काठमाडौं । महासमिति बैठकको मिति टुङ्को लगाउन आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।
बिहान ११ बजे पार्टी मुख्यालय सानेपामा बस्ने बैठकले महासमिति बैठकको मिति र स्थान तोक्ने छ । गत जेठ अन्तिममा भएको केन्द्रीय कार्यसमितिले भदौ मसान्तभित्र महासमिति बैठक गर्ने निर्णय गरेको थियो । तर, लामो समय विधान मस्यौदा समिति नै गठन हुन सकेन ।
नेताहरूले छठपछि मात्र महासमिति हुने अनुमान गरेका थिए । तर, रामचन्द्र पौडेल समूहसँगै महामन्त्री शशाङ्क कोइरालाले समेत महासमिति बैठक टार्न खोजेको आरोप लगाएपछि सभापति देउवा यही महिनामै महासमिति बैठक बोलाउने तयारीमा पुगेका छन् । सभापति देउवाले भदौ २४ र २५ गते महासमिति बैठकको तयारी गर्न सचिवालयलाई मौखिक निर्देशन दिएका छन् ।
सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकको अघिल्लो दिन बिहीबार पूर्ण बहादुर खड्काको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेका छन् । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको ११ सदस्यीय समितिको पहिलो बैठक आज नै बोलाइएको छ ।
प्रतिक्रिया