देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

७६ प्रतिशत डाक्टर फेल

देशान्तर

काठमाडौं । लाखौं तिरेर पढेका डाक्टरमध्ये लाइसेन्स परीक्षामा ७६ प्रतिशत फेल भएका छन् । अब उनिहरुले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन । डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक—पटक आमरण अनशन बसिरहेको अवस्थामा एमबीबीएस पास गरेका विद्यार्थीको हालत भने कम्जोर देखिएको छ ।

नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षामा २४ प्रतिशत मात्र पास भएका छन । काउन्सिलको परीक्षामा सात सय ७६ जना एमबीबीएस अध्ययन सकेका विद्यार्थी सहभागी थिए ।

नौ जना परीक्षार्थी फाराम भरेपनि परीक्षामा अनुपस्थित थिए । कुल परिक्षार्थीमध्ये १ सय ८९ जनामात्र उत्तीर्ण भएको काउन्सिल सदस्य एवं प्रवक्ता डा. कृष्ण अधिकारीले जानकारी दिए ।

असफल हुने परीक्षार्थी स्वदेश र विदेशमध्ये कुन ठाउँ र कलेजमा अध्ययन गरेका हुन् भन्ने छुट्याई नसकिएको अधिकारीले बताए ।

वर्षमा तीन पटक लिइने परीक्षामा यसपटक सबैभन्दा धेरै असफल भएको काउन्सिलले जनाएको छ । गत वर्ष मंसिरमा लिएको परीक्षामा ३९ प्रतिशत परिक्षार्थी असफल भएका थिए ।

काउन्सिल सदस्यसमेत रहेका नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष प्राध्यापक डा. ढुण्डीराज पौडेलले लाखौं खर्च गरेर पढेका विद्यार्थी लाइसेन्सिङ परीक्षामा असफल भएको देख्दा आफूलाई चिन्ता लागेको बताए ।

उनले विद्यार्थीहरूमा फ्रस्टेसन आउने र गलत बाटोतिर लागेर अप्रिय घटना हुन सक्ने डर उत्पन्न भएकाले यसमा सबै पक्ष गम्भीर हुनु पर्ने बताए ।

यसअघिका परीक्षामा समेत असफल भएका विद्यार्थीको संख्या धेरै भएकाले अनुत्तीर्ण भएको काउन्सिल पदाधिकारी बताउँछन् । यस्तो नतिजा आउनुमा पढाउने शिक्षक, कलेजको वातावरणलगायत विभिन्न पक्ष जिम्मेवार रहेको डा. अधिकारीले बताए । उनले वर्षभरि तीनपटकको उत्तीर्ण औसतदर ६० देखि ७० प्रतिशत हुने गरेको बताए ।

एमबीबीएस कोर्स सक्न विद्यार्थीलाई ६ वर्ष लाग्छ । ६ वर्षअघि एमबीबीएस अध्ययन गर्न काउन्सिलको प्रवेश परीक्षा उत्तीर्ण गर्नु पर्ने व्यवस्था थिएन ।

२०७२ सालमा सरकारले स्वेदश र विदेशमा एमबीबीएस अध्ययन गर्नका लागि प्रवेश परीक्षा दिनुपर्ने र काउन्सिलबाट अध्ययन अनुमतिपत्र अनिवार्य चाहिने प्रावधान थपेको थियो ।

त्यसयता एमबीबीएसका लागि बाहिर जाने विद्यार्थी संख्या घटेको छ । काउन्सिल अध्यक्ष प्राध्यापक डा. धर्मकान्त बास्कोटाले योग्य र मेधावी विद्यार्थीले मात्र एमबीबीएस पढ्ने भएकाले आउँदो चार वर्षपछि लाइसेन्सिङ परीक्षामा अपेक्षाअनुरूप नतिजा हुने विश्वास लिएको बताए ।

डा. पौडेलले परीक्षार्थी फेल भए पनि काउन्सिलले परीक्षाको स्तरीयतामा सम्झौता गर्न नहुने बताए । विद्यार्थी, शिक्षक र अभिभावकलाई काउन्सिलिङ गर्नु पर्ने खाँचो रहेको भन्दै विशेष प्याकेज ल्याएर परीक्षाको स्तरीयता बढाउनुपर्ने बताए । आजको अन्नपूर्णमा खबर छ ।