काठमाडौँ । आज बकर–इद मुस्लिम समुदायले धुमधामका साथ मनाउँदै छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ ।
मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने प्रचलन रहेको छ । बकर–इदका अवसरमा इदगाहमा मुश्लिम धर्मालम्बीले पवित्रताका साथ आज बिहानैदेखि भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरिएको अलि मियाँ बाङ्मय प्रतिष्ठान पोखराका अध्यक्ष एवं धर्मगुरु हनिफ मियाँले जानकारी दिए ।
आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् ।
नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैंसी, भेडा र ऊँट आदि चौपायालाई बलि दिने प्रचलन छ ।
बली दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ । मुस्लिम समुदायको बकर इदका अवसरमा प्रदेश नम्बर १, २ र ५ का सरकारले आज सार्वजनिक बिदासमेत दिएका छन् ।
मुस्लिम समुदायको पर्व ईदका अवसरका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, राजपालगायतका पार्टी प्रमुखहरुले शुभकामना व्यक्त गरेका छन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद इदुल जोहा पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा शुभकामना व्यक्त गरेकी छिन् ।
यस्तै, उपपराष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्मावलम्बीको महान् पर्व बकर–इदका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै इस्लाम धर्मावलम्बीमा हार्दिक शुभकामना व्यक्त गरेका छन ।
प्रधानमन्त्री केपी ओलीले हिमालदेखि तराईसम्म बसोबास गर्ने नेपाली मुसलमान समुदायप्रति शुभकामना कामना व्यक्त गरेका छन भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि देशबासीमा ईदको शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया