काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि सामान्य रुपमा यातायातका साधन चलिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तर लामो दूरीका यातायातका साधन भने हिजो अस्तिभन्दा आज कम चलेका छन् ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेपछि लामो दूरीका गाडी सञ्चालनमा प्रभाव परेको हो ।
काठमाडौंबाट पूर्वका लागि छुट्ने यातायातका साधन चले पनि पश्चिमी क्षेत्रमा जाने यातायातका साधन खासै नचलेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले सुरक्षा दिइरहेकाले ढुक्क भएर गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।
बन्द आह्वानका कारण उपत्यकाका धेरैजसो शैक्षिक संस्थामा भने बन्दको प्रभाव परेको छ । बिहानै खुल्ने विद्यालय तथा क्याम्पसमा पढाइ हुन सकेको छैन । यसले गर्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
विस्फोट र आगजनी
नेत्रविक्रमम चन्द नेतृत्वले गरेको बन्दको सामान्य प्रभाव परेको भएपनि देशका केही स्थानमा बम विस्फोट र आगजनीका घटना भएका छन् । राजधानीको नैकापमा प्रेसर कुकर बम फेला परेको छ ।
नेपाली सेनाको टोलीले बम डिस्फोजल गरेका छन् । बिहान तरकारी किन्न जाने क्रममा एक स्थानीयले खतरा लेखिएको प्रेसर कुकर भेटेपछि प्रहरीलाई खबर गरेका थिए । यता सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।
त्यस्तै ललितपुरको ग्वार्खुमा पनि प्रेसर कुकर बम फेला परेको छ । सेनाले बिहानै बम डिस्पोजल गरिएको छ । उता पूर्वी नवलपरासीको गैंडाकोटमा आज बिहान दुईवटा ट्रकमा आगजनी भएको छ । स्थानीय भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी भएको हो । आगजनीबाट ट्रकमा क्षति पुगेकोे छ ।
यता जाजरकोटको भेरी नगरपालिका थाप्लेचौरमा पनि संकास्पद बस्तु फेला परेको छ । उत्त, संकास्पद बस्तु शक्तिशाली बम भएको आशंका गरिएको छ ।
बम भएको हुन सक्ने आशंका गरिएसँगै उक्त स्थानमा सेना, शसस्त्र प्रहरी र जनपद प्रहरीले कडा सुरक्षा दिएका छन् भने सर्वसाधारणको आवत जावतमा रोक लगाइएको छ । उता रौतहटको चन्द्रनिगाहपुर बजारमा फेला परेको बम नेपाली सेनाले बिहानै डिस्पोज गरिएको छ ।
पूर्वको जनजीवन प्रभावित
नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव मोरङसहितका पूर्वका जिल्लामा केही परेको छ । बन्दका कारण विराटनगरबाट काठमाडौँका लागि छुट्ने केही माइक्रो बसबाहेक अन्य सवारी ठप्प रहेको ट्राफिक कार्यालय विराटनगरले जनाएको छ ।
बन्दका कारण बजार तथा चोकमा प्रहरीको उपस्थिति बाक्लो रहेको छ । त्यसैगरि शैक्षिक संस्था, बजार तथा उद्योग कलकारखानासमेत बन्द अवस्थामा रहेको छ ।
प्रतिक्रिया