पत्रकारिता समाजमा अत्यन्तै प्रतिष्ठित पेशा मानिन्छ । देश देशावरका घटना/दुर्घटनालाई तथ्य रूपमा तत्काल सर्वसाधारणसम्म पुर्याउने भएकाले पनि पत्रकारिताप्रतिको सम्मान उच्च रहँदै आएको छ समाजमा । तर यही पत्रकारिताले जब आफ्नो धर्म वा कर्तव्य बिर्सन थाल्छ अनि समाजबाट प्राप्त सम्मान र विश्वास पनि गुमाउँदै जान्छ ।
पछिल्लो समय सूचना र सञ्चारको विकासले गर्दा विश्व नै एउटा सानो गाउँमा रूपान्तरण भएको छ । विश्वका जहाँसुकैका घटना पनि केही सेकेण्ड वा मिनेटभरमै संसारभर फैलिन्छन् अहिले । अझ सामाजिक सञ्जालको व्यापक प्रयोग र विस्तारका कारण सूचनाको व्यापकीकरण अत्यन्तै धेरै र तीव्र बनेको छ ।
मिडिया र सञ्चारकर्मीको दायित्व हो– सत्यतथ्य सूचनाको द्रुत र सन्तुलित प्रवाह । यो दायित्वबाट विमुख मिडिया र सञ्चारकर्मी नहुन् भन्नका लागि राज्यले सञ्चारसम्बद्ध विभिन्न कानुन बनाइदिएको हुन्छ भने मिडिया र सञ्चारकर्मी (पत्रकारसमेत)ले पनि आफूलाई विधि विधान अनि व्यावसायिक आचरणभित्र राख्नका लागि आचारसंहिता बनाएका हुन्छन् । त्यसलाई पालना गर्नु उनीहरूको दायित्व पनि हुन्छ । यद्यपि, यस्ता कानुन र आचारसंहिता पालनामा धेरैजसो मिडिया तथा सञ्चारकर्मी/पत्रकार चुकिरहेका पाइन्छ ।
पत्रकार निष्पक्ष र स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता रहिआएको छ । पत्रकार आचारसंहिताको साझा विशेषता वा बुँदासमेत हो– निष्पक्षता र स्वतन्त्रता । निष्पक्षता भन्नु कुनै कसैको समर्थन वा विरोधमा नरहनु हो । पीडक वा पीडित कुनै पनि पक्षको वकालत नगर्नु हो । घटना जे जस्तो छ र जसरी भएको छ, त्यसलाई जस्ताको त्यस्तै सञ्चारमाध्यमबाट प्रस्तुत गर्नु हो । उक्त घटनाबारे समाचार सामग्रीमै पत्रकार/सञ्चारकर्मीले आफ्ना मत वा धारणा नदिनु हो । यो समाचार सामग्रीका विषयमा मात्र लागू हुन्छ । विश्वभरको अभ्यासलाई हेर्दा पनि यही देखिन्छ ।
तर पत्रकार/सम्पादक/सञ्चारकर्मी आफैँमा निर्जीव वस्तु होइन । ऊ यही समाजको अंग र उत्पादन हो । ऊसँग सामाजिक चेतना र मानवीय संवेदना हुन्छ, उसका व्यक्तिगत विचार र दर्शन हुन्छन् । सत् र असत् छुट्याउने/विश्लेषण गर्ने खुबी हुन्छ । यसर्थ एउटा सञ्चारकर्मी/सम्पादक/पत्रकार कहिल्यै पनि निष्पक्ष रहन सक्दैन । घटना वा विषयको पक्ष वा विपक्षमा घोषित/अघोषित रूपमा ऊ रहेकै हुन्छ ।
हरेकजसो मिडिया (विशेषगरी छापा र अनलाइन)मा पत्रकार/सम्पादकले कुनै तात्कालीक विषय वा सन्दर्भमा आफ्ना विचार अनि दृष्टिकोण दिइरहेका हुन्छन्– लेख वा सम्पादकीयमार्फत । लेख र सम्पादकीय समाचार कहिल्यै होइनन् । र, ती लेख अनि सम्पादकीय पत्रकार वा सम्पादकले नै लेख्ने हुन् । त्यसमा उनीहरूले समाचारमा जस्तो ‘निष्पक्षता’ देखाउनु आवश्यक छैन । कुनै विषय वा सन्दर्भप्रतिको पत्रकार/सम्पादकको धारणा वा दृष्टिकोण नै प्रस्तुत गर्ने हो तिनमा । तब कसरी भन्न सकिन्छ कि पत्रकार वा सम्पादक पूर्ण रूपमा निष्पक्ष हुनुपर्छ ?
