सरकार पक्षपाती देखिएको छ । स्थानीय तहको अधिकारलाई केन्द्रले हस्तक्षेप गरेको छ । यसरी स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गर्न केन्द्र सरकारले गर्न पाउँदैन । कम्युनिष्ट सरकारले संघीयताको कार्यान्वयन गर्छ भन्नेमा शंका छ’ वरिष्ठ नेता पौडेलले भने, ‘ संघीयता कम्युनिष्टको सिद्धान्तमा पर्दैन । कम्युनिष्ट सिद्धान्त भनेको जनवादी केन्द्रीयतामा आधारित सिद्धान्त हो ।’
वरिष्ठ नेता पौडेलले अहिले देखिएको कर उठाउने विवाद केन्द्र सरकारको कमजोरीका कारण सृजना भएको पनि बताए । उनले केन्द्र सरकारले वित्तीय आयोग नबनाएका कारण करको विवाद सृजना भएको भन्दै आयोग नबन्नुमा केन्द्र सरकारको कमजोरी भएको बताए ।
उनले स्थानीय तहका जनप्रतिनीधिले गर्ने काम पार्टीको भविश्यसँग जोडिएको भन्दै पार्टीको सिद्धान्त र प्रतिष्ठा जोगाउने ढंगले काम गर्न नगर प्रमुख र उपप्रमुखहरुलाई निर्देशन दिए । ‘जनताले तपाईहरुलाई निर्वाचित गरेर पठाएका छन् ।
तपाईहरुको कामसँग पार्टीको भविश्य जोडिएको छ । अहिले हामी धेरै कमजोर अवस्थामा पुगेका छौ । त्यसैले तपाईहरुको कामले पार्टीलाई माथि ल्याउन जरुरी छ । स्थानीय तह भ्रष्चारको अखडा हुन लाग्यो भन्ने बुद्धिजीवीहरुबाट कुरा आउन थालेको छ । पारदर्शी रुपमा काम गर्न काम गर्नुपर्छ भन्ने दिमागमा राख्नुहोला । संविधान र लोकतन्त्रको मर्म अनुसार काम गर्नुहोला’ पौडेलको भनाइृ थियो ।
नेता पौडेलले बर्तमान सरकारले अहिले ठुला ठुला भ्रष्टचार गर्न लागेको भन्दै यो विषयलाई आम नागरिकसम्म लैजानुपर्ने बताए । ‘अहिले ठुला घोटला भएका छन् । त्यो स्थानीय तहले उठाउनुपर्छ । नेपाल वायूसेवा निगमको वाइड बडि जहाज खरिदमा जसरी घोटला भएको छ । त्यो बिषयलाई तल्लो निकायसम्म लैजानुपर्छ । यो काम तपाईहरुले गर्नुहोला’ पौडेलको सुझाव छ ।
प्रतिक्रिया