काठमाडौं । नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशभर प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावादी भएको, मूल्यवृद्धि गरेको र कानुनविपरीत निषेधित क्षेत्र घोषणा गरेकोलगायत सरकारका कामकारवाहीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो ।
लोकतन्त्रिक पद्धतिको रक्षाका लागि भनेर कांग्रेस देशव्यापीरूपमा सडकमा उत्रिएको हो । कांग्रेसले भ्रष्टाचार र कुशासनविरुद्ध पनि सडकमा उत्रिनुपरेको जनाएको छ । उता कैलालीको धनगढीमा नेपाली कांग्रेस जिल्ला कार्य समितिले वृहत विरोध जुलश निकालेको छ । चौराहाबाट सुरु भएको विरोध जुलुश पार्क मोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।
रामचन्द्र पौडेल पनि
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारका पछिल्ला कामकारवाहीप्रति तीव्र विरोध जनाएका छन् । नेपाली कांग्रेसले मंगलबार गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले सरकारको कामकारवाहीप्रति आलोचना गरेका हुन् ।
उनले रातोझन्डा ओढेपछि सबै खत माफि हुने व्यवस्था लागु गर्न लागिएको बताए ।
“रातो झन्डा ओढेपछि सबै खत माफ हुन्छ ? भ्रष्टाचार गरे पनि हुन्छ । बलात्कार गरे पनि जेल जानुपर्दैन । मान्छे मारे पनि हुन्छ । हिजो लुटेका सम्पत्ति पास गराउने खेल भएको छ,” पौडेलले आक्रोश व्यक्त गर्दै भने । उनले सीमित व्यक्तिलाई धनी बनाउने प्रयास भएको भन्दै सरकारको आलोचना गरे ।
“संघीयता, लोकतन्त्र र गणतन्त्र कार्यान्वयनतिर यो सरकार अघि बढेको छैन,” उनले भने, “अधिकार प्रधानमन्त्रीमा केन्द्रित हुँदैछ ।” उनले प्रधानन्यायाधीशलाई संसदीय सुनुवाई समितिले अनुमोदन नगरे प्रधानमन्त्री, सभामुख र न्यायपरिषदका पदाधिकारीलाई कारवाही गरिनुपर्ने बताए
काठमाडौंमा विरोध जुलुस
काठमाडौं उपत्यकामा रत्नपार्कको शान्ति बाटिकामा विरोध र्याली र सभा आयोजना गरिएको छ । शान्तिबाटिकाबाट सुरु भएको जुलुस, भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटिकामा आएर कोणसभामा परिणत हुने छ ।
पोखरामा प्रदर्शन
नेपाली कांग्रेसले पोखराको चिप्लेढुंगामा सरकारविरुद्ध प्रर्दशन गरेको छ । पृथ्वीचोकदेखिे विरोध र्याली सुर गरी चिप्लेढुंगा (विपीचोक)मा आएर कोण सभा गरेको छ । जुलुसका सहभागीले कम्युनिष्ट सर्वसत्तावाद मुर्दावाद, उखान तुक्का बन्द गर, मार्सी चामल खाएर जनता मार्न पाइदैन, मूल्य बृद्धि फिर्ता गरलगायतका नाराहरु लगाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागे । नेपाली चेलीमाथि तुच्छ आरोप लगाउने कानून मन्त्री शेरबहादुर तामाङको केसमा प्रधानमन्त्री पनि जिम्मेवार भएकाले ओलीले राजीनामा दिनुपर्ने उनको भनाई थियो ।
जोशीलाई प्रधानन्यायाधीश बनाउन गच्छदारको माग
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले दीपकराज जोशीलाई नै प्रधानन्यायाधीश बनाउनुपर्ने माग गरेका छन् । उनले ३० वर्ष न्याय सेवामा काम गरिसकेको व्यक्तिको प्रमाणपत्र छानबिन गर्नुपर्छ भन्नु बाहनामात्र भएको बताए । ३० वर्षसम्म विवाद नभएको प्रमाणपत्रमा अहिले विवाद गरिएको भन्दै गच्छदारले प्रधानन्यायाधीशमा जोशीकै नियुक्ति हुनुपर्ने माग गरे ।
प्रतिक्रिया