देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस महासमिति बैठक मंसिर पहिलो साता

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने भएको छ । केन्द्रीय कार्यालय सानेपामा हिजो सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको कांग्रेसले जनाएको छ ।

बैठकले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य रहने गरी महासमिति बैठकको मूल तयारी समितिसमेत गठन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । महासमिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव तयारी समिति गठन गरिएको छ ।

महासमिति बैठकमा साङ्गठनिक प्रतिवेदन महामन्त्री डा शशांक कोइरालाले र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गर्नुहुनेछ । त्यस्तै पार्टीको समग्र आर्थिक नीति मस्यौदा समिति सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा गठन गरिएको छ ।

विधान संशोधन मस्यौदा समितिमा जिल्ला सभापतिको हेटौँडामा सम्पन्न राष्ट्रिय भेलाको प्रस्तावअनुसार जिल्ला पार्टी सभापति मध्येबाट स्थायी आमन्त्रितका रुपमा दुई जना सदस्य थप गर्ने बैठकले निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

बैठकले काठमाडौँ जिल्ला कार्यसमिति काङ्ग्रेसका सभापतिको संयोजकत्वमा ललितपुर र भक्तपुरका सभापति सदस्य रहने गरी स्थानीय व्यवस्थापन समिति गठन गरेको छ । बैठकले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको गहन छानबिन गरी अपराधीमाथि तत्काल कारबाहीको माग गरेको छ ।

काङ्ग्रेसले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनका केही प्रावधानले खास गरी प्रेस स्वतन्त्रतामा असर पुग्ने, चिकित्सकको मर्यादामा आँच पुग्ने र प्रहरी अनुसन्धानलाई असर पु¥याउन सक्ने निष्कर्ष निकाल्दै संशोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ २१ गते बिहान ११ बजे पार्टीे केन्द्रीय कार्यालयमा पुनःबस्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।