स्वतन्त्रताको सन्दर्भ पनि यस्तै हो । कुनै पक्ष वा विपक्षको दबावमा वा प्रभावमा नपरी सूचना सम्प्रेषण गर्नु नै स्वतन्त्रता हो । तर मिडिया वा सञ्चारकर्मी/पत्रकार/सम्पादक स्वतन्त्र रहिरहन सक्छ वा स्वतन्त्र हुन्छ भन्नु पनि ‘मानौँ’ मात्र हो । सञ्चारकर्मी वा पत्रकारसँग विवेक, दृष्टिकोण अनि आफ्नै आदर्श छ भने उसले सत् वा असत् अथवा सही/गलतको मूल्याङ्कन गर्छ नै र विवेकशील मान्छेले सत्को पक्षमा प्रत्यक्ष/परोक्ष वकालत गर्छ नै । यसलाई ‘पक्षपाती’ होइन– पत्रकार/सम्पादकको सत्प्रतिको सम्मान भन्ने बुझ्नु ठीक हुन्छ ।
विश्वमा चार सय वर्षदेखिको पत्रकारिताको इतिहास र अभ्यास अध्ययन गरिहेरौँ न– सत्रौँ शताब्दीको मध्यदेखि सुरु भएको पत्रकारिताको इतिहासमा जहिले पनि मिडियाले सत्ताको प्रतिपक्षीको भूमिका निभाउँदै आएको छ । बेलायतमा रहेको तत्कालीन निरंकुश शासन व्यवस्थाविरुद्ध उसबेलाका त्यहाँका पत्रिका लागेकै थिए– जसका कारण कति जेल परे, कति देशनिकाला भएर अन्य देशमा गएर पनि पत्रिकामार्फत बेलायती शासकको निरंकुशताको विरोध गरिरहे । तत्कालीन अमेरिका, जो बेलायतकै उपनिवेश थियो, त्यहाँका पत्रिकाले पनि बेलायती उपनिवेशविरुद्ध अभियानै चलाएका थिए । एसियाकै सन्दर्भमा अठारौँ शताब्दीको अन्त्यतिर बेलायती उपनिवेशकै क्रममा भारतमा सुरु भएको पत्रकारिताले पनि भारतमा बेलायती उपनिवेशको चर्को विरोध गरिरह्यो । नेपालकै सन्दर्भमा आधिकारिक रूपमा अखबारकै रूपमा प्रकाशित सरकारी पत्रिका गोरखापत्रबाहेक त्यस समय र त्यसपछि प्रकाशित साहित्यिक र अन्य पत्रिकाले राणाशासनको विरोध गरिरहे । त्यसपछि पञ्चायतकालमा पनि अखबारहरूले पञ्चायतविरोधी अभियान नै सुरु गरे । कति सम्पादक/प्रकाशकले जेलनेल र यातना भोगे ।
यसरी हेर्दा पत्रकारिता वा पत्रकार कहिल्यै ‘निष्पक्ष’ र ‘स्वतन्त्र’ छैन । निष्पक्षता र स्वतन्त्रता समय तथा परिस्थितिअनुकूल व्याख्या गरिएको मात्र छ । हिजो राणाकाल/पञ्चायतकाल/ज्ञानेन्द्रकालमा नेपाली पत्रपत्रिका र पत्रकारले गरेको मिसन पत्रकारितामा निष्पक्षता तथा स्वतन्त्रता देख्नेहरू आज सरकारका गलत अनि स्वेच्छाचारी निर्णय एवं क्रियाकलापविरुद्ध लेख्दा/बोल्दा निष्पक्षताका साथै स्वतन्त्रता गुमेको बताउँछन् ।
सन्दर्भ केही दिनअघि झन्डै एक महिनादेखि चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै १५औँ अनशन बसिरहेका डा. गोविन्द केसीप्रति १४ जना सम्पादक÷पत्रकारले जनाएको ऐक्यबद्धताबारे । अहिले यो विषय नेपाली पत्रकारिता क्षेत्रमा निकै चासो र बहसको विषय बनिरहेको छ । यसरी ती पत्रकार/सम्पादक सरकारविरुद्ध अनशन बसिरहेको व्यक्तिका पक्षमा समर्थन गर्न जानुहुँदैनथ्यो भन्ने एकाथरी तर्क रहँदै आएको छ भने अर्काथरीको मत पत्रकार जिम्मेवार नागरिक पनि हो र उसले व्यक्तिगत रूपमा आफूलाई सही र उपयुक्त लागेको सन्दर्भ, विषय वा व्यक्तिलाई समर्थन जनाउन पाउँछ भन्ने छ ।
