सत्ताबाट बाहिर हुँदा नेताहरू फुर्सदिला हुन्छन् भनिन्छ । तपाईं कत्तिको फुर्सदमा हुनुहुन्छ ?
अहिले पार्टीको गतिविधिहरूमा व्यस्त छु । पार्टी सत्तामा नहुँदा नेताहरूको व्यस्तता कम हुने कुरा स्वाभाविक हो । यसको मतलव पार्टीको आन्तरिक काम नै हुँदैन भन्ने होइन । अहिले पार्टीका आन्तरिक विषय, राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा पार्टीभित्र निरन्तर छलफलमा छौं । यो अवधि पार्टीकै गतिविधिमा व्यस्त छु ।
पार्टी गतिविधि र कार्यकर्ता भेटघाटमा व्यस्त छौं भन्नुभयो । के भन्छन् कांग्रेस कार्यकर्ताहरू ?
अहिले विस्तारै हाम्रा कार्यक्रमहरू प्रभावकारी बन्दै गइरहेका छन् । निर्वाचनलगत्तै पार्टी पंक्तिमा एक प्रकारको नैराश्यता देखिएको थियो । हाम्रा संरचनाहरू अलमलमा थिए । कार्यकर्ताहरू हारको मानसिकतामा मात्रै थिएनन् नेतृत्वप्रति चरम असन्तुष्टि पनि थियो । एक प्रकारले निर्वाचनको पराजयपछि हामी सबै स्तब्ध थियौं । अहिले त्यो अवस्थाबाट मुक्त भएर फेरि पार्टीलाई बलियो बनाउनुपर्छ भन्नेमा सबै केन्द्रित भएको पाएको छु । मैले यो अवधिमा दर्जनांै जिल्लामा पुगेर नेता कार्यकर्तासँग संवाद गरेको छु । एकपटक फेरि पार्टीलाई पुरानै अवस्थामा फर्काउन कडा मेहनत गर्नुपर्छ भन्नेमा सबैको जोड रहेको छ । बुथ समितिदेखि जिल्ला समितिसम्मले कार्यक्रम र प्रशिक्षण निरन्तर गरिरहनुभएको छ । स्थानीय, प्रदेश र संघीय सरकारलाई खबरदारी गर्ने दायित्व पनि कांग्रेसकै भएकाले विगतमा भन्दा हाम्रो चासो र सक्रियता बढेको छ । पार्टीको हित प्रवद्र्धन गर्ने र सरकारलाई खबरदारी गर्ने काममा तल्लो तहदेखि नेता कार्यकर्ता सक्रिय हुनुहुन्छ । पार्टी नेतृत्वलाई समयसापेक्ष नीति लिनका लागि पनि कांग्रेसका लाखौं कार्यकर्ताले उत्साहित बनाएको अवस्था छ ।
सरकारले पाँच महिने उपलब्धि सार्वजनिक गरेको छ । कांग्रेसको भनाइ के छ ?
