देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहंकारको सिंहासनमा बसेको सरकार जनताका अगाडि झुक्यो : कांग्रेस

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले अहंकारको सिंहासनमा बसेको सरकार जनताका अगाडि झुक्न बाध्य भएको टिप्पणी गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै बोलेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले यस्तो बताएका हुन् ।

उनले सरकार र डा. गोविन्द केसीबीच भएको नौबुँदे सहमति आम नेपाली जनताका लागि अत्यन्तै खुसीको बिषय भएको बताए ।

‘अन्ततः दम्भ र अहंकारको सिंहासनमा बस्नेहरु जनतामा सामुन्ने झुक्न बाध्य हुनुर्पयो । आज हाम्रा लागि खुसीको दिन हो, जनताका लागि खुसीको दिन हो ।’ बैठकमा रिजालले भने ।

उनले यसअघि आफूहरुले चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउन आग्रह गर्दा सरकारले नसुनेको र अहिले चौतर्फी बिरोध भएपछि झुक्न बाध्य भएको टिप्पणी गरे । रिजालले सरकार र डा. केसीबीच भएको सहमतिबारे संसदलाई जानकारी गराउन माग गर्दै त्यसलाई संसदको सम्पत्ति बनाउनुपर्ने बताए ।

उनले आफूहरुले भनेको कुरा समयमै नमानेको सरकारले डा. केसीका समर्थकहरुमाथि बरबरतापूर्ण तरिकाले बल प्रयोग गरेको बताए ।

‘यति लामो प्रताडना आवश्यक नै थिएन, विपक्षीको कुरा सुन्नै नमान्ने, दुई तिहाईको दम्भ देखाउने सरकार अन्ततः झुक्न बाध्य भएको छ हाम्रो धेरै लामो मेहनतले सफलता पाएको छ, यो खुसीको बिषय हो अब संसदलाई सरकार र डा. केसीसँग भएको सहमतिबारे जानकारी गराईयोस ।’ संसद बैठकमा रिजालले भने ।