माथि नै भनियो कि पत्रकार निर्जीव वस्तु होइन– ऊ एक जिम्मेवार नागरिक, विवेकशील मानव र समाजको मार्गदर्शक पनि हो । यसर्थ पत्रकारलाई मुढो वा ढुङ्गोका रूपमा मात्र हेरिनु अत्यन्तै सङ्कीर्ण धारणा हो । मात्र कुरा यति हो कि पत्रकारिताका सन्दर्भमा समाचार लेखनका क्रममा स्रोतले दिएका सूचनाका आधारमा जे हो– त्यहीमात्र दिने हो । समाचारमा आफ्ना स्वार्थ वा मत वा धारणा प्रस्तुत नगर्ने हो । समाचारलाई तोडमरोड नगर्ने हो । कसैका स्वार्थका निम्ति समाचार सामग्री प्रस्तुत नगर्ने हो । समाजमा हिंसा बढाउने, सामुदायिक उत्तेजना बढाउने, राज्य र समाजलाई विखण्डन गर्ने गरी समाचार सामग्री प्रस्तुत नगर्ने हो । तर यसको आसय पत्रकार वा सम्पादक सजावटको निर्जीव वस्तु होइन ।
केसीका मुद्दामा केही पत्रकार/सम्पादकले जुन ऐक्यबद्धता जनाए– त्यो उनीहरू पत्रकार/सम्पादकका हैसियतमा मात्र होइन– एक जिम्मेवार र विवेकशील नागरिकका हैसियतमा पनि जनाएका हुन् । सरकार पछिल्लो समय जति निरंकुश, उद्दण्ड र स्वेच्छाचारी बन्दै गएको छ– त्यसबाट सरकारलाई पछि सारेर जिम्मेवार र उत्तरदायी बनाउन पनि यस ऐक्यबद्धताले राम्रै काम गरेको छ । अनि एक सत्याग्रहीमाथि सरकारले जुन किसिमको बेवास्ता गरिरहेको थियो र उनलाई मृत्युको मुखतिर धकेलिरहेको थियो, त्यसमा पत्रकार/सम्पादक र मानिसको चासो रहनु अन्यथा कहिल्यै होइन ।
वास्तवमा यस प्रकरणलाई किन यसरी उचालियो भन्ने सन्दर्भमा प्रस्ट देखिने कुरा हो– राजनीति । केसीको अनशन हरेकजसो सरकारका लागि ठूलै अस्त्र बन्दै आएको छ । सत्तापक्ष र विपक्षको द्वन्द्व पछिल्लो समय केसीमा रहने गरेको छ । केसी अनशन बसिदिनेबित्तिकै प्रतिपक्ष उनलाई बोकेर बुरुकबुरुक उफ्रिन्छ र सत्तापक्ष, प्रतिपक्षले बोकेका नाममा केसीका मागलाई बेवास्ता गरिरहन्छ । यद्यपि, दुवै पक्ष खास समस्या र त्यसको समाधानतिर ध्यान केन्द्रित गरिरहेका थिएनन् । सत्तापक्षलाई केसीका माग पूरा गर्नु प्रतिपक्षसँग हार्नु हो भन्ने सङ्कीर्ण सोच थियो भने प्रतिपक्षलाई सरकारलाई ‘घुँडा टेकाउने’ मसलाका रूपमा केसीलाई प्रयोग गर्नु थियो । यही सत्तापक्ष र प्रतिपक्षको द्वन्द्वका बीच केही स्वनामधन्य पत्रकार/सम्पादकले केसीप्रति ऐक्यबद्धता जनाउनुले सत्तापक्ष आक्रोशित हुनु स्वाभाविक हो । र, सत्तापक्षीय सञ्चारकर्मी/पत्रकारले १४ भाइ ‘अबुझ’ पत्रकार/सम्पादकलाई पत्रकारीय आचरण र ‘निष्पक्षता’ अनि ‘स्वतन्त्रता’का पाठ सिकाउनु पनि अन्यथा भने होइन ।