सरकारमा पुगेको ५ महिनामै हामीले काम गरेका छौं भनेर स्पष्टीकरण दिनुपर्ने अवस्थामा सरकार पुगेको छ । यो अत्यन्तै दयनीय स्थिति हो । ५ वर्षका लागि बनेको सरकारले ५ महिनाकै उपलब्धिको सूची बनाएर बाँड्न थाल्नु भनेको काम गर्न नसके पनि प्रचार गराउन खोजेको हो भन्ने सबैले बुझेका छन् । सरकारले दाबी गरेका अधिकांश काम भएकै छैनन् । सिन्डिकेट अन्त्यदेखि विकास निर्माणलगायतमा काम गरेको भनेर जसरी दाबी गरिएको छ त्यसको अनूभूति जनताले पाएका छैनन् । दुई तिहाइको दम्भका कारण सरकारले आफूलाई संविधानभन्दा माथि देख्न थालेको छ । नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा गरेका प्रतिबद्धताहरू अब पूरा हँदैनन् भन्ने जनताले बुझिसकेका छन् । सरकार ठीकसँगले चल्न नसकेको कुरा धेरै घटनाक्रमबाट पुष्टि भइसकेको छ । अहिले देशैभरि करवृद्धिको जुन क्रम बढेको छ यो सरकारकै नीतिको उपज हो । केपी ओली नेतृत्वको संघीय सरकारले बजेट ल्याउने क्रममा जस्तो नीति लियो त्यसले आन्तरिक उत्पादनलाई बढावा दिनेबारे कुनै योजना ल्याएन । जसरी हुन्छ कर असुल गर्ने र शासन धान्ने नीति संघीय सरकारले लिएकै कारण आज देशभरका स्थानीय तहले कर बढाएका छन् । संघीय सरकारले करजस्तो संवेदनशील विषयमा पर्याप्त काम गर्न सकेन । यसबाहेक यो सरकारको कुनै पनि कामले जनताले राहत पाएको महसुस गरेका छैनन् । जब जनताले महसुस गरेकै छैनन् भने शासकले यस्तो उस्तो गरे भन्नुको कुनै अर्थ छैन । राज्यले सुेवासुविधा केही दिन नपर्ने तर कर मात्रै बढ्ने अवस्थाले जनता सरकारबाट आजित भएका छन् । सरकारका बारेमा धेरै विषयमा जनस्तरबाट गुनासो बढ्न थालेको छ ।
स्थानीय सरकारले गरेको करवृद्धिलगायतका निर्णयमा पनि संघीय सरकारकै दोष छ ?
सुरुमा सरकारले बजेट ल्याउँदा जुन ढंगबाट ल्यायो त्यसका कारण यस्तो अवस्था आयो । जनतालाई सेवा दिएर मात्रै लिने हो भन्ने कुरा सरकारले बिर्सियो । आन्तरिक आम्दानीको वृद्धि गर्ने विषय करसँग जोडिएको छ । कर प्रणालीलाई आधुनिक बनाउनेभन्दा असुल्ने मात्रै नीति सरकारले लियो । कर केका लागि, किन लिन कसका लागि लिने भन्ने कुरा संघीय सरकारले मातहतका सरकारलाई बुझाउन सकेन । कर जति तोके पनि हुन्छ जसरी उठाए पनि हुन्छ भन्ने मानसिकता केन्द्र सरकारमा देखिएपछि स्थानीय सरकारले कर बढाएका हुन् । केन्द्रका मन्त्रीहरूको सुविधाको सिको स्थानीय सरकारले पनि गरे । आफ्नो सुविधा र तलबभत्ता बढाउने काम स्थानीय सरकारले संघीय सरकारबाटै सिकेका हुन् । यस विषयमा केन्द्र सरकारको पर्याप्त ध्यान नदिएकै हो । यही कारण करलगायतका विषयमा संघीय सरकारको भूमिका विवादित छ ।
कांग्रेसले नेतृत्व गरेका स्थानीय तहमा पनि करवृद्धि भएको छ । संघीय सरकारलाई दोष दिने कांग्रेसले किन रोक्न सकेन ?
हामीले आन्तरिक रूपमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयबाट करका विषयमा सर्कुलर गर्नुभन्दा संघीय सरकारले नै आवश्यक कदम चाल्नु ठीक हो । निर्वाचन जितेपछि स्थानीय तहकोे नेतृत्वकर्ता कांग्रेसकै भए पनि पार्टीगत दृष्टिले मात्रै हेर्ने कुरा भएन । हाम्रो पार्टीले जितेका स्थानीय तहमा कर बढाएको भए त्यसलाई निरुत्साहन गर्न जरुरी छ । तर मुख्य कुरा राज्य सञ्चालनको हो । संघीय सरकार र स्थानीय सरकारबीच आवश्यक समन्वय हुन नसकेको कारणले पनि यो समस्या बढ्दै गइरहेको छ ।
वर्तमान सरकार अधिनायकवाद उन्मुख छ भनेर सडकमै उत्रिएर खबरदारी गरिसक्नुभयो । कांग्रेसको खबरदारीपछि सरकारले सुध्रने संकेत देखायो त ?
