देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्मला हत्या प्रकरणः आन्दोलन नगर्न सरकारको आहृवान, राजधानीका जनता सडकमा, कञ्चनपुरमा कर्फ्यू जारी

देशान्तर

काठमाडौं । सरकारले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यालाई लिएर भइरहेको आन्दोलन स्थगित गर्न कञ्चनपुरबासीलाई आहृवान गरेको छ । आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर हिजो मात्र एक बालकको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर भगतपुरका १४ वर्षीय किशोर सन्नी खुनाको मृत्यु भएको हो । सरकारले भने आन्दोलनमा घुसपैठ भएको दाबी गरेको छ ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले सीडीओ र सुरक्षा अधिकारीको सरुवा गर्नुका साथै अनुसन्धान समिति समेत बनाइसकेको अवस्थामा परिस्थितिलाई थप उत्तेजित बनाउन विभिन्न तत्वले घुसपैठ भएको बताउनुभएको छ ।

मानवीय संवेदनासँग जोडिएको घटनालाई लिएर परिस्थिति थप उत्तेजित बनाउने घुसपैठ गर्नेहरुबारे अनुसन्धान गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको उहाँले बताउनुभयो । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले जघन्य अपराधका जस्ता घट्नामा सरकार गम्भीर रहेको पनि उहाँले बताउनुभयोे ।

राजधानीका जनतापनि सडकमा

यता बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निमर्ला पन्तको न्यायका लागि सबै पक्षबाट आवाज बुलन्द बन्दै गएको छ ।
बलात्कार तथा हत्या आरोपमा अपराधीलाई लुकाउन प्रशासनले अर्कै व्यक्तिलाई अपराधीको रुपमा सार्वजनिक गरेको भन्दै कञ्चनपुरमा केही दिनदेखि प्रदर्शन भइरहेको छ ।

निर्मलाका लागि न्यायको माग गर्दै काठमाडौँमा आज दिउँसो प्रदर्शन हुँदैछ । बलात्कारको विरोधमा रहेका समाजिक अभियन्ताहरुको आयोजनामा जनताको भेला नाम दिएर निर्मलाको न्यायका निमित्त दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर्शन हुन लागेको हो ।

निर्मला पन्तको बलात्कार तथा हत्या सम्बन्धमा सत्य तथ्य निकाल्नका लागि सरकारले समिति त गठन गरेको छ । तर प्रदर्शनकारीले उठाएका अपराधीको ढाकछोप गरिएको भन्ने आरोपको सत्यताबारे समितिले खोतल्ने छ वा छैन भन्नेमा सबैको चासो छ ।

कञ्चनपुरमा कर्फ्यू जारी

यता आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हिजो साँझ देखि कर्फ्यू लगाएको छ । भिमदत्त नगरपालिकाका विभिन्न स्थानमा कर्फ्यू लगाइएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले बताउनुभयो ।सरकारले जिल्लाका एसपी र सिडिओलाई सरुवा गरेर उच्चस्तरीय छानबिन समिति गठन गरेपनि आन्दोलन रोकिएको छैन ।