देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्मला हत्या प्रकरणः कञ्चनपुरमा हिंसा, एक किशोरको मृत्यु

देशान्तर

महेन्द्रनगर : महेन्द्रनगरमा शुक्रबार साँझ प्रहरीको गोलीले १७ वर्षे किशोरको ज्यान गएको छ। किशोरी निर्मला पन्त हत्या प्रकरणपछिको आन्दोलन हिंसात्मक भएपछि प्रहरीले गोली चलाएको थियो।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ भगतपुर घर भएका सन्नी खुना रहेका छन्। उनको छातीको बायाँपट्टी गोली लागेको छ। गोली लागेलगत्तै महाकाली अञ्चल अस्पताल पुर्‍याइएका खुनाको थप उपचारका लागि एम्बुलेन्समा लैजाँदै गर्दा ज्यान गएको हो।

खुनाको ज्यान गएपछि आक्रोशित प्रदर्शनकारीले स्टे«चरमा राखेर शव बोक्दै जिल्ला प्रशासन कार्यालय परिसर नजिकै ल्याएर छाडेका थिए। राति अबेरसम्म शव त्यही रहेको थियो।

महाकाली अञ्चल अस्पतालका अनुसार झडपमा ३० भन्दा बढी प्रर्दशनकारी घाइते छन्। घाइतेमा भीमदत्त नगरपालिका-४ का २४ वर्षीय मनोज खड्का, भीमदत्त-१८ जानकी टोलका १३ वर्षीय युवराज भट्ट, १७ वर्षीय चेतराज भट्ट, भीमदत्त-२ भाँसीका उमेश देउवा, शुक्लाफाँटा-१० झलारीका १५ वर्षीय दामोदर खत्री, २२ वर्षीय कवीन्द्र सिंह, भीमदत्त-१८ का २३ वर्षीय सगुन सुवेदी, वेदकोट-१० लालपुरका ३१ वर्षीय ईश्वर जोशी छन्।

त्यस्तै, महाकाली-९ दार्चुला दत्तुका १७ वर्षीय वीरेन्द्र नागरी, भीमदत्त-२ भाँसीका ३२ वर्षीय किशोर जोशी, शुक्लाफाँटा-१० झलारीका १३ वर्षीय चेतराज भट्ट, भीमदत्तकै १८ वर्षीय मनोज खड्का, खैरभट्टीकै ३५ वर्षीय रमेश साउद, भीमदत्त-१८ निम्बुखेडाका ४२ वर्षीय घनश्याम पन्त पनि घाइते भएका छन्।

निम्बुखेडाकै १५ वर्षीय पदमसिंह विष्ट, महाकाली नगरपालिका दोधाराका ४३ वर्षीय वीरबहादुर सिंह, भीमदत्त-२ भाँसीका २० वर्षीय हिमांशु भट्ट, भाँसीकै ४१ वर्षीय प्रेम ठाकुर, २८ वर्षीय जीतेन्द्र श्रेष्ठ, भीमदत्त-१८ गोरख रौले, भीमदत्त-१८ जानकी टोलका १९ वर्षीय मानसिंह रावत, भीमदत्त-१५ भगतपुरका ४६ वर्षीय सुरेश चटौत, भीमदत्तनगर महेन्द्रनगरका सागर विष्ट, दिल विष्ट, नैन सिंहलगायत घाइते छन्।

अस्पतालका अनुसार घाइतेमध्ये दामोदर खत्री, उमेश खुना, सुरेश चटौत, कवीन्द्र सिंह,चेतराज भट्ट, मनोज खड्का र युवराज भट्टलाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ। घाइतेमध्ये केहीलाई गोली लागेको छ भने केही प्रहरीको लाठीचार्ज र भागदौडमा परेका हुन्।

घाइतेमध्ये खुट्टा र घुँडामा गोली लागेका एकजनाको अवस्था गम्भीर रहेको छ। घटनामा सुरक्षाकर्मीतिर पनि दर्जनौं घाइते भएको जनाइएको छ।

भीमदत्त-२ उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समिति महेन्द्रनगर पुगेकै दिन आन्दोलन हिंसात्मक बनेको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा समितिले सर्वपक्षीय बैठकको तयारी गरिरहँदा एक्कासी सुरु भएको आन्दोलन हिंसात्मक बनेको हो।

आन्दोलनकारीले ट्राफिक प्रहरी कार्यालयमै तोडफोड गर्न थालेपछि बाध्य भएर गोली चलाइएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले ३० राउन्डभन्दा बढी गोली चलाएको थियो।

यस्तै आन्दोलनकारीले भीमदत्त नगरपालिका परिसर र नगरप्रमुख सुरेन्द्र विष्टको निवासमा समेत तोडफोड गरेका छन्।

यसअघि बिहीबारको प्रदर्शनमा प्रहरीको गोलीबाट ६ जना घाइते भएका थिए। सरकारले कञ्चनपुरका प्रजिअ, एसपी र डीएसपीलाई फिर्ता बोलाइसकेको छ। नयाँ प्रजिअ तारानाथ अधिकारी र एसपी कुबेर कडायत पुगेलगत्तै एक्कासी आन्दोलन हिंसात्मक बनेको हो।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार पनि कफ्र्यु आदेश जारी गरेको छ। अर्को आदेश जारी नभएसम्म शुक्रबार बेलुका ८ बजेदेखि कफ्र्यु लगाउने सुरक्षा समितिले निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले बताए।

प्रशासन कार्यालयका अनुसार भीमदत्त-४ र १८ को बजार क्षेत्रमा कफ्र्यु लगाइएको छ।

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आन्दोलन भएको हो। पन्तको हत्यामा संलग्न भन्दै ४१ वर्षीय दिलिपसिंह विष्टलाई प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन चर्किएको हो।

गत साउन १० गते भीमदत्त-१८ भगतपुरस्थित साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी पन्तको अर्को दिन उखुबारीमा शव भेटिएको थियो।       अन्नपूर्ण