काठमाडौं । नेकपा नेतृत्वको सरकारविरुद्ध प्रतिपक्षी दल कांग्रेसले आन्दोलन घोषणा गरेको छ । कांग्रेसले सडक आन्दोलन घोषणा गर्दा दुइतिहाई बहुमतमा रहेको सरकार संकटमा परेको छ ।
शिक्षा विधेयकविरुद्ध अनशनरत डा. गोविन्द केसीका माग पूरा हनुपर्ने र सरकारले जनतालाई मूल्यवृद्धिको चौतर्फी भार बोकाएको भन्दै कांग्रेसले केन्द्रीय पदाधिकारी बैठक गरेर आन्लोलनका कार्यक्रम घोषणा गरेको हो ।
म.गलवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकपछि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग भेटेर डा. केसीका माग सम्बोधन गर्न आग्रह गरेका थिए । सभापति देउवाले यसअघि सार्वजनिक वक्तव्य जारी गर्दै डा. केसीको जीवन रक्षाको अपिलसमेत गरेका थिए ।
देउवाले प्रधानमन्त्री ओलीलाई भेटेपछि साउन ३, ५ र ८ गते सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय भएको घोषणा गरेको हो । बैठकमा पार्टीका पदाधिकारीसँगै उपत्यका जिल्ला सभापति र भ्रातृसंगठन प्रमुखको समेत सहभागिता थियो ।
बैठकले गरेको निर्णयअनुसार ३ गते प्राध्यापक संघ, नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाइमा काठमाडांैमा विरोध प्रदर्शन हुनेछ । त्यसैगरी ५ गते तरुण दल एवं ८ गते कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौं, ललितपुर र भक्तपुरको अगुवाइमा विरोध प्रदर्शन हुनेछन् ।
बैठकलगत्तै महामन्त्री डा. शशांक कोइरालाले एक विज्ञप्ति निकाल्दै १५ साउनमा ७७ ओटै जिल्ला कार्यसमितिलाई सरकारविरुद्ध विरोध प्रदर्शन गर्न आग्रह गरेका छन्।
डा. केसीका मागलाई सरकारले बेवास्ता गरेको र अधिनायकवादको बाटोमा अघि बढेका कारण त्यसविरुद्ध प्रदर्शन गर्ने तयारी कांग्रेसले गरेको छ ।
कांग्रेसले घोषणा गरेका विरोध कार्यक्रम १५ गतेपछि पुनः सार्वजनिक गरिने छ । केसीका मागको सन्दर्भमा कांग्रेसले सदनमा आफ्ना धारणा राख्दै आएको छ ।
सदन अवरुद्ध देखि सिंगो पार्टीलाई नै सडकमा समेत उतार्न लागेको कांग्रेसका कारण एकपछि अर्को अलोकप्रिय निर्ण गर्दै गएको ओली नेतृत्वको सरकारलाई समस्या पर्ने देखिएको छ ।
सरकारले ल्याउने भनिएको शिक्षा विधेयकविरुद्ध डा. केसी जुम्लामा अनशन बसेदेखि नै कांग्रेसले उनका मागमा सर्मथन जनाउँदै आएको छ ।
यसअघि कांग्रेसको संसदीय दलको बैठकले औपचारिक रूपमै निर्णय गर्दै डा. केसीको अनशनमा समर्थन जनाउने निर्णय गरेको थियो। कांग्रेस संसदीय दलले तीन जना सांसदलाई जुम्ला नै पठाएर केसीको अवस्थाबारे बुझेको थियो ।
डा. केसीको माग सम्बोधन गर्न र सरकारले घोषणा गरेको निषेधित क्षेत्रको विरोध गर्दै मंगलबार नेपाल विद्यार्थी संघले माइतीघर मण्डलमा प्रदर्शनसमेत गरेका थिए । नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो ।
झडपमा महरसहित केही विद्यार्थी नेता घाइतेसमेत भएको कांग्रेसले जानकारी दिएको छ । सरकार समस्या सुल्झाउनेभन्दा पनि प्रदर्शनकारीसँग जुहारी खेल्न व्यस्त देखिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि सरकारका पछिल्ला कदमविरुद्ध कांग्रेस देशव्यापी आन्दोलनमा जानुपर्ने धारणा राखदै आएका छन ।
प्रतिक्रिया