काठमाडौँ । नेपाल र भारतको सीमा क्षेत्रमा हुने सीमा सुरक्षा र अपराधिक गतिविधि नियन्त्रणलगायतका विषयमा छलफल गर्न दुवै मुलुकका उच्च सुरक्षाअधिकारीहरुको बैठक सुरु भएको छ ।
नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरु सम्मिलितको तेस्रो बैठकमा विशेषगरी सीमाको सुरक्षा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण, मानवतस्करीजस्ता विषयमा केन्द्रित हुने बताइएको छ ।
दइदेशबीचको सीमा सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय स्तरमा सूचना आदानप्रदान तथा सञ्चार सेवा दुरुस्त बनाउने विषय पनि बैठकको एजेण्डामा रहेको नेपाली प्रतिनिधिमण्डलले जनाएको छ ।
सीमा सुरक्षाको जिम्मेवारी सम्हालिरहेको सशस्त्र सुरक्षा बलको क्षमता अभिवृद्धिका लागि दुई पक्षीय तालिमका विषयमा पनि छलफल हुने बताइएको छ । यसबाहेक परराष्ट्र र गृह मन्त्रालयसँग जोडिएका अन्य विषयहरुमा पनि छलफल हुने छन् ।
बैठकमा सहभागी पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गरेका छन् ।
प्रतिनिधिमण्डलमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत डा. इला मैनाली छन् ।
प्रतिक्रिया