देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जथाभावी कर बढाइएको भन्दै सांसदद्धारा सरकारको ध्यानाकर्षण

देशान्तर

काठमाडौं । सांसदहरूले स्थानीय तहमा जथाभावी कर लगाइएको भन्दै त्यसलाई पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरूले स्थानीय करलाई वैज्ञानिक आधारमा निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यसैगरी सांसदहरूले आ-आफ्ना क्षेत्रका विषयगत समस्यामा पनि सरकारको ध्यानाकर्षण गराएका छन्। पार्वता देशी चौधरीले स्थानीय तहमा विविध विषयमा जथाभावी कर बढाउँदा सर्वसाधारण मर्कामा परेको भन्दै उनले चर्को कर असुली गर्दै सरकारले जनतालाई न्यूनतम सुविधा दिन नसकेको भन्दै वैज्ञानिक कर प्रणाली लागू गर्न सरकारको ध्यानाकर्षण गराए।

पूर्ण कुमारी सुवेदीले स्थानीय तहमा लगाइएको करबारे असन्तुष्टि बढेको भन्दै त्यसबारे पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद प्रकाश रसाईली स्नेहीले सर्वत्र सरकारले लगाएको करको विरोध भइरहेको भन्दै सरकारले करको बरदान पाएको रहेछ भनी व्यंग्य गरे। उनले कुनरकुन विषयमा केरकति कर घटाइएको हो सदनलाई जानकारी गराउन माग गरे।

सांसद प्रमिला राईले मूल्यवृद्धिबाट आक्रान्त सर्वसाधारणबाट सामान्य विषयमा पनि कर असुली गर्न थालिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद दल बहादुर रानाले कानून नबन्दासम्म सम्बन्धित गाउँ, नगरपालिकालाई चुन ढुंगामा लगाइएको कर निकासीको रेकर्ड राख्ने व्यवस्था मिलाउन उद्योग मन्त्रालयको ध्यानाकर्षण गराए।