पहिलो कुरा त नेपाली कांग्रेसले डा. गोविन्द केसीले उठाउनुभएका मागका विषयमा सम्बोधन गर्न सरकारलाई दबाब दिएको हो । सरकारले बलमिच्याइँ गरिसकेपछि कांग्रेसले सडक र सदनमा आफूलाई उतारेको हो । कांग्रेसले सरकारलाई मनलाग्दी गर्न दिएको भए अप्रिय घटना हुन सक्थ्यो । कांग्रेसकै खबरदारीका कारण केसीसँग सम्झौता गर्न सरकार बाध्य भयो । यही कारण कांग्रेस सरकारले चिकित्सा शिक्षा सुधारका लागि विगतमा ल्याएको अध्यादेश नै कानुन बन्ने कुरा सुनिश्चित भयो । यसमा हामी सफल भएका छौं । सरकारविरुद्ध सडकमा गइहाल्नुपर्छ भन्ने हाम्रो मान्यता थिएन । हामीले संसद्बाटै सरकारलाई दबाब दिइरहेका थियौं । एक दुइटा घटनाका आधारमै जननिर्वाचित सरकारका विरुद्ध सडकमा गएहाल्नु हुन्न भन्नेमा कांग्रेस थियो । तर सरकारले आफ्नो मर्यादा बिर्सियो । सरकारले एकपछि अर्को संविधान मिच्ने काम ग¥यो । त्यसैले गत साउन १५ गते देशैभरि कांग्रेसले खबरदारीसभा गरेको हो । अहिले नै कांग्रेस सडकमा नआइदिएहुन्थ्यो भन्ने जनताको चाहना पनि छ । त्यसैले अहिले हामी सडकलाई अन्तिम विकल्पका रूपमा सुरक्षित राखेर संसद् र राजीनितिक मञ्चहरूबाट सरकारलाई दबाब दिने मनशायमा छौं । हाम्रो सदाशयतालाई सरकारले कमजोरीका रूपमा लिनु भएन । अन्यथा सरकारले नसोचेको परिस्थिति सामना गर्नुपर्छ । हामी सरकारलाई असहयोग गर्ने प्रतिपक्ष होइनौं सरकारलाई गलत हुनबाट रोक्ने विपक्षी हौं ।
तपाईंहरूले निरन्तर सरकारको आलोचना गरे पनि सत्तापक्षले निर्वाचन हारेपछिको आक्रोश या सानो आकारको हीनताबोधका रूपमा लिइरहेको छ नि ?
कांग्रेस कुनै लघुताभाषमा छैन । हामीले सरकारलाई काम गर्न नदिने कहीँ गएर ताला लगाएका छैनौं । सरकारलाई काम गर्न नदिन कांग्रेसले जुलुस, अनशन वा नाराबाजी गरेको छैन । विपक्षीका रूपमा सरकारलाई हामीले खबरदारी गरेकै छौं । विरोध गर्नुपर्ने अवस्था सरकारले नै बनाएको हो । प्रधानमन्त्री र सरकारको रवैयाले यो अवस्था आएको हो । प्रधानमन्त्रीको काम नै कांग्रेसलाई गाली गर्नेजस्तो भएको छ । हिजो भोट माग्न जाँदा चुनाव जितेपछि कांग्रेसलाई गाली गर्छौं भनेझंै गरेर प्रधानमन्त्री र सरकारका मन्त्री अनावश्यक ढंगले कांग्रेसको विरोधमा लाग्नुभएको छ । यसको अर्थ कांग्रेसको विरोध गर्नेबाहेक सरकारले कुनै काम गरेको छैन भन्ने पुष्टि भएको छ । सरकारले सही गर्यो भने सबैले राम्रो भनेकै छन् नि । अरूले राम्रो भनेको हामीले नराम्रो भनेको अवस्था होइन नि । प्रधानमन्त्री स्वयंले छातीमा हात राखेर सत्य सोच्नुभयो भने महसुुस हुन्छ कि जनताको पक्षमा काम भएको छैन । जनताले सरकारसँग अपेक्षा गरे पनि त्यो निराशामा परिणत भएको छ । त्यसैले जनता निराश भइसक्दा पनि कांग्रेसले सरकारलाई चुपचाप हेरेर बस्दैन, हामी सशक्त प्रतिपक्षभको भूमिका निर्वाह गर्छौं ।
सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छौं त भन्नुभयो तर त्यस्तो सशक्त नेपाली कांग्रेस बनिसक्यो र ?
