देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनेसास निर्वाचन : माफिया र नेताबाट जोगाऊ

देशान्तर

नेपाली भाषा र साहित्यको विकास र विस्तारका लागि भनेर नेपालमा मात्र होइन, विश्वका हरेकजसो मुलुक, जहाँ नेपाली पुगेका छन्, त्यहाँत्यहाँ संगठित र संस्थागत रूपमै संस्थाहरू स्थापना भएका छन् । यो नेपाली भाषा र साहित्यका लागि निश्चय नै सुखद पक्ष हो । तर यससँगै नेपाली भाषा र साहित्यका नाममा नेपालदेखि विश्वभर लडाइँ, द्वन्द्व, राजनीति तथा नेपाली–नेपालीबीचमा मनमुटाव पनि बढिरहेको देखिन्छ । यो पक्षचाहिँ चिन्ताजनक बन्दै गएको छ ।

नेपालबाहिर स्थापित विभिन्न साहित्यिक संस्थामध्ये पुरानोमा पर्छ– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) । सन् १९९० मा अवधारणाका रूपमा आएको अनेसास सन् १९९१ मा आएर विधान निर्माणको अवस्थामा पुग्यो भने सन् १९९३ मा अमेरिकाको वासिङ्टन डिसीमा विधिवत् दर्ता भयो । साहित्यकार होमनाथ सुवेदीलगायतको अग्रसरतामा स्थापित अनेसासले नेपाली भाषा र साहित्यको विकास र विस्तारमा महत्त्वपूर्ण कार्यहरू गर्दै आएको छ । विश्वभर नेपाली भाषाको प्रचार प्रसारमा पनि यस संस्थाको उल्लख्य भूमिका रही आएको छ । अझ संसारभर छरिएर रहेका नेपाली भाइबन्धुहरूलाई एकत्रित र संगठित गर्नु यसको महत्वपूर्ण उपलब्धि हो ।

यद्यपि, अनेसास पछिल्लो समय ‘धेरै बिराला’ भएको संस्था बन्दै गएको आभास भइरहेको छ । विगतका कामकारवाहीका तुलनामा अनेसासले खासै महत्वपूर्ण कार्य गर्न नसकेको आलोचना पनि भइरहेकै छ । यसको कारण संस्थाभित्रको मतभेद, देशमा झैँ अनेसासमा पनि बढ्दै गएको दलगत राजनीति र संस्थाभित्र मौलाउँदो जुँगाको लडाइँ प्रमुख कारण हुनसक्ने जानकारहरू बताउँदै आएका छन् । बाहिरबाट हेर्दा पनि अहिले सामाजिक संजाल र विभिन्न मिडियामा आएका अनेसासबारेका समाचार सामग्रीहरूले अनेसासप्रति शुभेच्छा राख्नेहरूले पनि यस्तै देख्न थालेका छन् । यो अनेसास जस्तो प्रवासमा रहेका सम्पूर्ण नेपाली भाषा र साहित्यप्रेमीहरूको साझा संस्था र छाता संस्था स्वयंका लागि पनि सुखद होइन भने नेपाली भाषा र साहित्यका लागि त अत्यन्तै दुःखद् विषय हो ।

पछिल्लो समय अनेसास सबैको साझा बन्न नसकेका कारण अनेसासले जति काम नेपाली भाषा र साहित्यका लागि गर्न सक्थ्यो, त्यति हुन सकेको छैन । विश्वभर आफ्ना शाखा (च्याप्टर) रहेको संस्थाले नेपाली भाषा र साहित्यलाई विश्वभर पुर्याउन, विश्व साहित्यमा अनुवाद र लेखनमार्फत नै नेपाली साहित्यलाई प्रवेश गराउन महत्त्वपूर्ण कार्य गर्न सक्थ्यो । तर, यो हुन किन सकेन ? प्रश्न पछिल्लो समय यसको नेतृत्व गर्नेहरूप्रति उठ्नु अस्वाभाविक होइन ।

