काठमाडौं । एसिया कप छनोटका लागि श्रीलंकामा अभ्यास खेल खेलिरहेको नेपालले शुक्रबार जारी दोस्रो खेलमा ब्लुमफिल्ड क्लबलाई जितका लागि ३ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी र सागर पुनले उत्कृष्ट प्रदर्शन गरेपछि ठुलो योगफल सम्भव भएको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन जोड्न सफल रहयो । नेपाली टोलीका लागि दीपेन्द्रले सर्वाधिक १ सय २१ रन जोडे । उनले ९५ बल खेलेका थिए । सागर पुनले ८३ बल खेल्दै ९२ रन प्रहार गरे । एक समय ८४/४ को स्थितिमा रहेको नेपाल सागर र दीपेन्द्रको उत्कृष्ट ब्याटिङ प्रदर्शनसँगै उकासिएको थियो । यी दुईले पाँचौ विकेटका लागि १ सय ८५ रनको साझेदारी गरेका थिए ।
ओपनर अनिल साह १७ रन जोड्दै आउट भए । कप्तान पारस २३ रनमा बोल्ड भए भने अर्का ओपनर सुवास खकुरेल ९ रन जोड्दै क्याचआउट हुन पुगे । ब्याटिङक्रममा बढुवा भएका रोहितले ११ रनमात्र जोड्न सके । करण केसीले १२ बलमा २६ रन जोडे ।
नेपालले पछिल्लो खेलमा विश्राममा रहेका कप्तान पारस खड्का, सागर पुन र करण केसीलाई टोलीमा स्थान दिएको छ । पछिल्लो खेलमा औसत प्रदर्शन गरेका उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र सोमपाल कामी विश्राममा छन् ।
प्रतिक्रिया