रमाइलो कुरा त के भने यसबीचमा ‘निष्पक्ष’ र ‘स्वतन्त्र’ पत्रकारिताको चर्का कुरा गर्नेको दशा भने बडो टिठलाग्दो छ । जो जसले निष्पक्ष र स्वतन्त्र पत्रकारिताको चर्का भाषण गरिरहेका छन्– बडो आदर्शका साथ सामाजिक सञ्जालमा ठूला गफ गरिरहेका छन्, ती कुनै न कुनै राजनीतिक दलका पत्रकारका नामका भ्रातृ संगठनमा आबद्ध छन् । सत्तापक्षीय दल विगतका एमाले र माकेका भ्रातृ संगठन प्रेस चौतारी र प्रेस सेन्टरमा आबद्ध पत्रकारहरू केसीको अनशनविरुद्ध वमन गर्दै सरकारको बचाउमा लागे भने काँग्रेस आबद्ध प्रेस युनियनका कार्यकर्ता केसीको पक्षमा र सरकारको आलोचनामा केन्द्रित रहे । र, उनीहरूले नै पत्रकारितामा निष्पक्षता तथा स्वतन्त्रताका गफ अनि तर्क/वितर्क गरिरहे ।
वास्तवमा कुनै अमुक दलको भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका सदस्य हुनु नै उक्त दलका कार्यकर्ता हुनु हो । र, दलका कार्यकर्ता भइसकेपछि उक्त दल र त्यस दलका नेतृत्वले गरेका निर्देशन मान्न बाध्यकारी हुन्छ । ऊ कहिल्यै न निष्पक्ष हुन सक्छ, न त स्वतन्त्र नै । आफूसम्बद्ध दल र त्यसका नेतृत्वको आलोचना वा विरोधमा लेख्न/बोल्न सक्दैन त्यस्तो व्यक्तिले । यदि यसो गरिहालेमा पार्टी र त्यसका नेतृत्वले ऊमाथि कारबाही गर्न सक्छ । तब यस्ता दलका भ्रातृ/शुभेच्छुक संस्थामा आबद्ध पत्रकार नामका दलका कार्यकर्ताले पत्रकारितामा निष्पक्षता र स्वतन्त्रताका गफ गर्नुभन्दा हास्यास्पद तथा लाजमर्दो अरू केही हुन सक्दैन ।
वास्तवमा पत्रकारहरूको दलीय संलग्नताका कारण नेपाली पत्रकारिता आजसम्म पनि व्यावसायिक बन्न सकेको छैन । यो निष्पक्ष र स्वतन्त्र दुवै बन्न सकेको छैन । पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघमा पनि यिनै अनेक दलका भ्रातृ संगठनका कार्यकर्ताको हालीमुहाली वा वर्चस्व रहँदै आएको छ– जसले गर्दा महासंघ पनि आफैँमा विभिन्न दलका कार्यकर्ताको साझा थलोमात्र बन्न पुगेको छ । उता, मिडिया अनुगमन र नियमनको निकाय प्रेस काउन्सिल नेपालको हविगत पनि उस्तै छ । सत्ताधारी दलका पत्रकार नामका कार्यकर्ता भर्ती गर्ने थलोका रूपमा आफ्नो परिचय परिवर्तन गरिरहेको छ, काउन्सिलले पनि ।
यसर्थ, यदि पत्रकारितालाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र अनि व्यावसायिक बनाउनेतर्फ लाग्ने हो भने सबैभन्दा पहिला यी विभिन्न दलका भ्रातृ संगठनका रूपमा रहेका पत्रकारका नामका संस्था खारेज गर्नु पहिलो शर्त हुन्छ । यसका लागि तयार छन् दल र ती/ती संस्था ? नभए कम्तीमा पनि यी भ्रातृ संस्थामा आबद्ध सबैले निष्पक्ष र स्वतन्त्र पत्रकारिताका ठूला तथा आदर्शका गफ गरेर समग्र पत्रकारिताकै अपमान गर्नु बेबकुफीमात्र हो ।
(प्रस्तुत लेखमा व्यक्त विचार लेखकका निजी हुन् । सं.)
प्रतिक्रिया