भनिन्छ– ‘नेपाली विश्वका जुन स्थानमा पुगे पनि आखिर नेपाली नै रहन्छ ।’ सायद यही ‘तथ्य’ अनेसासका सन्दर्भमा पनि लागू भयो । अमेरिका, युरोप, जापान, अस्ट्रेलिया आदि जति समृद्ध र विकसित अनि सभ्य भनिएका मुलुकमा पुगे पनि नेपालीले आफ्नोपन अर्थात् देखासिकी, ईष्र्या, खुराफात, गद्दारी र लडाइँ अनि तथाकथित दलीय झोले राजनीतिलाई छाडेनन् । यसको परिणाम विदेशमा खुलेका हरेकजसो साहित्यिक, सामाजिक संस्थाहरू पवित्र उद्देश्यले खोलिएका भए पनि आपसमा द्वन्द्व बढाउने माध्यम मात्र बनिरहे ।

अनेसासले संस्थाको हाते किताब, २००४ मा आफ्नो लक्ष्यमा भनेको छ– ‘अनेसास नेपाली भाषा, साहित्य, कला, संगीत र नृत्यको अध्ययन, लेखन, प्रकशन, वितरण, अनुवादमार्फत् नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाउँछ ।’ तर के यी लक्ष्यमा अनेसास सफल हुनसकेको छ ? अथवा यी लक्ष्यप्राप्तिका लागि अनेसासले त्यस्ता गतिविधि र कार्यहरू गर्न सकेको छ ? छैन । किनभने अनेसास अहिले केही व्यक्तिहरूका लागि विदेश भ्रमण गर्ने आधार मात्र बनेको छ । नेपाली साहित्यमा कतिपय यस्ता अनेसासका पदाधिकारी र सदस्यहरूलाई ‘साहित्यिक माफिया’ भनेर समेत आलोचना गर्न थालिएको छ । अनि रमाइलो पक्ष के छ भने यस्तै व्यक्तिहरू पुनः पुनः अनेसासको नेतृत्वमा आइरहने गरेका छन् ।

लाग्छ, अनेसासमा ‘प्रज्ञा’ भएका व्यक्तिहरूको अभाव छ । त्यहाँ त पैसा र पद भएकाहरूको बाहुल्य छ, जो पैसाकै आडमा पटक पटक संस्थाको नेतृत्वमा आउँछन् र विदेश घुमेर मस्ती गर्छन् साहित्यका नाममा ।

अहिले पुनः सन् २०१८–२०२० का लागि अनेसासको निर्वाचन हुँदै छ । केही दिनभित्रै अनेसासले नयाँ कार्यसमिति पाउनेछ । तर निर्वाचनको माहोल र आकांक्षीका तौरतरिका हेर्दा यस्तो लाग्छ, नेपाली भाषा र साहित्यको विकास र विस्तारमा होइन, यिनीहरू भाषा र साहित्यका नाममा दलाली गरिरहेका छन्, राजनीति गरिरहेका छन् र साँच्चै नेपाली भाषा र साहित्यका नाममा माफियागिरी गरिरहेका छन् । कोही प्यानल बनाएर चुनावमा उत्रिएका छन् भने कोही स्वतन्त्रका नाममा । प्यानल बनाउनेहरूले साहित्यका नाममा दलाली गर्नेहरूलाई मुख्य भूमिका दिएका देखिन्छ भने स्वतन्त्रहरूले पनि निहीत स्वार्थलाई ध्यान दिएर भित्रभित्रै अघोषित प्यानल खडा गरेको देखिन्छ । तर घोषित प्यानल र अघोषित प्यानल दुवैतर्फको तुलना गरेर मतदाताले मत हाल्नेछन् । यद्यपि, जसले जिते पनि अनेसास अब स्वार्थी र राजनीतिको फन्दामा परिसकेको आभास भने भइसकेको छ । यसका संस्थापक र संरक्षकहरू ज्यूँदै र सक्रिय नै रहेको अवस्थामै अनेसासलाई माफिया र नेताबाट बचाउनु उनीहरूको अहम् दायित्व हो ।