हामीभित्र निश्चय पनि समस्या छ । कांग्रेस पार्टीलाई सशक्त र बलियो बनाउने अभियान जारी नै छ । पार्टी सबै हिसाबले ठीकठाक छ, दुरुस्त छ र सशक्त अवस्थामा छ भनेर हामीले भनिहाल्ने अवस्था छैन । हामी सधैं हिसाबले सुध्रिएको वा सशक्त बनेको अवस्था नभएकोले अबको ध्यान यसैमा केन्द्रित गर्नुपर्छ । हाम्रो आन्तरिक प्रक्रियाहरूलाई छिटोभन्दा छिटो व्यवस्थापन गर्न हामी लाग्नुपर्नेछ । प्रतिपक्षको भूमिका प्रभावकारी बनाउन हाम्रो प्राथमिकता र रणनीति स्पष्ट पार्न आवश्यक छ । अहिलेमात्रै नभएर दीर्घकालीन रूपमा नेपाली कांग्रेसको अबको बाटो के हो भनेर तय गर्नका लागि थुप्रै काम गर्नुपर्छ । पार्टीलाई सशक्त बनाउने यो अभियान अझैं जारी छ, हामी लागिरहेका छौं ।
कांग्रेस केन्द्रीय समितिको बैठकले भदौमा महसमिति बैठक गर्ने निर्णय गरेको थियो । भदौ लागिसक्यो महासमिति बैठकको तयारी कहाँ पुग्यो ?
यस्ता विषयमा पार्टी नेतृत्वलाई हामीले अझै बुझाउन सकेनौं । महासमिति बैठक गर्नेजस्तो विषयमा ढिलासुस्ती गर्दा पार्टीलाई नै हानि हुन्छ भन्ने कुरा नेतृत्वले अझै बुझेको छैन । केन्द्रीय समितिको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न नै यत्ति धेरै उदासीन हुनुपर्ने बाध्यता नेतृत्वलाई किन प¥यो, हामीले पनि बुझेका छैनौं । त्यसैले केन्द्रीय समितिले निर्णय गरेको विषय पनि कार्यान्वयन हुन सकेन भने हामी पुराना कमीकमजोरी सच्याएर अघि बढ्न तत्पर रहेको पुष्टि हँुदैन । हाम्रा आन्तरिक संरचनाहरू अझै समस्याग्रस्त छन् । पार्टीले गर्नुपर्ने थुप्रै काम बाँकी छ । स्थानीय तहमा हाम्रो संरचना बनेको छैन । प्रदेश संरचनाको व्यवस्था विधानमा भए पनि त्यसको कार्यान्वयन भएको छैन । केन्द्रीय तहमा पनि थुप्रै संरचना खाली छन् । केन्द्रीय समितिमा हामीले यो विषय बारम्बार उठाएका छौं । भदौ मसान्तसम्म महासमितिको बैठक बस्ने निर्णय हामीले गरेका हौं । नेतृत्वले त्यहीअनुसार काम गरेको छैन । विधान मस्यौदा समिति बन्छ भनेर सभापतिजीले भन्नुभएको धेरै भइसक्यो । महत्वपूर्ण निर्णय एकलौटी लिन सक्ने नेतृत्वले अहिले किन ढिलाइ गरेको हो कुन्नि । नेपाली कांग्रेसभित्र विधान मस्यौदा समितिमा रहेर काम गर्न सक्ने क्षमता भएका सयौ साथीहरू छन् । उनीहरूलाई जिम्मेवारी दिए भइहाल्छ । यसमा धेरै जटिलता छैन । तर शीर्ष नेतृत्वका बीचमा कस्तो रणनीति चलेको छ भन्ने बुझ्न सकिएन । पार्टीको विधानका कतिपय विषय अनिवार्य रूपमा परिवर्तन गर्नुपर्नेछ । यदि गर्नु नै छ भने किन ढिलो गर्नु ? यो कुरा नेतृत्वले बुझ्नुपर्छ । जतिसक्दो चाँडो महासमिति सुनिश्चित गर्नुपर्यो ।
पार्टी परिवर्तन गर्नुपर्छ भनेर निर्वाचनलगत्तै तपाईंहरूले अभियानै थाल्नुभयो । ६ महिनामा केही पनि भएन । पार्टीको चालचलन त उस्तै छ नि ?
