देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशान्तर मर्निङ्ग ब्रिफिङ्गः के के हुँदैछ आज ?

देशान्तर

काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा आज पनि थप विधेयकहरु प्रक्रियामा अगािड बढ्ने भएका छन् । हिजो संसदमा पेश भएका विधेयकलाई छलफलका लागि प्रक्रियामा लैजाने संसद सचिवालयले जनाएको छ ।

हिजो कार्यसूचीमा राखिएका सुरक्षित मातृत्व तथा प्रजनन स्वाथ्य अधिकार विधेयक, उपभोक्ता संरक्षण विधेयक र निवृत्तभरण कोष विधेयक माथीको स्रैद्धान्तिक छलफल आज हुनेछ । प्रतिनिधि सभाको आजको बैठक विहान ११ बजेका लागि बोलाइएको छ ।

विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ पनि दिनुहुनेछ । प्रतिनिधि सभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक र राहदानी विधेयक स्वीकृत भएको छ ।

हिजो बसेको प्रतिनिधि सभाको बैठकले नागरिकता सम्वन्धी विधेयक बहुमत र राहदानी सम्वन्धी विधेयक सर्वसम्मतीले स्वीकृत गरेको हो ।
त्यस्तै आज संसदको प्रभावशाली मानिएको सार्वजनिक लेखा समितिको बैठक पनि बस्दैछ ।

लेखा समितिको बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र बेजुरुबारे छलफल हुने जनाएको छ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेपछि न्यायपालिकाका विषयमा विभिन्न कोणबाट आशंका प्रश्न उठिरहेको बेला न्यापालिकाको विषयमा संवैधानिक कानुन व्यवसायी मञ्चले दिउँसो पूर्वप्रधानन्यायधिश केदारनाथ उपाध्याय, पूर्व न्यायाधीश बलराम केसी, पूर्वसभामुखहरु दमननाथ ढुंगाना र सुवासचन्द्र नेम्वांङलगायतको उपस्थितिमा छलफल गर्दैछ ।

त्यस्तै तेस्रो मुलुकबाट आयात हुने उपभोग्य वस्तु बोकेका ठूला मालवाहक कन्टेनर सीधै काठमाडौंमा प्रवेश गर्न पाउने भएका छन् । काठमाडौंको चोभारमा सरकारले निर्माण गर्न लागेको ‘काठमाडौं कन्टेनर फ्रेट स्टेसन’ (सुक्खा बन्दरगाह) मा तेस्रो मुलुकबाट सीधै मालवाहक कन्टेनर ल्याउने व्यवस्था गर्न लागिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको विकास समितिले यो स्टेसन निर्माण गर्न लागेको हो । सुक्खा बन्दरगाहको शिलान्यास आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै हुनुहुन्छ । सरकारले बन्दरगाह निर्माणका लागि हिमाल सिमेन्टको एक हजार ५४ रोपनी जग्गा उपलब्ध गराएको छ । यसमध्ये दुई सय १० रोपनीमा बन्दरगाह र बाँकी क्षेत्रफलमा बन्दरगाहको अगाडि अत्याधुनिक अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण हुनेछ ।