काठमाडौं । केपी ओली सरकारले आफ्नो पाँच महिने अवधिमा उल्लेख्य काम गर्न सफल भएको जनाएको छ । रंगीन ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक गर्दै वर्तमान सरकारका ५ महिनाका काम र अब गर्ने कामहरुको विवरण दिइएको छ ।
सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा कुनै भूमिका लेखिएको छैन । कुनै कामहरु गर्न नसकिएको वा किन हुन सकेन भन्नेबारेमा जनगुनासाहरुमाथि कुनै टिप्पणी नगरी के के कामहरु भए भन्ने विवरणमात्रै प्रस्तुत गरिएको छ ।
सरकारको ५ महिने प्रगति समेटिएको पुस्तकमा बुलेट रेलको तस्वीरसमेत देख्न पाइन्छ । तर, विवरणमा सरकारका कमजोरीबारे चर्चा छैन । मन्त्रालयगत कामहरुको विवरण दिइसकेपछि सरकारको ५ वर्षे मार्गचित्रसम्बन्धी केही ग्राफिक्सहरु दिइएको छ ।
विवरणको अन्त्यमा संक्षेपमा बजेट शीर्षकमा आमेली सरकारले ल्याएको बजेटबारे ग्राफिक्ससहितको जानकारी गराइएको छ । ओली सरकारको पाँच महिने प्रगति विवरण समेटिएको पुस्तकमा अत्याधुनिक बुलेट रेलको तस्वीरसमेत देख्न पाइन्छ ।
सरकारले आफ्नो उपलब्धीको रुपमा सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा ढिलासुस्ती अन्त्य, औचित्यहीन भ्रमणमा नियन्त्रण लगायतका विषयलाई उपलब्धीको रुपमा उल्लेख गरेको छ ।
डुवान समस्याको दीर्घकालीन समाधान, जलमार्गको स्थलगत अध्ययन, लक्ष्यभन्दा बढी राजस्व संकलन, विकास खर्चमा वृद्धि, नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबास रेलमार्गको ट्रयाक
को ८० प्रतिशत काम सम्पन्न, नागढुंगामा सुरुङ मार्ग निर्माण हुनुलाई सरकारले उपलब्धीको सूचीमा राखिएको छ ।
सरकारले ५ महिनाको अवधिमा ९० वटा तुइन विस्थापित गरेको पनि जनाइएको छ । भेरी बबई डाइभर्सनको ६ किलोमिटर सुरुङ निर्माण, काठमाडौं तराई फास्ट ट्रयाकमा १९ हजार रुख काटिनु, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोटलाई पनि सरकारले आफ्नो उपलब्धीमा राखेको छ ।
यता, नेपाली कांग्रेसले ओली सरकारको ५ महिने कार्यकाल अर्थहिन भएको बताएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले पाँच महिने उपलब्धी सार्वजनिक गर्नु स्वाभाविक भएको बताएका छन ।
उनले सरकारको पाँच महिने कामलाई अर्धवार्षिक परीक्षाको संज्ञा दिँदै यो अवधिलाई बहुमतको सरकारले उर्वर ढंगले सदुपयोग गर्न नसकेको दाबी गरेका छन । शर्माले यो सरकार उमंगले नाँच्ने बेला नभएको भन्दै ओली सरकारले चुकेका विषयमा गम्भीर हुनुपर्ने बताएका छन ।
शर्माले सिन्डिकेट अधुरै रहेको र होहल्ला बढी भएको भन्दै समृद्धिको रेलले मात्र बिकास नहुने बताए ।
उनले ३३ किलो सुन तस्करीमा सरकारकै एक मन्त्रीले ठुला माछा फेला पार्न बाँकी छन् भने पनि अझैसम्म नागरिकले देख्न नपाएको दावी गर्दै राष्ट्रियताकै सवालमा पनि प्रधानमन्त्री हुनुअघि र मोदी आउँदाको सन्दर्भ फरक भएको बताएका छन ।
देशान्तरसंगको छोटो कुराकानीमा प्रवक्ता शर्माले सरकारले मूल्यवृद्धि र लोकतन्त्रमा विपक्षीले गर्ने प्रदर्शन आदिमा पनि सही भूमिका निभाउन नसकेको आरोप लगाएका छन ।
प्रतिक्रिया