यो कुरा सत्य हो कि पार्टीभित्र परिवर्तनको प्रत्यक्ष संकेत देखिएको छैन । तर हामीले अभियान छाडेका छैनौं । पार्टीभित्र विधिविधान प्राथमिक हुनुपर्छ, सबैले अवसर पाउने र वैचारिक बहसमा खरो उत्रन सक्ने पार्टी बनाउनुपर्छ । हामीले नेतृत्वको परम्परागत शैली, पार्टीको रणनीति र प्राथमिकता फेर्नुपर्छ भनेका छौं । यसबारे केन्द्रीय समिति, जिल्ला सभापति भेला र देशैभरि हजारौं साथीहरूसँग निरन्तर छलफल भइरहेको छ । त्यसैले सुधारको लागि हाम्रो प्रयास जारी छ । त्यसका लागि महासमिति बैठक पनि महत्वपूर्ण छ । महासमिति बैठकले कांग्रेस सुधारका लागि धेरै निर्णय लिन सक्छ ।
महासमिति नै निश्चित छैन । तर पनि महासमितिबाट के निर्णय भयो भने कांग्रेस बलियो हुन्छ ?
हाम्रो मुख्य प्रस्ताव कांग्रेसको सांगठनिक सुधार हो । अहिले संघीय संरचनाअनुसारको हाम्रो संगठन नहुँदा हामी पछि परेका छौं । त्यसैले तल्लो तहदेखि नै कांग्रेसको संरचना तयार गर्नुपर्छ । त्यस्तै स्थानीय तह र राष्ट्रिय निर्वाचनमा हार व्यहोर्नुको कारणबारे छिनोफानो गर्नै बाँकी छ । तल्लो तहमा कांग्रेसको संरचना बनेन भने कांग्रेस सुध्रन्न सक्दैन । त्यसैले अहिले हामीले स्थानीय अधिवेशन सुरु गर्नुपर्छ । राष्ट्रिय महाधिवेशन नियमित समयमै भए पनि हुन्छ तर संघीयता बमोजिमको इकाइमा कांग्रेसका संरचना तयार गर्न बुथ, वडा, प्रादेशिक क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनमा हामी तत्काल होमिनुपर्छ । महासमिति बैठकलगत्तै स्थानीय अधिवेशन गर्नुपर्छ । पार्टीलाई विधिसम्मत चलाउने, प्रगतिशील विषयमा अघि बढ्ने, परम्परागत शैली अन्त्य गर्नुपर्छ, जनता र समाजमुखी एजेन्डा लिनुपर्छ भन्नेजस्ता विषय अबको महासमितिमा उच्च प्राथमिकतासाथ उठाउँछौं । परम्परागत गुटगत राजनीतिक प्रवृत्ति हटाउनुपर्छ ।
पार्टीलाई बहुपदीय व्यवस्थामा लैजाने, पदाधिकारी थप्नेजस्ता चर्चा भइरहेका छन् । यसबारेमा तपाईंको धारणा के हो ?
विधानलाई जिम्मेवारीका हिसाबले फराकिलो बनाउने कुरा स्वाभाविक छ । एउटै व्यक्तिमा जिम्मेवारी थप्नुभन्दा जिम्मेवार बाँडफाँड गर्नु विषय बढी लोकतान्त्रिक हुन्छ । यो विषय महासमितिको बैठकभन्दा महाधिवेशनबाट टुंग्याउनु राम्रो हुन्छ । १४ महाधिवेशनबाट बहुपदीय विधान पारित गरेर जानु राम्रो हुन्छ ।
तपार्इं नेविसंघको पूर्वअध्यक्ष पनि हुनुहुन्छ । नेविसंघको महाधिवेशन यसपटक पनि हुन सकेन । कि सधैं यस्तो ?
नेपाल विद्यार्थी संघलाई विधिसम्मत ढंगले चलाउन पार्टीले सहयोग गर्नुपर्छ । पार्टीले पर्याप्त चासो नदिएका कारणले पनि नेविसंघको विवाद बढेको हो । नेविसंघकै नेताहरू पनि पार्टीको गुटभित्र प्रवेश गर्ने र आफ्नो स्वार्थमा रमाउने गरेकाले पनि समस्या देखिएको हो । नेविसंघको व्यवस्थापन कांग्रेसको व्यवस्थापनभन्दा जटिल भइसकेको छ । अहिलेलाई मात्रै नभएर सधैंका लागि यो समस्या समाधान गर्नुपर्छ । त्यसको उपाय भएको वैधानिक हिसाबले महाधिवेशन गराउने नै हो । हरेक दुई वर्षमा महाधिवेशन हुने वातावरण बनाउने, पार्टीले सहयोगी भूमिका निर्वाह गर्ने हो भन्ने समस्या समाधान हुन्छ ।
तपार्इंको नेतृत्वमा प्रजातन्त्र सेनानी सम्मान अभियान सुरु भएको छ । के हो यो अभियान ?
नेपाली कांग्रेस नेपालको राजनीतिको एउटा विश्वविद्यालय हो । नेपालको आधुनिक राजनीति र निरंकुशता विरुद्धको संघर्ष नै कांग्रेसको इतिहास हो । कांग्रेसमा लागेर ५ प्रतिशत मान्छेले पद पाए होलान्, एकाध मान्छेले गम्भीर गल्ती गरे होलान् तर लाखौं नेपाली कांग्रेसका कार्यकर्ताहरूले देश र लोकतन्त्रका लागि ठूलो योगदान गरेका छन् । नेपाली कांग्रेसले पार्टीभित्रका त्यस्ता इमानदार प्रजातन्त्र सेनानीहरूलाई सम्मान दिन सकेका छैनौं । द्वन्द्वकालमा हाम्रा सयांै साथीहरू मारिए । हजारौं साथीहरू घाइते हुनुहुन्छ । माओवादीले सुराकीको आरोप लगाएका हाम्रा साथीहरू प्रजातन्त्र सेनानी हुन्, सुराकी होइनन् भन्नसमेत सकेनौं । त्यसैले पार्टीभित्र लामो समय योगदान गरेका प्रजातन्त्र सेनानीहरू निराश हुनुहुन्छ । उहाँहरूको लामो अनुभव र त्यागको जगमा नै आजको नेपाली कांग्रेस बनेको हो । त्यसैले नेपाली कांग्रेसमा आबद्ध भएर लोकतन्त्र र राष्ट्रहितका लागि लडेका प्रजातन्त्र सेनानीहरूको खोजी, अभिलेखीकरण र सम्मानका लागि हामी क्रियाशील भएका हौं । यसका लागि नेपाली कांग्रेसको जिल्ला समितिले नै धेरै काम गर्ने । हरेक जिल्ला आफ्नो जिल्लाभित्रका पुराना नेता, कार्यकर्ता, सेनानीहरूको रेकर्ड संकलन गर्ने, त्यस्तो अभिलेखलाई समेटेर केन्द्रीय स्तरमा पुस्तक प्रकाशन गर्ने र पार्टीका तर्फबाट आवश्यक सम्मान र सहयोग गर्ने हाम्रो उद्देश्य रहेको छ । हामी ७७ वटै जिल्लाका अग्रज कांग्रेसलाई सम्मान गर्ने र उहाँहरूको आशीर्वाद लिएर कांग्रेसलाई सुधार्ने अभियानमा छौं ।
प्रतिक्रिया